सरकारी निकायले आफ्नो उपस्थिति पुष्टि गर्नुपर्ने
- जेष्ठ ११, २०८३
– वस्तुराज ‘शीतल’
सत्तासीन दलका नेता, मन्त्री, सांसद र जनप्रतिनिधि तथा कार्यकर्ताहरूको आचरण भ्रष्ट भएसम्म देशको शासन व्यवस्था सुशासित हुने छैन । ती नेता तथा मन्त्रीहरू दूरदर्शी, देश र जनताप्रति जिम्मेवारीबोध र निःस्वार्थी नभएसम्म देशको राजनीति स्वच्छ हुने छैन । पदको दुरुपयोग गरेर अकुत सम्पति कमाउनु घूस, खानु, अनियमितता गर्नुमात्र भ्रष्ट बुद्धि होइन मतिभ्रष्ट हुुनु पनि भ्रष्टाचार नै हो । सरकारको नेतृत्व गर्ने दल सिद्धान्ततः सदाचार, सुशासन र विकासको कुरा फुक्छ, भ्रष्टाचारी, सामाजिक अपराधीहरूमाथि कारबाही गर्ने दाबी गर्छ । तर, व्यवहारमा कारबाही गरिंदैन । उल्टो भ्रष्टाचारको घेरा फराकिलो हुँदै छ, आपराधिक गतिविधि बढ्दै छ । जसरी अनियमित तथा गलत ढङ्गले आय आर्जन गर्नु भ्रष्टाचार हो त्यसरी नै देश विदेशमा झूटको खेती गर्ने नेता र शासक प्रमुखहरू पनि भ्रष्ट हुन्, भ्रष्टाचारी हुन् ।
पदको दुरुपयोग गरी अकुत सम्पति कमाएको आशङ्कामा सम्पति शुद्धीकरण अनुसन्धान विभागले सुदूर पच्छिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमाथि सम्पति आर्जनबारे छानबिन प्रक्रिया अघि बढाएको छ । टोलीको बिहीबार मन्त्रीको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत गरेको छ । यसअघि नै उनीमाथि जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दर्ता गरिसकेको छ । त्यहीं अभियोगमा उनले राजिनामा दिए । मन्त्री र सांसदहरू देश र जनताको सेवा छोडेर कमाउधन्दामा लाग्नु स्वच्छ छविको परिचय होइन । अवसर पाउन विकासको नाउँमा अकुत सम्पति कमाउन नै सांसदहरूले सांसद कोष बढाउने माग गरे । सरकारी बजेट र सांसद कोष ल्याएर विकास छर्ने मन्त्री र सांसदहरू त्यही विकासको बजेटमा टेकेर अकुत सम्पति कमाउँछन् । विशेषगरी यस कार्यमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेकाका नेता र सांसदहरू फसेका छन् । अभिव्यक्ति सुन्दा उनीहरू जति भ्रष्टाचारविरोधी र विकासप्रेमी अरू छैनन् । उनीहरूको अभिव्यक्ति, आश्वासन र प्रतिबद्धता पूरा भएको भए नेपाल विकासको उचाइमा पुग्नुपर्ने हो, नेपालमा कहीँ कतै भ्रष्टाचार र अनियमितता नहुनुपर्ने हो । तर, वास्तविकता त्यो भन्दा पृथक छ । भ्रष्टाचार र अनियमितताको घेरामा देश बाँधिएको छ । सुशासन, विधिको शासन, इमानदारिता व्यवहारमा देखिएको छैन । सुन्दर कल्पना बाँडेर सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेकपा सरकारको धोको पूरा हुने कहिले ?
Leave a Reply