भर्खरै :

नेपाली भूमि भन्न किन डर ?

– दानबहादुर कपाली
भारतले मिचेको नेपाली भूमि नेपालकै बनाउन देशका राजनीतिक दलहरू सङ्घर्षरत छन् । सबै राजनीतिक दलले नेपाली भूमि कायम गर्न र गराउन सरकारलाई सहयोग गर्ने बताएका छन् । नेपाली भूमि नेपालको बनाउन अविलम्ब गर्न नहुने र शीघ्रातिशीघ्र उच्चस्तरीय तहबाट समस्या समाधान गर्न सरकार अघि सर्नुपर्ने राजनीतिक दलका नेताहरूको सुझाव हो । यसबारे भारत वार्ता वार्ता भन्दै पन्छिन सक्छ । वार्तामार्फत निकास खोज्ने भनेर ढिलाइ गरेर भइरहेको आन्दोलनलाई शिथिल बनाउने प्रयास गर्न सकिन्छ । नेपाली भूमि नेपालको नभएसम्म आन्दोलन गरिरहनुपर्छ । आन्दोलन देशव्यापी बनाउनुपर्छ । एकातिर यसले नेपाल सरकारलाई सहयोग गर्छ, प्रक्रियाअघि बढाउन टेवा पुग्छ भने अर्कोतिर भारतलाई दबाब पर्छ ।
वार्ता या कूटनीतिक प्रयास समाधानको पहिलो उपाय हो । तर वार्ता गरेर समस्या समाधान भएन या मिचेको भूमि भारतकै हो भनी भारतीय पक्षले दाबी ग¥यो भने के गर्ने ? कूटनीतिक उपाय सफल भएन भने समाधानको दोस्रो उपाय भनेको देशभर आन्दोलन गर्नु हो, आन्दोलन चर्काउनु हो । जिल्ला–जिल्लामा आन्दोलन चर्काएर भारतलाई दबाब दिनुपर्छ, भारत सरकारविरुद्ध ढ्याङ्गो ठोक्नुपर्छ । नेपाली जनताको आन्दोलनलाई भारत सरकारले बेवास्ता ग¥यो या भारतले आफ्नो अडान छोडेन भने नेपाली भूमिको जग्गालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा राख्नुपर्छ । एकातिर आन्दोलनमार्फत देश जोगाउने अभियान थाल्नुपर्छ भने अर्कोतिर सरकारले प्राविधिक प्रक्रियालाई पनि अघि बढाउनुपर्छ । राष्ट्रिय सहमति बनेको र आम नेपाली जनताले साथ दिइरहेको बेला सरकार कानमा तेल हालेर बस्यो भने भारतको मिचाहा प्रवृत्ति रोकिने छैन । यस कार्यमा अब सरकार चुक्नु हुँदैन । सरकारले कुरोमात्र होइन काम नै अघि बढाउनुपर्छ । भारतले नेपाली भूमि मिच्न पाउने अनि हामीले आफ्नो भूमि आफ्नो पनि भन्न नपाउने ! नेपाली भूमि मिचेको देश भारतलाई कुनै डर छैन, आफ्नो भूमि आफ्नै कायम गर्न हामीलाई किन डर ? संसारकै सबभन्दा बढी प्रजातान्त्रिक अभ्यास भएको देशले प्रजातन्त्रको खोल ओढेर नेपाली भूमि मिच्ने ? के भारतले नेपाली भूमि मिचेर आफूलाई प्रजातान्त्रिक र बहादुरी देश ठानेको हो ? के अरु देशको भूमि मिचेर देश ठूलो र शक्तिशाली बनाउने लालसा भारतीय सरकारको हो ? भारत किन मिचाहा देश बनिरहेको हो ? भारत र अमेरिकाको यस्तै थिचोमिचो, अतिक्रमण, दबाब, हस्तक्षेप, नाकाबन्दी, धाक धम्कीले ती दुई देशको संसारका न्यायप्रेमी जनता, देशभक्त दल र सरकारले विरोध गरिरहेका हुन् । बलियो र शक्तिको अभिमानी गरेर भारत र अमेरिकाले संसारका स्वतन्त्र र सार्वभौम मुलुकलाई दबाइरहेका छन्, कठपुतलीको व्यवहार गरिरहेका छन्, धाक र धम्की दिएर तर्साइरहेका छन् । ठूला र शक्तिशाली देशको धाक धम्कीविरुद्ध संसारका स्वाधीन र सार्वभौम देशहरू एकजुट हुनुपर्छ र थिचोमिचो गर्ने देशहरूको विरोध गर्नुपर्छ, विश्वका जनताबीच उदाङ्ग्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *