विकल प्रजापति

पूर्व झापाबाट टालेको टोपी लगाएका
चिन्नु न जान्नु फ्याट्ट फ्याट्ट हिँडेर राजधानी छिरेका
पश्चिमबाट सूर्य उडाउने भविष्यवाणी गर्दै
कोइरालासँग मिलेर आफ्नो झन्डा फाटी
रातारात टनकपुरमा राष्ट्रि«यता बेचेका
मेरा ज्वाइँनारायण कतै फेला परे
मलाई सूचित गर्न विनम्र अनुरोध छ ।

हावाबाट बिजुली निकाल्ने, स्याट्लाइटबाट निर्यात गर्ने
काठमाडौँमा पानीजहाज ल्याउने, घरघरमा पाइपबाट ग्यास दिने
नेवारको घरज्वाइँ भई नेवार संस्कृति म्हास्न
खोकना र ब्वङाको बस्ती उठाउन खोज्ने
मोनोरेल चढी पूर्व पश्चिम हिँड्ने
काठमाडौँबाट दिल्ली, दिल्लीबाट पेइचिङ रेल चलाउने
स्वप्न आविष्कारक मेरा ज्वाइँनारायण
कतै देखे घरको नम्बरमा फोन गरे पनि हुन्छ ।

जनताको अस्पतालमा डाक्टर र औषधि नभए पनि
एयर एम्बुलेन्स चढी विदेश हिँड्ने
करोडको स्लाइन पानी
नाकबाट चढाई मुखबाट ओकल्ने
भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भनी हिँडेका
सुने पनि नसुनेझँै, देखे पनि नदेखेझँै गर्ने
समृद्धिका भोकाहरूलाई उखानको टुक्का ख्वाउने
मेरी प्यारी छोरीको प्यारो मान्छे
झन्डा हल्लाउने जागिर पाएदेखि ससुराली भुलेका
कतै भेटे खबर दिन नबिर्से हुन्छ ।

दुईतिहाइको माल पाएर चाल नपाएका
अरुको इसारामा आफूलाई बिर्सेका
निःशुल्क शिक्षा र स्वास्थ्य नाममात्र बनाएका
संविधानबमोजिम ल्याएको गुठी विधेयक
मठाधीशहरूको इसारामा फिर्ता लिएका
३८ क्वीन्टल सुन पचाउन सक्ने
दौरा सुरुवाल लगाई दरबार छिरेका
मेरा ज्वाइँ बेपत्ता छ
कसैले देखे खबर पाए आभारी हुनेछु ।

पश्चिमबाट सूर्य उडाइन्न
स्वप्नलोक चाहिएको छैन
समृद्धिको टुक्काले पेट भर्दैन
माक्र्सवादी दृष्टिकोण नभएका माक्र्सका शिष्य
‘रअ’ को जागिरे, माओका प्रिय
तिमी पुरानो दरबारका नयाँ राजा
मेरा ज्वाइँ गणतन्त्रका राजा ।