भर्खरै :

बोलिभियामा दक्षिणपन्थीहरूद्वारा सत्ता विप्लव

लापाज, ११ नोभेम्बर (टोलिसुर) । दक्षिण अमेरिकी देश बोलिभियामा त्यहाँका दक्षिणपन्थी राजनीतिक शक्तिहरूले सेना र प्रहरीको दबाबमा जननिर्वाचित वामपन्थी राष्ट्रपति ते मोरालेसलाई राजीनामा गर्न लगाएर सत्ता विप्लव गरेका छन् ।
बोलिभियाली सेना प्रमुख र प्रहरी प्रमुखले आइतबार साँझ राष्ट्रपति ते मोरालेससित भेटेर देशमा शान्ति कायम गर्न र थप हिंसा हुन नदिन राजीनामा गर्न दबाब दिएका थिए ।
अक्टोवर २० मा भएको राष्ट्रिय निर्वाचनमा समाजवादी आन्दोलन पार्टी (एमएएस) र राष्ट्रपति ते मोरालेस निर्वाचित भएका थिए । निर्वाचनको नतिजा स्वीकार नगरी देशव्यापी हिंसात्मक प्रदर्शन जारी राखेका दक्षिणपन्थीहरूको पक्षमा देशको सेना र प्रहरी खुल्दै गएपछि त्यहाँको राजनीतिक स्थिति फेरिएको हो ।
पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै नेता मोरालेसले देशमा उत्पन्न हिंसात्मक तनाव मत्थर पार्न र गृहयुद्धको सम्भावना टार्न राजीनामा गरेको बताउनुभयो ।
“कार्लोस मेसा र लुइस कामाचोले हाम्रा हजारौँ दाजुभाइ–दिदी बहिनीहरूमाथि आक्रमण गर्न र हानी पु¥याउन बन्द गरोस् भन्ने ध्येयले मैले आफ्नो पदबाट राजीनामा गरेको छु । शान्तिप्रतिको मेरो प्रतिबद्धता छ र अर्को बाटो अपनाएमा बोलिभियालीहरूको ठूलो नोक्सान हुने तथ्यमा हामी अवगत छौँ त्यसैले आफ्नो राजीनामा पत्र बोलिभियाको बहुराष्ट्रिय राष्ट्रिय सभा (संसद) मा पठाएको छु ।”– मोरालेसले भन्नुभयो ।
राष्ट्रपति मोरालेससँगै उपराष्ट्रपति अल्भारो गार्सिया लिनेराले पनि आफ्नो पदबाट राजीनामा गर्नुभएको छ । दुवै नेताले आफ्नो राजीनामा संसदमा पठाउनुभएको छ ।
बोलिभियाको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिले राजीनामा दिएपछि त्यहाँको माथिल्लो सदन–सिनेटका बहुमतका नेता राष्ट्रपति बन्नेछन् तर मोरालेसको मास पार्टीका भएकै कारण सिनेटका अध्यक्ष आड्रियाना साल्भाटियरालाई पनि दबाबमा राजीनामा गर्न लगाइएको छ ।
मोरालेसले विदेशमा शरण लिने हल्लाबीच मोरालेस र गार्सिया लिनेरा दुवै देशको मध्य प्रान्त कोचाबाम्बाको चिमोरेमा आदिवासी जनतासँगै बस्ने हुनु भएको छ । “हामी फेरि फर्कनेछौँ र हामी टुपाक अमारु दोस्रो जस्तै दसौँ लाखको सङ्ख्यामा हुनेछौँ ।” –मोरालेसले घोषणा गर्नुभयो ।
यसअघि राष्ट्रपति मोरालेसले विपक्षी पार्टीहरूसित वार्ता र अमेरिकी राज्य सङ्गठन–ओएएसको सिफारिसबमोजिम नयाँ निर्वाचनको घोषणा गरेपछि उनलाई राजीनामा गर्न बलपूर्ण दबाब सिर्जना गरिएको हो ।
अवैधानिक पक्राउ
राष्ट्रपति मोरालेसको राजीनामा अगाडि नै कयौँ महत्वपूर्ण व्यक्तिलाई दक्षिणपन्थीहरूको समर्थनमा रहेका प्रहरीले अवैधरूपमा पक्राउ गरिसकिएको थियो । सुप्रिम इलेक्टोरल ट्रिब्युनलमा अध्यक्ष मारिया इयुगेइना चोकलगायत ट्रिब्युनलका सदस्यहरूलाई अवैध रूपमा पक्राउ गरिएको थियो । दक्षिणपन्थी विपक्षी नेता तथा उपराष्ट्रपति उम्मेदवार लुइस फर्नान्डो कामाचोले प्रहरीले निवर्तमान राष्ट्रपति ते मोरालेस विरुद्ध पनि ‘पक्राउ पुर्जी’ जारी गरेको खुलासा गरे । समाचार तयार पार्दासम्म मोरालेसलाई गिरफ्तार गरिएको या नगरिएकोबारे केही स्पष्ट भएको छैन ।
भेनेजुयला, क्युवा र मेक्सिकोका राजदूतावासहरूमा आक्रमण
बोलिभियाली दक्षिणपन्थीहरूले ला पाजमा रहेका भेनेजुयला, मेक्सिकोका राजदूतावासहरूमा आक्रमण गरेका छन् । तर, हिंसात्मक प्रदर्शनकारीहरू राजदूतावासमा छिर्न सकेका भने छैनन् ।
भेनेजुयली राजदूत क्रिसबेले गाञ्जालेजले आइतबार एक विज्ञप्ति निकाल्दै कथित विरोध प्रदर्शनका क्रममा राजदुतावासमा गरिएको ढुङ्गामुढा र राष्ट्रपति ते मोरालेसले राजीनामा गरिसकेपछि पनि भेनेजुयाली दूतावासमा गरिएको डाइनामाइट आक्रमणको निन्दा गर्नुभयो ।
क्युवाली र मेक्सिकाली राजदूतावासका पर्खालहरूमा भने धम्कीपूर्ण लेखोटका पोस्तर टाँस्ने र ढुङ्गामुढा गर्ने काम दक्षिणपन्थी प्रदर्शनकारीहरूले गरेका थिए ।
बोलिभियामा अब को हुनेछन्
बोलिभियाको संवैधानिक बन्दोबस्त अनुुसार राष्ट्रपति र उपराष्ट्रपतिले राजीनामा दिएका सिनेटका अध्यक्षले कार्यवाही राष्ट्रपतिको भूमिका निर्वाह गरी तीन महिनाभित्र राष्ट्रपतीय निर्वाचन गराउनुपर्ने प्रावधान छ । त्यँहाका दक्षिणपन्तीहरू, सेना र प्रहरी मिलेर सिनेटको अध्यक्ष अड्रियाना साल्भाटियरालाई पनि राजीनामा गर्न गराएपछि सिनेटका उपाध्यक्ष तथा विपक्षी नेतृत्व जियानिन एनेजले कार्यकारी राष्ट्रपति बन्ने दावी गरेकी छिन् ।
जियानिन एनेज राष्ट्रपति बने पनि तिनी नाम मात्रको राष्ट्रपति हुने र दक्षिणपन्थीहरूका शक्तिशाली नेता लुइस कामाचो नै हर्ताकर्ता हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *