ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
रतन भण्डारी
नेपाल–भारतबीचको पश्चिमी सीमा निर्धारण गर्ने मूल आधार सुगौली सन्धि हो । सुगौली सन्धिको धारा ५ अनुसार नेपालले महाकाली नदी पश्चिमको भूभाग छोडेको हो । सुगौली सन्धिद्वारा निर्धारित सीमारेखा फेरबदल हुने गरी (नयाँ मुलुक र शारदा–टनकपुर बाँध निर्माणमा सट्टा–पट्टा भएको जमीनबाहेक) नेपाल, ब्रिटिश–इन्डिया र स्वतन्त्र भारतबीच अरु कुनै सन्धि, सम्झौता भएका छैनन् । तर, महाकालीको उद्मगस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३ सय ८५ वर्ग कि.मि. नेपाली भूमि भारतीय अतिक्रमणको चपेटामा परेको छ । ऐतिहासिक तथ्य–प्रमाण, नाप–नक्सा, जलविज्ञानका आधारमा महाकालीको उद्गमस्थल लिम्पियाधुरा पूर्वको सम्पूर्ण भूभाग नेपालको हो । लिम्पियाधुरा महाकालीको उद्गम देखाउने नाप–नक्सा तथ्य–प्रमाण, पत्राचार, तिरो–तिरान, लालमोहर, इस्तिहार र सनद निम्नानुसार छन् ः
पत्राचार
सन् १८१७ फेब्रअरी ४ का दिन इष्ट इन्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे.आदमले काठमाडौँस्थित आवासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई गभर्नर जनरलका तर्फबाट पत्र लेखेका छन् । सुगौली सन्धि भएको एक वर्षपछि लेखिएको यस पत्रमा आदमले गार्डनरलाई ‘काली नदीको पूर्वमा पर्ने ब्यास प्रगन्ना चौतरिया बम शाहको दाबीअनुसार नेपालको ठहरिन्छ, तसर्थ त्यो ठाउँ नेपाल सरकारका अधिकारीलाई बुझाउनु’ भनी निर्देशन दिएका छन् । कम्पनी सरकारको उक्त आधिकारिक पत्रले सुगौली सन्धिअनुसार कालीको मुहान लिम्पियाधुरा र लिम्पियाधुरा पूर्वका कुटी, नावी, गुञ्जी, तिङ्कर र छाँगरु गाउँलाई नेपालको भूमि भनेर स्वीकारेको छ (हे., अनुसूची–३९) ।
कुमाउँका प्रशासकलाई निर्देशन
इष्ट–इन्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे.आदमले गभर्नर जनरलको तर्फबाट कुमाउँका कार्यवाहक कमिश्नर जी.डब्ल्यू. टे«ललाई सन् १८१७ मार्च २२ मा अर्को पत्र लेखेका छन् । कालीपूर्व ब्यास प्रगन्ना र त्यहाँका भोटिया (ब्यासी–सौका) जमीनदारहरूको निवेदनसँग सम्बन्धित यस पत्रमा जे.आदमले कुमाउँका कमिश्नरलाई कालीपूर्वको ब्यास प्रगन्नासहितको भूभाग सुगौली सन्धिअनुसार नेपालको भएकोले ती गाउँहरू नेपाललाई सुम्पन भनेर लेखेका छन् । पत्रमा ब्यास प्रगन्नाका भोटिया जमीनदारहरूले ब्रिटिश शासनअन्तर्गत रहन पाऊँ भनी निवेदन दिए पनि सुगौली सन्धिअनुसार ब्यास प्रगन्ना, त्यहाँको गाउँ र जमीन नेपालको भएकोले ब्रिटिश सरकार त्यहाँको जमीनदार र बासिन्दालाई आफू मातहत पार्न जतिसुकै इच्छुक भए पनि नसक्ने बेहोरा उल्लेख छ । कम्पनी सरकारको यस आधिकारिक निर्देशनसहितका पत्रहरूले काली पूर्वका कुटी, नावी, गुञ्जी, छाँगरु, तिङ्कर गाउँहरू नेपाल सरहदभित्र रहेको तथ्य निर्विवाद छ (हे., अनुसूची– ३९) ।
तिरो–तिरान
मालपोत कार्यालय, बैतडीमा छाँगरु, तिङ्कर, गुञ्जीका बासिन्दाले विसं. १९६२ असार १८ तथा १९९३ चैत २० सम्म तिरो–तिरान गरेका दुर्लभ अभिलेखहरू भेटिएका छन् । विसं. १९९७ मंसिर २७ गते खडग निशाना भएको तिरो–तिरानसम्बन्धी मोठ बैतडी मालमा अझै सुरक्षित छ । सुगौली सन्धिले कालीलाई सीमा नदी निर्धारण गरेपछि कालीपूर्वको ब्यास क्षेत्रका यी गाउँहरूबाट विसं १९९७ सम्म पनि नेपालमा तिरो–तिरान हुँदै आएको र नेपाली प्रशासनअन्तर्गत रहेको कुरा पुष्टि हुन्छ (हे., अनुसूची–४४) ।
लालमोहर–इस्तिहार–सनद
कम्पनी सरकार र नेपालबीच सन् १९२० मा शारदा ब्यारेज निर्माणका लागि सम्झौता हुँदा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले महाकालीको उद्गम लिम्पियाधुराबारे कुरा उठाएका थिए । राणाकालमा बैतडीअन्तर्गतको तत्कालीन ब्यास गर्खाका बासिन्दाका नाममा जारी लालमोहर–इस्तिहार–सनदहरू गुञ्जी, नावी, तिङ्कर र छाँगरुवासीहरूसँग अझै सुरक्षित छन् (हे., अनुसूची– ४३) ।
जनगणना
नेपाल सरकारले विसं. २००९ मा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो । हालको दार्चुला तत्कालीन बैतडी जिल्लाअन्तर्गत थियो । बैतडीअन्तर्गतको तत्कालीन ब्यास गर्खा (दरा) मा ६ ओटा गाउँहरू थिए । २०११ को जनगणनाले ब्यास गर्खाका ६ ओटा गाउँको घरधुरी सङ्ख्या ४ सय ३४ तथा कुल जनसङ्ख्या १,८१६ देखाएको छ । २०१८ मा ब्यास क्षेत्रका गुञ्जी, नावी, कुटी, तिङ्कर र छाँगरु गाउँहरूको जनगणना वरिष्ठ पत्रकार भैरव रिसालको मातहत भएको थियो ।
लविज्ञानका आधारमा कालीको मुहान
कुन नदी मूल र कुन सहायक भन्ने कुराको टुङ्गो नदीको लम्बाइ, नदीले ओगटेको जलाधार क्षेत्र, नदीमा रहेको पानीको मात्रा, नदीको गहिराइ र नदीको क्रमाङ्कका आधारमा लगाइन्छ । सबैभन्दा ठूलो जलाधार ओगटेको, अरु सहायक नदीभन्दा लामो दूरीबाट बगेर आउने, सहायक नदीहरूभन्दा पानीको मात्रा बढी भएको र गहिरो नदीलाई जलविज्ञानका आधारमा मूल नदी मानिन्छ । लिम्पियाधुरा उद्गमित नदी पानीको आयतन बढी भएको, जलाधार क्षेत्र पनि ठूलो भएको, अन्य सहायक नदीहरूभन्दा टाढाबाट बगेर आउने र गहिरो भएकोले मूल काली नदी हो ।
स्रोत ः अतिक्रमणको चपेटामा लिम्पियाधुरा– लिपुलेक
Leave a Reply