विगोल

असल शासन सबैको चाहना हो, सबैको माग हो । असल शासनको लागि असल सरकारको खाँचो छ । असल सरकार, असल नेता, असल प्रमविना असल शासन सम्भव छैन । एकजना नेता या मन्त्री असल भएर असल शासन हुँदैन । असल नेता र मन्त्रीमात्र होइन सांसद, देशभरका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य व्यक्तिहरू पनि असल हुनुपर्छ । असल व्यक्तिहरूको समाज र देश बनेपछि असल शासन बन्छ । नेपालमा धेरै प्रधानमन्त्री, मन्त्री र सांसद बने । तर पदमा पुगेका सबै उच्चपदस्थ व्यक्तिहरू असल बनेनन् । मान्छे ठूला बने, पदमा पुगे तर असल बन्न सकेनन् । जनताको यो दुखेसो हत्तपत्ति पूरा होलाजस्तो लाग्दैन ।
सर्वसाधारण जनता या नागरिकमात्र असल भएर हुँदैन प्रत्येक राजनीतिक दलका नेता र कार्यकर्ताहरू असल बन्नुपर्छ । असल नेता र असल कार्यकर्ताविना असल समाज बन्दैन । असल पार्टी बन्नुपर्छ, असल शासक हुनुपर्छ, असल कम्युनिस्ट बन्नुपर्छ । अनि असलहरूको समाज बन्छ र असलहरूको देश बन्छ । असल नेतृत्वको सरकारले असल विचार राखेरै काम गर्छ । समाजमा व्यापक परिवर्तन ल्याउन पनि असलै हुनुपर्छ । असल समाज या सरकारले युगौँयुगको फोहर सफा गर्छ, नयाँ समाज स्थापना गर्छ । असल कम्युनिस्टहरू आधुनिक इतिहासका अग्रगामी क्रान्तिकारीहरू हुन् । उनीहरू परिवर्तनका प्रेरक शक्ति हुन् । प्रतिक्रान्तिकारी, संशोधनवादी, अवसरवादी र लोभीपापी तथा भ्रष्टाचारीहरूविरुद्ध लडेरै समाजको अनुहार फेर्न क्रान्तिकारीहरूले क्रान्तिकारी गुण र क्षमता बढाउनुपर्छ । क्षमता बढाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोललन र आन्दोलनको नेतृत्व गर्ने कम्युनिस्ट, प्रगतिशील र देशभक्त नेताहरूको त्याग र योगदानबारे अध्ययन गर्नुपर्छ, अध्ययन गराउनुपर्छ । कम्युनिस्टहरूले आफूलाई साँचोमा ढाल्नुपर्छ, अरूलाई ढाल्नुपर्छ ।
समाज परिवर्तन एकैपटक हुँदैन । समाज परिवर्तन गर्न निरन्तर सङ्घर्ष गरिरहनुपर्छ । सङ्घर्ष गर्नेबित्तिकै छिट्टै नतिजा आउँछ र जनतामा सकारात्मक प्रभाव पर्छ भन्ने पनि होइन । सङ्घर्षको लामो अभियानमा यावत चुनौतीहरू पार गर्नुपर्ने हुन्छ, थकाइ मार्दै अघि बढिरहनुपर्ने हुन्छ । अघि बढेमा ढिलो चाँडो सफलता प्राप्त हुन्छ । तर, तुरुन्तै उपलब्धि भएन भनेर निराश हुनुहँुदैन, हरेस खानु हुँदैन । सङ्घर्षमा अनेक उत्तारचढाव हुन्छ । हारेको सिपाहीँ झन् राम्रोसित लड्छ भन्ने भावना राखेर अन्तिम समयसम्म जुटिरहनुपर्छ । कष्ट र कठिनाइसँग जुधेर आफू खटिनुपर्छ, विचारको स्तर र क्षमता उठाउनुपर्छ । चिनियाँ जनताका प्रिय नेता माओ त्सेतुङ्गले भनेका थिए, व्यवहारबाट सत्य पत्ता लगाऊ, फेरि व्यवहारबाटै जाँच र सत्यको विकास गर ।
कम्युनिस्टहरू सरकारमा जाऊन् या सरकार बाहिर रहून्, उनीहरूको एउटै सिद्धान्त, विचार र दर्शन हुन्छ । कम्युनिस्टको सिद्धान्त र विचार सत्ता बाहिर रहँदा एउटा र सरकारमा जाँदा अर्को हुँदैन । हो, सरकारमा बस्दा र नबस्दा कार्यशैली फरक हुनसक्छ तर सिद्धान्त र विचार फरक–फरक हुँदैन । अहिले देशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ । तर, नेकपाको सरकारमा कम्युनिस्टको चरित्रको गन्धै छैन । नेकपाका नेता र मन्त्रीहरूले आफूलाई देश विदेशमा नेपालमा कम्युनिस्टको सरकार रहेको फुकिरहेका छन्, सुखी नेपाली र समृद्ध नेपालको नाराको पाठ घोकाइरहेका छन् । तर, सरकारको नेतृत्व गरिरहेको कम्युनिस्ट भनिने दलका नेताहरूसँग कम्युनिस्टको चरित्र देखिएको छैन, सुखी नेपाली र समृद्ध नेपालको कुनै खाका या कार्यक्रम छैन । नेकपाका नेता र मन्त्रीहरूले मीठा शब्द बाँडेर नेपाल र नेपालीलाई मात्र होइन विश्व समुदायलाई नै छलिरहेका छन् ।
सच्चा कम्युनिस्ट पार्टीले सबै खालका शोषण, थिचोमिचो गर्ने वर्गको अन्त्य गर्छ, अन्त्य गर्न पहल गर्छ । कम्युनिस्ट पार्टीले शोषित पीडित जनताको प्रतिनिधित्व गर्छ, अरुको शोषण, दमन र थिचोमिचो नगर्ने वर्गको प्रतिनिधित्वि गर्छ । त्यस्तो पार्टीले भ्रष्टाचार र अनियमितताको विरोधमात्र होइन नियन्त्रण गर्ने अभियान नै छेड्छ । यसले सङ्गठित, अनुशासित र देशभक्त कार्यकर्ताहरूको निर्माण गर्छ । त्यस्तो सरकारको पार्टी र त्यसको नियन्त्रणमा रहेको प्रशासनिक एकाइले पनि भ्रष्टाचार र दुर्गन्धविरुद्ध सर्वहारा वर्गीय दृष्टिकोण र चरित्र निर्माण गर्छ । कम्युनिस्ट पार्टी नेपाल र नेपालीहरूमाझ बाटै उदय भएको हो, विकास र विस्तार भएको हो । कम्युनिस्ट पार्टीले नेपाल र नेपालीहरूकै लागि काम गर्ने हो । नेपाल र नेपालीप्रति समर्पित भएर अघि बढ्ने हो, आफ्नो उद्देश्य फत्ते नभएसम्म अघि बढिरहनुपर्ने हो । प्रत्येक कम्युनिस्ट पार्टीका सदस्यहरू पुराना या नयाँ नै किन नहोऊन्, धेरै या थोरै किन नहोऊन्, पुरानो समाजकै विचार र बानी बेहोराका किन नहोऊन् तिनीहरूमा क्रान्तिकारी चरित्र र गुण हुनुपर्छ, त्यसको विकास गर्नुपर्छ, उनीहरूको कार्य क्षमताको स्तर उठाउन विचार मन्थन गर्नुपर्छ, कठिन परिश्रम गर्नुपर्छ ।
सरकारको नेतृत्व गरेपछि सत्ताकै मातमा चढेर कम्युनिस्टको सिद्धान्त र विचार छोड्ने होइन, उल्लङ्घन गर्ने होइन । सरकारको जालमा परेपछि दलगत र व्यक्तिगत स्वार्थमा अल्झेर पदको दुरुपयोग गरी अकुत सम्पति कुम्ल्याउनेतर्फ लाग्नुहुँदैन । क्रान्तिकारी भावना गुमाउने काम गर्नु देश र जनताको लागि विश्वासघात गर्नु हो । त्यो क्रान्तिको विकासमा तगारो हाल्नु हो । कम्युनिस्ट सिद्धान्त छोड्नु हो । यो धोका हो, बेइमानी हो । यो छलकपट हो । त्यस्तो छलको राजनीति कुनै दलले गर्नु हुँदैन । कम्युनिस्ट पार्टीले त झनै गर्नु हुँदैन । अतः असल कम्युनिस्ट बन्नुपर्छ, असल सरकार हुनुपर्छ । असलै असलहरूको देश बनाएर बहुमत जनताको हितमा आमूल परिवर्तन गर्नुपर्छ ।