भर्खरै :

‘हावा महल’ का निर्माता र सच्चा राष्ट्रप्रेमीको एकता

इन्द्रकुमार श्रेष्ठ
राजनीतिक संस्कार नबसेको मुलुकमा राजनीति सेवा नभएर पेशा र व्यवसाय बनेपछि र ‘कानुनीराज’ भन्ने कुरा कागजमा मात्र चल्न थालेपछि सचेत नागरिकले सन्तोष मान्ने ठाउँ कतै पनि हुँदोरहेनछ । यो अवस्थामा पुराना पुराना काण्डका कुराहरू दोहोरिरह्यो, अपराधहरू सम्झेर मन खिन्न भइरह्यो । कसका पालामा कसले के कति भ्रष्टाचार ग¥यो भनेर लेखाजोखा गर्नुपर्छ । कुन सरकारका पालामा कुन कुन काण्डहरू भए भनेर साथीभाइ भेटघाट हुँदा छलफल हुन्छ । पछिल्ला सरकारका पालामा पनि त्यस्ता कुकर्महरू नयाँ–नयाँ थपिए । ‘चियागफ’ मा बखान हुन्छ । पुरानो विकृति सम्झेर साध्य नभएपछि पुराना छोडेर पछिल्ला नयाँ–नयाँ काण्डहरूको चर्चा हुन्छ । कति नागरिकको यहाँ दैनिकी जसोतसो चलेको छ तर सरकार मज्जाले चलेकै छ ।
एकपटक राजा अकबरले वीरबललाई एउटा ‘हावा महल’ बनाउने विषयमा कुरा गरेछन् । अत्यन्त चतुर र बुद्धिमान् वीरबलले एकछिन गम खाएर त्यो बनाउन समय र खर्च धेरै नै लाग्ने बताए । अकबरले “जति लागोस्, खर्च राज्यकोषबाट व्यहोरिनेछ तर बनाउनुचाहिं पर्छ” भनेछन् । ‘हावा महल’ बनाउन वीरबल राजी भएपछि त्यसका लागि उनले उत्तिखेरै दरबारबाट मोटो रकम पाइहालेछन् ।
‘हावामहल’ बनाउने क्रममा वीरबल एक वर्ष अलप भएछन् । यसबीचमा वीरबलले बीसवटा सुगालाई तालिम दिलाएछन् । वर्षको अन्त्यमा अकस्मात् प्रकट भएर वीरबलले ‘महल तयार भयो’ भन्ने खबर दरबारमा पठाएपछि अकबर उच्चपदस्थ सुरक्षासहित बडो खुसी र उत्सुकतापूर्वक त्यो हेर्न गएछन् । तालिम प्राप्त सुगाहरू चारवटा पिंजडाभित्र ल्याइएका थिए । अकबरले हावामहल हेर्न यताउता नजर डुलाउन थालेपछि वीरबलको मौन सङ्केतमा ती चारैवटा पिंजडाहरू एकैचोटि खोलिएछन् । भुर्रर बाहिर निस्केका सुगाहरू त्यतैतिरका रूखमा घेरिएर बस्दै कराउन थालेछन्, “ढुङ्गा, माटो, काठ ल्याऊ ! गारो लगाऊ ! छिटो गर ! महल बनाऊ !”
त्यहाँको त्यो गतिविधि देखेर राजा अकबरले छक्क परेर प्रश्न गरेछन्, “यो के हो वीरबल ? ‘हावा महल’ कहाँ छ ? छिटो देखाऊ ! मलाई हेर्न एकदम हतार भइसक्यो ।”
वीरबलले सजिलै उत्तर दिएछन्, “यही अगाडिको त हो नि, देख्नुभएन महाराज ? कत्रो दुःखले धमाधम महल बन्दै छ त ! सकिनै लाग्यो । काम छिटो भइरहेको छ ।”
वास्तवमा त्यहाँ निर्माणको कुनै काम भएको थिएन । सुगाहरूमात्र मीठो स्वरमा रटान लगाइरहेका थिए ।
आन्दोलनहरू थुप्रै भए । यो माटोमा जताततै नमीठो गरी सहिदको खुन गन्हाएजस्तो लाग्छ । व्यवस्थाहरू नयाँ नयाँ आए । घोषणापत्र, भाषण र योजनाहरूको कहिल्यै कुनै दुःख भएन । तर, जे जति भए पनि देशले उल्लेखनीय प्रगति गर्नै सकेन । यहाँ जति पनि विकास भयो, ती सबै असल नीति र नेताले गरेर होइन, समयक्रममा स्वतः भएको हो । तर, देशमा विकास नहुनुमा सधैँ एउटा न एउटा बहाना गरियो । एउटा र एउटालाई दोष देखाउँदै आइयो । अत्याचारी राणाहरूलाई त सबैले गाली गर्ने नै भए । राणा फालेर पञ्चायत ल्याइयो । पञ्चायतलाई पनि मनपराइएन । त्यो फालेर बहुदल ल्याइयो । त्यो आउँदा पनि भएन । सत्र हजार मानिस र अरबौँको भौतिक सम्पत्ति ध्वस्त हुँदा पनि, त्यो सब हाम्रै लागि भन्ने ठानियो । ‘क्रान्तिकारी’ को निशानामा राजतन्त्र पर्दा त्यो पनि नाजुक भयो । अन्ततः ‘क्रान्तिकारी’ हरू सत्तामा गए, त्यसलाई सबै जनताको जीत ठानियो । यतिखेर नेपाली जनताको मनमा निराशा छ । उनीहरूको निष्कर्ष यही छ ः जसलाई पनि आखिर चाहिएको सत्ता रहेछ !
सिद्धान्त र व्यवस्थाले मात्र के गरोस् ! तिनको व्याख्या गर्ने, तिनलाई चलाउने, तिनलाई बनाउने र तिनको खोल ओढेर रामनामी जप्तै दुरूपयोग गर्ने लोभीपापीहरू भएपछि । दाग आफ्नै आँखामा छ, सधैँ ऐना पुछेको पुछेकै गरेर के हुन्थ्यो !
पछिल्लो समयमा दुईतिहाइको बलियो र स्थिर सरकार आयो । तर, अवस्था सुध्रिएन । घरघरमा ग्याँसको पाइप, रेल र पानीजहाजको सपना छरियो । स्वस्थ र निरोगी हुने, रोजगार सबैले पाउने भन्न बाँकी केही राखिएन । घोषणा गर्न केही पनि छोडिएन । समुन्द्र नभएको देशमा पानीजहाज कार्यालय खोलियो । भारतले केही समय नाकाबन्दी गरिदिंदा दाउरा बेच्ने स्थितिमा पुगेको सरकार, त्यतिखेर दाउरा बेच्तै भए पनि मन्त्रिमण्डल विस्तार गर्नमा व्यस्त भएको थियो । यतिखेर देशमा तीन तहको सरकार छ । तिनलाई सम्हाल्न व्यवस्था गरिएका जनप्रतिनिधिहरूको सङ्ख्या धेरै छ । तिनको सेवा सुविधाका लागि छुट्याइएको रकम धेरै छ । खर्च असीमित छ । यसरी देश खोक्रो हुँदै छ । नागरिकका थाप्लामाथिको ऋण बढेको बढेकै छ । एउटा मेलम्ची खानेपानी आयोजना थालिएको तीस वर्ष भयो । नेतागण जसरी पनि पाल्नु छ । सङ्घीयता आउनासाथ कर बढाइयो । नागरिक झस्के । विरोध गर्न थाले । तर, जति नै विरोध गरे पनि अब त्यसलाई घटाउनुको साटो बढाउनका लागि नयाँ–नयाँ शीर्षकहरू खोजिंदै छन् । व्यापार घाटा बढेको बढेकै छ । आयात बढ्ने र निर्यात घट्ने कुरै छैन । युवा वर्ग विदेशिने क्रम बढेको हुँदा, देशमा ‘आर्म पावर’ र ‘माइन्ड पावर’ को अभाव महसुस हुँदै छ । सङ्घीय गणतन्त्रमा कामका अल्छे र गफका भकारी बगुन्द्र नेताहरू एकअर्कामा दोषारोपण गर्दै छन् । दिनहुँजसो हामीले विदेश भ्रमण, फट्याइँ, उपचार खर्च र भ्रष्टाचारका कुराहरू सास रोकेर सुन्नुपरेको छ । पछिल्लो समयमा आयल निगम जग्गा खरीद प्रकरण, निर्मलाको बलात्कार र हत्या, तेत्तीस किलो सुन काण्ड, वाइड बड्डी खरीद प्रकरण, बालुवाटार जग्गा अपचलनजस्ता काण्ड र भ्रष्टाचार बाहिर आएका केही प्रतिनिधि घटनाहरूमात्र हुन् । नदेखिने, नसुनिने घटनाहरू अझ धेरै हुनसक्छन् ।
यता इतिहासकै शक्तिशाली सरकार भने वीरबलका तालिम प्राप्त सुगा जसरी जताततै विकास र समृद्धिका झूटो भाषण गर्न पनि बाँकी राखिएको छैन । धमाधम झूटो अभिलेखको खेती र ढाकछोप पनि विज्ञप्ति तथा सञ्चारमाध्यमतिर देख्न पाइन्छ । दुईतिहाइको शक्तिशाली सरकारका पालामा तीन तहका सरकारका बीच अधिकारका विषयमा हानथाप छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र स्वरोजगार कार्यक्रमजस्ता प्रभावकारी योजनाहरूको प्रभाव पार्न सकेको छैन । त्यसको सट्टा वैदेशिक रोजगारले देशै पिटेको छ । द्वन्द्वपीडितहरूलाई न्याय दिने र बेपत्ता छानबिन गर्ने कुराहरू अर्थहीन भइरहेका छन् । विकास र समृद्धिका कार्यक्रमहरू ‘हावामहल’ बन्दै छन् । समृद्धि भाषण र घोषणामा सीमित छ । देशको विकासका लागि दिगो र आत्मनिर्भरमूलक योजना कुनै छैन । अघि सारिए पनि ती सफल हुने परिवेश र वातावरण छैन । सर्वसाधारणले भने खालि हेर्नु छ रमिता ! सुन्नु छ भ्रष्टाचार । देख्नु छ विडम्बना !
यो देशको माया गर्ने र यहाँ सुशासन चाहने सर्वसाधारणले सरकारका क्रियाकलाप्रति जति नै प्रश्न उठाए पनि यतिखेर त्यसको रचनात्मक उत्तर पाउने लक्षण देखिँदैन । यो अवस्था सबै जनजनका मनमा छ । अब मनको कुरो विस्तारै मुखमा पनि आउनुपर्छ । देश सिध्याउनेहरूको एकता छ । देश बनाउन चाहनेहरूका बीचमा सहकार्य र एकता हुनुपर्छ । शुभकामना आदानप्रदान कार्यक्रममा यस्ता कुराहरू सुन्न पाए आनन्द लाग्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *