ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
अमिर मलिक
(भगत सिंह भारतलाई बेलायती औपनिवेशिक शासनबाट मुक्त गर्न लडेका एक क्रान्तिकारी नेता थिए । उनी एक माक्र्सवादी तथा बृहत् अध्ययन भएका बौद्धिक व्यक्ति थिए । उनको छोटो जीवनमै उनले अङ्ग्रेजीका अतिरिक्त आइरिस, रूसी, भारतीय र धेरै युरोपेली साहित्य अध्ययन गरेका थिए । उनी बा¥ह वर्षको हुँदा जलियावाला बाग हत्या काण्ड भएको थियो र उनी त्यसको एक प्रत्यक्षदर्शी थिए । पर्खाल लगाइएको बगैँचाभित्र बेलायती शासकहरूले वृद्धवृद्धा, महिला, केटाकेटी केही नभनी अन्धाधुन्ध गोली चलाएर नरसंहार गरेका थिए ।
त्यसको प्रभाव भगत सिंहमा जीवनभर परेको थियो । सन् १९२८ मा अर्का स्वतन्त्रता सेनानी लाला लाजपतको हत्या गरेको बदला लिन भगत सिंहले बेलायती प्रहरी अधिकारी जोन स्यान्डर्समाथि गोली चलाएका थिए ।
स्यान्डर्समाथि गोली हानेपछि उनले लेखेका थिए ः “ … तर यी व्यक्ति जो मरेका छन्, अति क्रुर शासनका प्रतिनिधि थिए, आधारभूतरूपमा निश्चय पनि उक्त शासनलाई अन्त्य गर्नैपर्छ । यी मरेका व्यक्ति भारतको बेलायती औपनिवेशिक शासनका दलाल थिए ।”
‘बहिराहरूलाई सुन्न लगाउनका लागि’ भगत सिंह र उनका कामरेड बटुकेश्वर दत्तले दिल्लीस्थित केन्द्रीयसभा भवनमा ठूलो आवाजमा बम पड्काएका थिए । त्यसबाट कसैलाई पनि शारीरिक चोटपटक लागेन र तिनीहरूले आफ्नो स्वेच्छिक गिरफ्तारी दिए । उनी र उनका कामरेडहरूले विशाल बेलायती साम्राज्यको जगै हल्लाए । बेलायतीहरूले उनीहरूबाट छुट्कारा पाउन चाहे र मार्च २३, १९३१ का दिन २३ वर्षको उमेरमै भगत सिंहलाई फाँसीमा लट्काए । भगत सिंहले शहादत प्राप्त गरे ।
भगत सिंहको क्रान्तिकारी विचारको स्मरण तथा उनीप्रति श्रद्धासुमन अर्पण गर्दै लेखिएको यो खुलापत्र हो । भगत सिंहका विचार औपनिवेशिक भारतमा जति महत्वपूर्ण थिए, आज पनि उत्तिकै सान्दर्भिक छन् । सेप्टेम्बर २८ का दिन भगत सिंहको जन्म दिवस पर्दछ ।)
प्यारा कामरेड भगत सिंह,
जन्मदिनको हार्दिक बधाई !
बेलायतीहरूले ७० वर्ष अगाडि नै भारत छाडे तर त्यो तपाईँले पहिल्यै भन्नुभएझैँ शासकहरूको सेट परिवर्तन मात्र भयो । तपाईँले भन्नुभएको थियो, “गोराहरूको ठाउँमा गहुँगोरो छालाका शासकहरू हुँदैमा भारतका निम्ति स्वतन्त्रता आउनेछैन । आज आएको पनि छैन । आज म तपार्इँले शहादत प्राप्त गरेको झण्डै एक शताब्दीपछि यो चिठी लेख्दैछु । मैले तपाईँलाई सूचित गर्नैपर्छ कि गहुँगोरो छाला भएकाहरूको ठाउँ पहेँलो (भगवा) वस्त्रधारीहरूले लिइसकेका छन् । उक्त रङ्गलाई अति दक्षिणपन्थी हिन्दू राष्ट्रवादी सरकारले राष्ट्रिय मान्यता दिएको छ ।
आजको भारतका लागि, अझ विशेषगरी अति दक्षिणपन्थी भारतीय जनता पार्टीको वर्तमान सरकार रहेको अवस्थामा तपाईँका दृष्टिकोण र विचारहरू अझै आवश्यक छन् । तपार्इँकोे शहादत खेर गएको छैन । बेलायती उपनिवेशवादी सरकारले तपाईँको शरीरलाई मात्र मार्न सक्यो, तपाईँको विचारलाई सकेन । तपाईँले हामीलाई सिकाएर जानुभएको छ कि स्वाभिमानीपूर्वक मृत्युलाई अङ्गाल्नु अपमानित भई बाँचिरहनुभन्दा राम्रो हो । तपाईँले हामीलाई ‘बहिराहरूलाई सुन्न लगाउनका लागि ठूलो आवाजको जरूरत पर्दछ’ भनी सिकाउनुभयो र हामीलाई ‘रातो झन्डा’ देखाउनुभयो ।
त्यतिबेला तपाईँले भन्नुभएको थियो, ब्रिटिश सरकारले तपार्इँहरूमाथि ‘नयाँ दमनकारी कानुनहरू’ – सार्वजनिक सुरक्षा, व्यापार विवाद र प्रेस निगरानी विधेयक लादिरहेको छ ।
तपाईँले भन्नुभएअनुसार ती विधेयकहरू ‘अपमान गर्ने अस्त्रहरू’ थिए । बेलायतीहरूले जस्तै आजको भारतका अतिदक्षिणपन्थी शासक गुटले अगस्ट ५ का दिन भारतको संविधानबाट काश्मीरलाई विशेष स्थान दिने धारा ३७० र अनुच्छेद ३५ ‘ए’ हटाएर काश्मीरमा सार्वजनिक सुरक्षा ऐन लादेको छ । उक्त ऐनले ८२ वर्षका काश्मीरका नेता फारूख अब्दुलालाई खतरा मानेको छ । ब्रिटिशहरूले भारत छोड्नुभन्दा अगाडि झै उनलाई आज अपमानित गरिएको छ ।
तपाईँले आफ्नो रचना ‘खबरदार कर्मचारीतन्त्र’ मा ब्रिटिशहरूलाई विश्वकै सबैभन्दा निरङ्कुश सरकार भन्नुभएको थियो । आजका भगवा वस्त्रधारीहरूको ब्रिगेडले त्यही निरङ्कुशता आफ्ना मालिकहरूबाट राम्ररी सिकिरहेको देख्न सकिन्छ ।
पत्र लेखिरहेको यो अवसरमा आजको अति दक्षिणपन्थी सरकारले देशको विद्यमान श्रम कानुनमा परिवर्तन गर्न प्रस्ताव गरेको छ । त्यस्तै अरू ४४ वटा विद्यमान कानुनहरूमा संशोधन गरी चार वटा संहितामा सीमित गरेर करोडौँ मजदुरहरूको जीवनमाथि खेलवाड गरी अकुत धन सोहोर्ने धनाढ्य घरानाहरूलाई फाइदा पु¥याउन खोजिएको छ ।
सन् १९२६ मा व्यापार विवाद ऐन ल्याएर ब्रिटिश सरकारले भारतमा कुनै पनि खाले हड्ताल गर्न प्रतिबन्ध लगाएको थियो र गरेमा त्यसलाई ब्रिटिश सरकारविरूद्धको विद्रोह मानिने घोषणा गरेको थियो । उक्त ऐनमार्फत मजदुरहरूलाई बिना कुनै मुद्दा महिनौँ लामो अवधिसम्म कैद गरिएको थियो । ब्रिटिशहरूभन्दा पनि स्वेच्छाचारी बन्दै आजको भारतका फासिवादी शासकहरूले कुनै मजदुरले विरोध कार्यक्रम गर्न चाहेमा ४२ दिन अगाडि नै सूचना दिनुपर्ने निरङ्कुश ऐन लादेका छन् ।
गणितीय हिसाबले आजको भगवा वस्त्रधारीहरूको शासन ब्रिटिश शासकहरूको भन्दा तीन गुणा बढी निरङ्कुश भएको देखाएको छ ।
प्रिय भगत सिंह,
तपाईँले सपना देख्नुभएको देशमा आज बोल्नमा प्रतिबन्ध गरिएको छ र देशलाई सन्नाटामा धकेलिएको छ । जसले आवाज उठाउने र तपाईँको अनुसरण गर्ने साहस गरे तिनीहरूमाथि देशद्रोहीको आरोप लगाइएको छ । वास्तवमा सरकारले विद्यमान ‘आतङ्कवादविरोधी कानुन’ मा संशोधन गरेर आतङ्कवादीको परिभाषाभित्र व्यापक जनतालाई पार्न खोजेको छ । त्यसले गैरकानुनी क्रियाकलाप रोकथाम ऐन (यूएपीए) मा संशोधन गरेर ‘आतङ्कवाद’ को परिभाषा नै फेरिसकेको छ ।
प्राकृतिक न्यायको सिद्धान्तअनुसार कुनै पनि व्यक्ति कानुनले दोषी प्रमाणित नगरेसम्म निर्दोष हुन्छ । साथै अभियुक्तलाई दोषी प्रमाणित गर्ने भार सरकारमाथि हुन्छ । न्यायको सिद्धान्तको पूर्णविपरीत रहेको उक्त विधेयक सरकारले प्रतिपक्षमा रहेका काङ्ग्रेस र बहुजन समाज पार्टीको समर्थनमा पारित ग¥यो । उक्त ऐनले कुनै व्यक्तिमाथि बिनाकुनै उजुरी वा एफआईआर दर्ता नहुँदै अभियोगपत्र वा मुद्दा नचल्दै आतङ्कवादी घोषित गर्न सक्छ । विश्वको कुन ठाउँमा यस्तो हुन्छ कामरेड ?
जब ब्रिटिशहरूले तपाईँलाई आतङ्कवादी भने तिनीहरू जतिसुकै क्रुर भए पनि तिनीहरूले मुद्दा त चलाए । आज ती सबै प्रक्रिया पुराना भइसकेका छन् । आजको कुनै भगत सिंहले सरकार नाङ्गिए पनि त्यसलाई उदाङ्ग्याउने मौका पाउँदैन । फेरि पनि भारत सन्नाटाको अवस्थामा छैन भनिन्छ भने योभन्दा ठूलो विडम्बना के होला ?
प्यारा कामरेड,
यो थाहा पाएर तपाईँ खुसी हुनुहुनेछ कि मैले तपाईँको मामाको छोरा जगमोहन सिंहसित कुराकानी गरेको छु । उहाँ अहिले देशकै प्रख्यात प्राध्यापक हुनुहुन्छ । उहाँले भन्नुभयो –“कानुनमा देशद्रोहको प्रावधान शासकहरू र शासितहरू एक अर्काका शत्रु हुन् भन्ने विचारबाट उब्जेको हो ।”
वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको वा वर्तमान सरकारविरूद्ध गएकै निहुँमा उक्त निरङ्कुश ऐनअनुसार सयौँ मानिसलाई पक्राउ गरिसकिएको छ । कयौँ पत्रकारहरू र सामाजिक कार्यकर्ताहरूलाई आज जेलमा सडाइएको छ ।
कसरी सरकारको आलोचना गर्दैमा देशद्रोही भइन्छ ? सर्वोच्च अदालतका एक वरिष्ठ न्यायाधीशले मलाई बताउनुभएको छ कि देशद्रोहीलाई त्यतिबेलै हटाउन सकिन्थ्यो, सन् १९४७ मा जतिखेर ब्रिटिशहरूले भारत छाडे । कसरी एक भारतीयले आफ्नै देशका आफ्नै जनतामाथि बिनाआधार देशद्रोहको आरोप लगाउन सक्छ ?
मैले तपाईँलाई सूचना दिनैपर्छ कि आजको भारतको सरकारले सडेको बेलायती विरासतलाई मात्र अगाडि बढाइरहेको होइन बरु समयअनुसार त्यसलाई बलियो बनाउँदै छ ।
प्रोफेसर जगमोहन सिंहको भनाइको सार खिच्न मैले सकेँ भने ‘आजका शासकहरू शासित भारतीय जनताका शत्रु हुन् तर जनता शासकहरूको शत्रु बन्न सकेका छैनन् ।’
त्यसैले पहिलेभन्दा बढी अहिले देशलाई तपाईँको जरूरत छ । लाग्छ, दोहोरो जन्म लिने र कान नसुन्ने बहिरा (शासक) लाई सुनाउन चर्को आवाज निकाल्ने समय अहिले नै हो ।
तपाईँको अमिर मलिक
(लेखक भारतका स्वतन्त्र पत्रकार हुन् ।)
Letter to Indian Independence Fighter Bhagat Singh)
www.scroll.in, 30 September 2019
Leave a Reply