भर्खरै :

बोलिभियामा प्रजातन्त्रविरुद्ध दक्षिणपन्थीहरू

दक्षिण अमेरिकी देश बोलिभियामा त्यहाँका दक्षिणपन्थी राजनीतिक शक्तिहरूले संरा अमेरिकाको साथ र समर्थन तथा त्यहाँको सेना र प्रहरीको दबाबमार्फत जननिर्वाचित वामपन्थी राष्ट्रपति ते मोरालेसलाई राजीनामा गर्न लगाए । अक्टोबर २० तारिखमा भएको देशको राष्ट्रपतीय र संसदीय निर्वाचनको नतिजा अस्वीकार गर्दै देशमा हिंसा मच्चाइरहेका विपक्षी दक्षिणपन्थी राजनीतिक शक्तिहरूको समर्थनमा बोलिभियाली सेना प्रमुख र प्रहरी प्रमुखले देशमा शान्ति कायम गर्ने र थप हिंसा हुन नदिन भन्दै आइतबार साँझ राष्ट्रपति ते मोरालेसलाई राजीनामा गर्न दबाब दिएका थिए । त्यसो त सन् २०१४ मा भएको निर्वाचनको म्यान्डेटअनुसार ते मोरालेस २०२० जनवरीसम्म राष्ट्रपति रहन पाउँछन् तर जनमतको म्यान्डेटलाई पूर्णतया उपेक्षा गरिएको छ । निर्वाचनको नतिजा स्वीकार नगरी देशव्यापी हिंसात्मक प्रदर्शन जारी राखेका दक्षिणपन्थीहरूको पक्षमा देशको सेना र प्रहरी खुल्दै गएपछि त्यहाँको राजनीतिक स्थिति फेरिएको हो । अक्टोबर २० मा भएको राष्ट्रिय निर्वाचनमा समाजवादी आन्दोलन पार्टी (एमएएस) र राष्ट्रपति मोरालेस निर्वाचित भएका थिए । निर्वाचनमा धाँधली भएको ओएएसको प्रतिवेदन सत्ता विप्लवका निम्ति सिर्जिएको बहानामात्र हो ।
दक्षिपन्थीहरूको समर्थनमा पुगेका बोलिभियाली सेना र प्रहरीको दबाब बेवास्ता गरी मोरालेस अगाडि बढेका भए त्यहाँ ठूलो रक्तपात र गृहयुद्ध हुनसक्थ्यो । मोरालेसको शासनकालमा दक्षिण अमेरिकी महादेशमै सबैभन्दा तीव्र आर्थिक वृद्धिद्धर कायम गरेको र विकासका असङ्ख्य पूर्वाधार निर्माण गरेको गरिब देश बोलिभिया गृहयुद्धको आगोमा ध्वस्त हुनपुग्थ्यो । त्यसैले देशमा शान्ति कायम गर्नका लागि राष्ट्रपति मोरालेसले त्यागको उदाहरण प्रस्तुत गर्दै राजीनामा घोषणा गरे । उनले देशमा उत्पन्न हिंसात्मक तनाव मत्थर पार्न र गृहयुद्धको सम्भावना टार्न राजीनामा गरेको बताएका थिए । मोरालेसले अगाडि भनेका थिए, “कार्लोस मेसा र लुइस कामाचोले हाम्रा हजारौँ दाजुभाइ–दिदी बहिनीहरूमाथि आक्रमण गर्न र हानी पु¥याउन बन्द गरोस् भन्ने ध्येयले मैले आफ्नो पदबाट राजीनामा गरेको छु । शान्तिप्रतिको मेरो प्रतिबद्धता छ र अर्को बाटो अपनाएमा बोलिभियाली जनताको ठूलो धनजन नोक्सान हुने तथ्यमा हामी अवगत छौँ । त्यसैले आफ्नो राजीनामा पत्र बोलिभियाको बहुराष्ट्रिय राष्ट्रिय सभा (संसद्) मा पठाएको छु ।”
प्रतिक्रियावादी पश्चिमा सञ्चारमाध्यमले मोरालेसको राजीनामा या सत्ता बहिर्गमनलाई लाचारीको रूपमा प्रस्तुत गरे, जुन यथार्थ होइन । मोरालेसले आफ्नो सम्बोधनमा भनेका छन्, “हामी अझै बलियो भई फर्कनेछौँ र हामी टुपाक अमारु दोस्रोजस्तै दसौँ लाखको सङ्ख्यामा हुनेछौँ।’’ जनमतकै आधारमा सत्तामा पुगेका राष्ट्रपति मोरालेसले विपक्षी पार्टीहरूसित वातामार्फत समस्या समाधान गर्न पटक – पटक आह्वान नगरेका होइनन् । उनले अमेरिकी राज्य सङ्गठन–ओएएसको सिफारिसबमोजिम नयाँ निर्वाचन घोषणा पनि गरेका थिए । निर्वाचन वा जनमतभन्दा दोस्रो बाटोबाटै सत्ता कब्जाको निर्णयमा पुगिसकेका त्यहाँका कुलीन वर्ग र दक्षिणपन्थीहरूले जननिर्वाचित राष्ट्रपतिको आह्वान सुन्ने कुरै भएन । सन् २००५ को निर्वाचनदेखि निरन्तर निर्वाचन जितेर देश र जनताको अधिकतम हितमा काम गर्दै आएका मोरालेसलाई निर्वाचनमार्फत पराजित गर्ने साहस तिनीहरूले गरेनन् । कुलीन वर्गको पकड रहेको देशको सेना र प्रहरीका उच्चपदाधिकारीहरूको साथमा तिनीहरूले पहिलो आदिवासी र गरिब परिवारबाट आएका राष्ट्रपति मोरालेसलाई कायरतापूर्वक सत्ताच्युत गरे । तिनीहरूले आफूलाई जनमत र प्रजातन्त्रको विरोधमा भएको प्रस्ट पारे । यसै प्रसङ्गमा दक्षिणपन्थी सैनिक विद्रोहको कडा शब्दमा निन्दा गर्दै ब्राजिलका पूर्वराष्ट्रपति एवम् लोकप्रिय मजदुर नेता लुइज इनासियो लुला दा सिल्भाले सटीक टिप्पणी गरेका छन्, “यो दुर्भाग्यपूर्ण छ कि ल्याटिन अमेरिकाका धनाढ्य कुलीन वर्गलाई प्रजातन्त्रसँगै कसरी बाँच्ने र गरिबहरूलाई सामाजिक समावेशिता कसरी गर्ने भन्ने थाहै छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *