भर्खरै :

ठग बिक्रेताहरूमाथि कारबाही जरुरी

– सुरजसिंह
चितवन, नवलपुर, नवलपरासी, बाँके, बर्दिया, कञ्चनपुरलगायत जिल्लामा हाइब्रीड बीउ भन्दै लगाइएको गरिमा नामको धानमा तोकिएको समय बितिसक्दा बाला नलागेपछि किसानहरू हरियो धान मासेर जग्गा खाली गर्न बाध्य भएका छन् । धान पाक्ने र बटुल्ने बेला भइसक्दा समेत बाला नलागेपछि बाध्य भएर धानका बोट फँडानी गर्नु परेको पीडित कृषकहरूको भनाइ छ । किसानहरूले उन्नत जातको, छिटो पाक्ने र राम्रो धान भनेर हाइब्रीड धान लगाएका थिए । मलजल, गोडमेल पनि राम्ररी नै गरे । तर, उब्जनी गर्ने बेला धानमा बाला नै लागेन । गरिमा जातको धान रोपेको १२५ देखि १३५ दिनभित्र पाक्छ र कटनी गर्न सकिन्छ । तर, धान रोपेको १४०–१५० दिन बित्दासमेत धानले बाला नलिएको पीडित कृषकहरूको भनाइ छ । धानको बीउमै किसानहरू ठगिएका छन् ।
धानबाली विज्ञ भोलामान सिंह बस्नेतले यो घटनामा धानको बीउमै बदमासी भएको बताएका छन् । दुई वर्षको परीक्षणपछि मात्र स्वीकृति गरिएको धानमा यस्तो समस्या नआउने तर बीउमै बदमासी भएकोले यस्तो समस्या आएको उनको भनाइ छ ।
डीएनए परीक्षणबाट गरिमाको नाममा अहिले धानको बीउ नै नक्कली भएको ठहर भएको छ । गरिमा भारतीय कम्पनी रिनोभा सिड्स साइन्स इन्डिया प्रालिको उत्पादन हो । नेपालमा भने लमही (दाङ) को सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले यो धान भित्र्याएको बताइन्छ । बढी प्रभावित क्षेत्र चितवन र यसका आसपासका क्षेत्रहरूमा भने आधिकारिक बिक्रेता पर्सा खुरखुरेमा रहेको प्रशान्त एग्रोभेटले बीउ उपलब्ध गराएको थियो । गलत बीउ बेचेको पक्का भएपछि बिक्रेतालाई कारबाही र किसानहरूलाई क्षतिपूर्ति दिलाउने प्रकृया सुरु भएको त कृषि विभागले जनाएको छ तर किसानहरूले विश्वास गर्न सकेका छैनन् ।
केही वर्षअघि भक्तपुर र काभ्रेमा लगाइएको डीवाई ६९ नामको हाइब्रीड चिनियाँ धानको बीउ पुरानो र म्याद नाघेको पाइएको थियो । उक्त धानको बोटमा बाला नलाग्ने र लागेकोमा पनि सुकेर गएको थियो र किसानहरूलाई ठूलो नोक्सान भउको थियो । त्यस धानका बिक्रेता काष्ठमण्डप इन्टरप्राइजेजमाथि कारवाही र किसानहरूलाई क्षतिपूर्तिको जोडदार माग भएको थियो तर कृषि विभागले आलताल गरेर किसानलाई झुक्याएको थियो । माथिको वा दायाँ बायाँको दबाबमा यसपटक पनि त्यसै नहोला भन्न सकिन्न । नक्कली धान ल्याएर किसानलाई ठग्ने ठग बिक्रेताहरूमाथि कारबाही र किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *