भर्खरै :

शिक्षा र गुणस्तरबारे केही कुरा

चम्पा
यतिबेला फेसबुकका भित्ताहरूमा एउटा अत्यन्त मर्मस्पर्शी भनाइ पढ्न पाइन्छ । दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयको प्रवेशद्वारमा टाँगिएको उक्त चिन्तनयोग्य सन्देशको चर्चा सामाजिक सञ्जालमा छ ।
“कुनै पनि देशलाई सिध्याउन आणविक बम र उच्च कोटीका मिसाइलको आवश्यकता पर्दैन । त्यो देशको शिक्षाको गुणस्तर घटाइदिए पुग्छ । विद्यार्थीहरूलाई परीक्षाहरूमा चिट चोर्न छुट दिने परीक्षाप्रणाली बसाले पुग्छ ।
तब,
– बिरामीहरू डाक्टरले उपचार गराउँदा गराउँदै मर्नेछन् …।
– इन्जिनियरहरूले भवन, पुल, सडक आदि निर्माण गर्दागर्दै ती ढल्नेछन् …।
– अर्थतन्त्र नाजुक र भताभुङ्ग हुनेछ अर्थशास्त्री र लेखाशास्त्रीहरूकै हातबाट … ।
– मानवताको मृत्यु हुनेछ मानवशास्त्रीहरूबाटै न्यायालय र न्यायाधीशहरूबाटै न्यायको हत्या गरिनेछ ।”
यसरी,
‘शिक्षा खत्तम हुनु देश खत्तम हुनु हो’
निश्चय पनि बम बारुदले खरानी बनाइएको देश या सहरलाई उठ्न धैरै समय लाग्दैन यदि शिक्षाको जग बलियो छ भने । शिक्षामा नै कमजोर देश बम बारुदको आक्रमण नभए पनि युगौँयुगसम्म उठ्न सक्दैन । शिक्षा दीर्घकालीन विषय हो । दीर्घकालसम्म त्यो देश या समाजले गति लिन सक्दैन । मानव सभ्यताको इतिहास शिक्षा र सिकाइको इतिहाससँग जोडिएको छ । सभ्यता विकासमा शिक्षाको योगदान अमूल्य छ । यो युगमा देशको शक्ति मापन गर्ने आधार पनि शिक्षा नै हो । हातहतियारमा धनी देश शक्तिशाली हो भन्ने मान्यता पुरानो भइसक्यो । प्रविधि, खोज तथा अनुसन्धान र गुणस्तरीय शिक्षालाई जोड दिने देशले अबको शताब्दीको नेतृत्व गर्नेछ, यसमा दुईमत नहोला । उतिबेला अध्यक्ष माओ त्सेतुङले ‘आणविक बम कागजी बाघ हो’ त्यसै भन्नुभएको होइन होला । मानिसको चेतना र शिक्षाले जित्ने युगमा शिक्षा नै रोप्नुपर्छ र गुणस्तरसहित हुर्काउनुपर्छ ।
त्यसो त भक्तपुरका जनताको निम्ति दक्षिण अफ्रिकाको विश्वविद्यालयमा टाँगिएको सो सन्देश नौलो होइन । यही कुरा नेपाल मजदुर किसान पार्टीले आजभन्दा ३०–३५ वर्ष अगाडि नै बोलेको थियो । भक्तपुरका अँध्यारा गल्ली र चोकहरूमा शिक्षाको दियो बाल्न नेमकिपाले निर्वाह गरेको भूमिका नयाँ पुस्ताका निम्ति इतिहासको पन्नाजत्तिकै भइसकेको छ । खर्पन र डालो बोकी दैनिक खेत जाने ‘ज्यापू’ र ‘ज्यापूनी’ हरूलाई क, ख, ग, घ पढाउनुपर्छ भन्ने उद्देश्यले नेमकिपाले रात्रीकक्षाहरू सञ्चालन ग¥यो । राजधानीको छेवैमा पर्ने भक्तपुरका जनता शिक्षाबाट विमुख थिए । पार्टीको अगुवाइमा बिस्तारै विद्यालयहरू खोलिए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुपर्छ भन्नेमा जोड दिइयो । किसानका छोराछोरीहरू विद्यालय पढ्न थाले । यद्यपि गुणस्तरीय शिक्षा प्रणाली बसाल्न गाह«ो थियो । चीट नचोरी पास नहुने मानसिकता हाबी थियो, शिक्षकहरूले नै चीट चोर्न दिन्थे । त्यतिबेला एउटा व्यङ्ग्यात्मक भनाइ पनि प्रचलित थियो –“एस.एल.सी पास नभए भक्तपुर जानू ।” नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ विद्यालय–विद्यालय गएर प्रधानाध्यापक, शिक्षकहरूलाई त्यसो नगर्न सम्झाउनुहुन्थ्यो । उहाँले विद्यार्थीलाई चीट चोर्न दिनु भनेको उसैको भविष्य बर्बाद पार्नु हो भनी बुझाउनुभयो । यो शैलीले समाज अगाडि बढ्दैन, देशकै लागि नोक्सान हुन्छ भनी बारम्बार बताउनुभयो ।
चेतनाको कमी, कमजोर आर्थिक–सामाजिक परिस्थितिको गर्भबाटै थुप्रै विद्यालय र कलेजहरूको स्थापना भयो । ‘एक घर एक स्नातक’ को उद्देश्यसहित शिक्षामा जोड दिन थालियो । आज भक्तपुर गुणस्तरीय शिक्षाको केन्द्र बन्दैछ । प्रत्येक घरमा स्नातक, स्नात्तकोत्तर छन् । किसानका छोराछोरी डाक्टर, इन्जिनियर, पाइलट छन् । भक्तपुरले सम्पूर्ण देशको शैक्षिक उन्नयनमा योगदान पु¥याइरहेको कसैले नकार्न सक्दैन । छोरीहरू, महिलाहरूले अझ बढी शिक्षामा जोड दिन थालेका छन् । नेमकिपाको दूरदर्शी नेतृत्व र चिन्तनले अन्धकारबाट उज्यालो तर्फको फड्को सम्भव भयो । त्यसकारण आज दक्षिण अफ्रिकी विश्वविद्यालयमा राखिएको त्यो सन्देश नेमकिपाले उतिबेला नै भक्तपुरका जनताको मनमनमा टाँसेको थियो । माटोसँग खेल्ने र माटोमै भविष्य फलाउने तथा अनौपचारिक ज्ञान भएका किसानहरूलाई बुद्धिजीवी बनाउने उद्देश्य बोक्दा नारायणमान दाईलाई तत्कालीन तथाकथित बुद्धिजीवीहरूले चुनौती दिएका थिए । आज तिनीहरू गलत प्रमाणित भए ।
नेतृत्व जनपक्षीय नरहेका ठाउँ र क्षेत्रहरूमा अझै पनि शैक्षिक गुणस्तर खस्कँदो छ । हिमालदेखि तराईसम्मका गाउँहरूको शैक्षिक गुणस्तर कसरी माथि उठ्छ ? शिक्षा बजेट न्यून छ, त्यसमाथि शैक्षिक माफिया, कमिसनतन्त्र, भ्रष्टाचार उस्तै छ । गाउँका केटाकेटीले राम्रो शिक्षक, विद्यालय कक्षाकोठा, राम्रो पुस्तकालय र पूर्वाधार पाउँदैनन् । यो विषयमा सरकारको ध्यान कहिले जान्छ ?
परीक्षा नजिकिँदासम्म पनि गाउँहरूमा पाठ्यपुस्तक पुग्दैन । जबसम्म गाउँघरका विद्यालयहरूमा गुणस्तरीय शिक्षाको बन्दोबस्त हुन्न तबसम्म देशले कोल्टे फेर्ने कुरा आकाशको फल नै हो ।
सर्लाहीको चन्द्रनगर नजिकैको एउटा गाउँको दलित विद्यालयको स्मरण हुन्छ । विद्यालयमा जम्मा दुई शिक्षक, कक्षाकोठामा ५०–६० जना विद्यार्थी, कक्षा १ देखि ३ सम्मलाई उही कक्षा, पोशाक छैन, सरसफाइ छैन, पाठ्यपुस्तक छैन, एउटा कापी र कलमको भरमा पढाइ गरिरहेको दृश्य टिठलाग्दो थियो । कक्षा ३ पुगेका बालबालिकाहरूलाई आफ्नो नाम लेख्न मुस्किल छ । आजभन्दा ३–४ दशक अगाडि भक्तपुरका बालबालिकाको अवस्था आज सर्लाहीको त्यो गाउँका बालबालिकाको छ । जानकारहरू देशैभरिको स्थिति यस्तै देख्छन् । शिक्षाको जग नै बलियो नभई उच्च शिक्षा कसरी सम्भव हुन्छ ? त्यसैले तराईका कलेज र विद्यालयहरूमा आज पनि चीट चोर्ने प्रचलन यथावत् छ । नक्कली प्रमाणपत्रधारी डाक्टर र इन्जिनियरहरूको कमी छैन । भारतसँगको खुला सिमानाको कारण पनि यस्तो विकृति र अपराध तराईमा ज्यादा छ । आजभन्दा दुई वर्षअघि जाजरकोट जिल्लाभरि एसईईको परीक्षामा परिक्षा कुरुवाको लापरबाहीले चीट चोर्न प्रोत्साहन ग¥यो भन्ने समाचारले चर्चा पाएको थियो । पछिल्ला वर्षहरूमा पनि चीट चोर्ने काम परम्पराको रूपमा हुर्काइँदै छ । गत वर्षमात्रै एमबीबीएसको प्रवेश परीक्षामा चीट चोरेको र सहयोग गरेको आरोपमा विद्यार्थीसहित ३० जनालाई पक्राउ गरिएको थियो । केही समय अगाडि जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको परीक्षा दिइरहेका सरकारी अफिसरदेखि विद्यार्थीसम्म चीट चोरिरहेकै ठाउँमा पक्राउ परे । ती विद्यार्थीलाई क्याम्पसबाहिरबाट पाठ्यपुस्तक र अन्य अध्ययन सामग्रीहरू उपलब्ध गराईदै थियो । हुँदाहुँदा त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति तिर्थराज खनियाले बौद्धिक सम्पत्ति चोरीजस्तो जघन्य अपराध गरेको तथ्य बाहिरियो । उनले गरेका भ्रष्टाचारका फेहरिस्त बाहिरियो । देशको सबैभन्दा ज्येष्ठ विश्वविद्यालयको यस्तो स्थिति छ, समग्र देशको शैक्षिक स्थिति अनुमान गर्न सकिन्छ । यही अवस्था रहने हो भने बम बारुदले होइन अशिक्षा, गरिबी, असमानताले देश सिद्धिनेछ ।
विश्वविद्यालय खोज र अनुसन्धानको केन्द्रविन्दु बन्नुपर्छ भन्नेमा कसैले विमति नराख्ला । तर, त्रिभुवन विश्वविद्यालयभित्र सोधपत्र किनबेच भएको समाचार बाहिरिन्छ । शिक्षामा चोरीले बौद्धिक दरिद्रता र रिक्ततामात्र मिल्छ । यसलाई निरुत्साहित गर्न सरकार जिम्मेवार रहनुपर्छ । विश्वविद्यालयका पदाधिकारी छनोटमा नातावाद, कृपावाद हावी भएको कुरा घामजत्तिकै छर्लङ्ग छ । नवउदारवादी शिक्षाप्रणाली लागू गरिएको कारण विश्वविद्यालयमा भूगोल, इतिहास, राजनीतिशास्त्र पढ्ने विद्यार्थी नै नहुनु देशको भविष्यको निम्ति खतराको सङ्केत हो । कुशल राजनीतिशास्त्री र इतिहासविद्हरूको अभावमा देशको राजनीति कमजोर नहोला ? सहरको शिक्षामा व्यापारीकरण छ । विदेशको सेवा गर्ने शिक्षा दिइँदैछ । यो देशको राम्रो भनिएका कलेज र विद्यालयहरूले विदेशका नोकरहरू तयार गर्दैछन् । यसरी हाम्रो देशको शिक्षा न गुणस्तरीय छ न देशको निम्ति उपयोगी छ न माटो सुहाउँदो छ न त सबैतिर शिक्षाको घाम पुगेकै छ । यो अवस्थामा शिक्षाको गुणस्तर र व्यापकतामा जोड दिनु नै सरकारको दूरदृष्टि हुनेछ । दीर्घकालीन उन्नतिको निम्ति असल शिक्षाको बन्दोबस्त जरुरी छ । हाम्रो सुदूरपश्चिमाञ्चलदेखि पूर्वाञ्चलसम्म विश्वविद्यालयका भित्ताहरूमा पनि दक्षिण अफ्रिकी विश्वविद्यालयमा राखिएको उक्त भनाइ टाँग्न पाए उत्तम सन्देश प्रवाह र सञ्चार होला कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *