भर्खरै :

कति मिच्ने नेपाली भूमि ?

– गौरव प्रधान
राजतन्त्र अन्त्य भयो भनी पुँजीवादी सिंहासनमा रमेर ऐय्यासी जीवन बिताउने काम कुनै कम्युनिस्ट नेता र मन्त्रीहरूलाई सुहाउँदैन । कम्युनिस्टको सिद्धान्त र विचार निलेर सरकारको नेतृत्व गरिरहन सक्छ तर यसले कम्युनिस्ट पार्टी सुदृढ हुँदैन, कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । सरकारको नेतृत्व गरिरहेको दल साँच्चै कम्युनिस्ट पार्टी हो भने दलका नेताहरू विशाल हृदयको हुनुपर्छ, इमानदार हुनुपर्छ । आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नुपर्छ । व्यक्तिको भन्दा देश, जनता र पार्टीको चिन्ता लिनुपर्छ । किनभने कम्युनिस्टहरू सबभन्दा दूरदर्शी हुन्छन्, त्यागी र दृढ हुन्छन् । उनीहरूमा उँचो भावना हुनुपर्छ, सिद्धान्त, विचार र उद्देश्यप्रति दृढ हुनुपर्छ ।
कम्युनिस्टहरू शत्रु र ठूलो शक्तिको अगाडि झुक्दैनन्, दास प्रवृत्तिको विरोध गर्छन् । उनीहरू अन्धविश्वास, कुरीति, कुप्रथाको विरोधी हुन्छन् । आफूलाई जतिसुकै ठूला कम्युनिस्ट पार्टी, वामपन्थी र प्रगतिशील भने तापनि कम्युनिस्टको सानो गुण र आचरण छैन या दृष्टिकोण र व्यवहार पुँजीवादी ढङ्गको छ भने नेपाली जनताले कम्युनिस्ट पार्टी हो भनेर कसरी विश्वास गर्ने ? भविष्यप्रति सचेत रहनु हरेक कम्युनिस्ट पार्टी र दलका नेताहरूको जिम्मेवारी हो । सरकारको नेतृत्व गर्नुको अर्थ राजसिंहासनमा बस्नुमात्र होइन, देशको नेतृत्व गर्नु हो । अरु कुनै देशबाट थिचोमिचो, अतिक्रमण गर्न नदिनु हो, कुनै देशको दबाबमा रहेर उठबस गर्नु होइन, थिचोमिचो, अतिक्रमण र दबाब सहनु होइन ।
नेपालीहरूको जगमा उभेको भनिएको सरकार भारतदेखि किन डराउँछ ? भारतले जस्तो अन्याय गरे पनि किन सहेर बस्छ ? शत्रुसामु झुक्ने, विदेशी शक्तिराष्ट्रको पछि दगुर्ने र नेपाल र नेपालीमाथि भइरहेको हस्तक्षेपको विरोध गर्न नसक्ने सरकार के दुर्वल सरकार होइन ? भाषण गर्न जान्नु नै नेतृत्व होइन न बनावटी गम्भीरता नै ज्ञानको सागर हो । भारतीय प्रधानमन्त्री मोदीले ऋषिमनको कुरा गरे, नेपाली शासक र नेताहरूलाई अर्ती र उपदेश दिए । ऋषिमनका धनी, अर्ती र उपदेश दिने नेता मोदी नेपाली भूमि मिचेर किन पापी बनेका हुन् ? के भारतीय शासकहरू नेपाली भूमि नमिचिकन सन्तुष्ट हुँदैनन् ?
नेपाली भूमि कति मिच्ने ? नेपाली भूमि मिचेरै अघाउने ? भारत छिमेकी र असल देश हो भने भारतीय पक्षले बिनासर्त हालसम्म मिचेको नेपाली भूमि फिर्ता दिनुपर्छ । नाकाबन्दी गरेर बदनाम कमाएको, नेपाली जनताको विरोध खेपेको मोदी सरकारले नेपाली भूमि भारतमा गाभेको नयाँ नक्सा बनाएर फेरि भारत आम नेपाली जनताको तारो बनेको छ । यसरी भारतीय शासकहरू नेपाल र नेपाली जनताको नजरमा शत्रुझैँ बनेका छन् । नेपाल–भारतको सीमा विवाद टुङ्ग्याउन नेपाल सरकारको सक्रियतासँगै भारत सरकारको पनि ठूलो हात हुन्छ । यसबारे भारत सरकार थप जिम्मेवार बन्नुपर्छ र नेपाल र भारतको मित्रता अझ प्रगाढ बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *