भर्खरै :

अक्टोबर क्रान्ति बिर्सिन्न

आजभन्दा १०३ वर्ष अगाडि रूसमा रूसी कम्युनिस्ट पार्टी (बोल्सेविक) को नेतृत्वमा भएको मजदुर, सिपाहीँ र गरिब किसानहरू मिलेर अक्टोबर समाजवादी क्रान्ति गरेका थिए । रूसी कामदार जनताका महान नेता भ्लादिमिर इल्यिच लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिले औद्योगीकरणमा पछाडि परेको देशमा पनि गरिब जनता एकताबद्ध भई परिवर्तनको निम्ति उठेमा समाजवादी क्रान्ति सम्भव छ भनी विश्वलाई देखाइदियो । अक्टोबर क्रान्तिले उत्पीडित वर्ग, जाति, क्षेत्र, महिलाविरूद्धको सामन्तवादी उत्पीडन अन्त्य ग¥यो । पुँजीवादले जरा गाड्न नपाउँदै तत्कालीन रूस र रूसको अधीनमा रहेका देशहरूमा समाजवादी व्यवस्था स्थापना ग¥यो र रूससहित १५ वटा स्वाधीन देश एकीकृत पारेर सोभियत सङ्घ बनायो । अक्टोबर क्रान्तिले स्थापना गरेको समाजवादी व्यवस्थाले केही दशकभित्रै रूसलाई युरोपको सबभन्दा पिछडिएको देशबाट सबभन्दा अगाडि बढेको महाशक्ति राष्ट्र बनायो । रूसी समाजवादी क्रान्ति रूसका जनताको मुक्तिमात्र थिएन, बरू त्यसले युरोप, एसिया, अफ्रिकालगायत विश्वभरका शोषित–पीडित जनतालाई कामदार वर्गका जनताको स्वर्ग समाजवाद स्थापनाको सङ्घर्षमा होमिन पे्ररित ग¥यो । रूसको अक्टोबर समाजवादी क्रान्ति विश्वभरका क्रान्तिकारी, परिवर्तनप्रेमी, न्यायप्रेमी र शोषित–पीडित जनताको लागि मार्गदर्शन बन्यो र सोभियत रूस उनीहरूको निम्ति तीर्थस्थल ।
समाजवादी सोभियत सङ्घले दोस्रो विश्वयुद्धको क्रममा जर्मनीको साम्राज्यवादी नाजी सेनालाई परास्त गरी विश्वलाई फासीवादी आधिपत्यमा पुग्नबाट जोगायो । एसिया, अफ्रिका र अमेरिकी महादेशका औपनिवेशिक उत्पीडनमा परेका जनतालाई साम्राज्यवाद र उपनिवेशवादविरूद्ध लडाइँ गरी स्वाधीन देश बनाउन ठूलो मद्दत ग¥यो । नाजी सेनासितको युद्धको क्रममा सोभियत लालसेनाले अद्भूत वीरता प्रदर्शन गरे र फासीवादी नाजी सेनालाई तिनीहरूको उद्गमस्थल बर्लिन र प्रागसम्म पुगेर समाप्त पारे । समाजवादी सोभियत सङ्घले साम्राज्यवादको निर्वाध विकासको सम्भावना समाप्त पारेर उपनिवेशवादी युगको अन्त्य गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह ग¥यो र विश्व प्रणालीलाई साम्राज्यवादको एकल ध्रुवीय हुनबाट जोगाइरह्यो ।
अक्टोबर क्रान्तिले स्थापना गरेको सोभियत समाजवादलाई शत्रुहरूले बाहिरबाट हमला गरेर पराजित गर्नसकेनन् तर सोभियत कम्युनिस्ट पार्टीभित्र नियतवश पसेका र कालान्तरमा नेतृत्वमा पुगेका संशोधनवादी र विश्वासघातीहरूले सन् १९९० सम्म आइपुग्दा समाजवादी सोभियत सङ्घको विघटन र पुँजीवादको पुनःस्थापनासम्म पु¥याए । आज रूस र पूर्व सोभियत गणतन्त्रहरूमा समाजवाद छैन । पुनःस्थापित पुँजीवादले समाजवादले जनतालाई दिइआएका एक–एक सेवा र सुविधाहरू खोसेको छ, सार्वजनिक र राज्यका सम्पत्तिहरूलाई निजीकरणको नाममा केही शक्तिशाली व्यक्तिको हातमा पु¥याएको छ । अत्यन्त बहुमत जनतालाई पुनः गरिबीमा धकेलेको छ । त्यहाँका कामदार जनता सोभियत सङ्घ र समाजवाद विघटनको विरोधमा पहिल्यै लड्न नसकेकोमा पछुताएर आज समाजवाद पुनःस्थापनाको लागि सङ्घर्ष गरिरहेका छन् । त्यसैले आज पनि रूस र पूर्व सोभियत गणतन्त्रका मात्र नभई विश्वभरका कामदार जनता, मजदुर सङ्घ, सङ्गठनहरू, सच्चा कम्युनिस्ट र मजदुर पार्टीहरू अक्टोबर क्रान्ति दिवस मनाउँदै साम्राज्यवादविरूद्ध र समाजवादी व्यवस्था स्थापनाको आन्दोलनलाई अगाडि बढाइरहेका छन् । विश्वभर भएका ती कार्यक्रमहरूको सन्देश स्पष्ट छ – पहिलोपल्ट मजदुर, सिपाही, किसानलगायत कामदार वर्गका जनतालाई शासन सत्तामा पु¥याएर व्यवस्थित समाजवादी शासन व्यवस्था स्थापना गरेको अक्टोबर क्रान्ति कहिल्यै बिर्सिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *