भर्खरै :

लुटतन्त्रको जड शासकहरू स्वयम्

हामीमध्ये धेरैले एउटा ऐतिहासिक कथा पढेका छौँ – प्राचीन भारतको मगढ राज्यमा नन्द वंशको पतनपछि आचार्य विष्णु गुप्त चाणक्यले आफ्ना शिष्य चन्द्र गुप्तलाई मगढको सम्राट बनाए र आफै महाअमात्य अर्थात् प्रधानमन्त्री बने । त्यसैबेला नेपाल हुँदै भारत पुगेका चिनियाँ यात्री फा सियान मगढका प्रधानमन्त्रीसित भेट्न पुगे । महाअमात्य चाणक्य दिनभर राजकीय काममा व्यस्त हुने र फा सियान राज्यसँग सम्बन्धित नभएकाले साँझमात्र भेट्ने तय भयो । जब फा सियान आफ्ना द्वेभाषेहरूका साथ महाअमात्य चाणक्यलाई भेट्न उनको झुपडीमा पुगे, चाणक्यले आफूले हेर्दै गरेका कागजातहरू पोको पारे साथै अर्को दियो बालेर बलिरहेको दियो निभाए । फा सियानले जब त्यसबारे जिज्ञासा राखे चाणक्यको जवाफ थियो, “अघिसम्म म राजाको काम गरिरहेको थिएँ, त्यसैले राज्यले दिएको तेलले बल्ने दियो बालेँ । अहिले म आफ्नै एक मित्रसित भेट गर्दै छु, त्यसैले मैले आफ्नै खर्चले किनिएको तेलले बल्ने दियो बालेको हुँ ।” राज्यका कुनै पनि जिम्मेवार अधिकारीले राज्यको सम्पत्ति र स्रोतको दुरुपयोग गर्नुहुँदैन । यदि कुनै राज्यमा राज्यको सम्पत्ति र स्रोतको दुरुपयोग हुन्छ भने ढिलो या चाँडो त्यस राज्यको पतन अवश्यम्भावी छ ।
हाम्रो देशका राजनीतिज्ञ र उच्चपदस्थ कर्मचारी चाणक्य नपढेका थोरै नै होलान् । तर, चाणक्यबाट राम्रो शिक्षा लिइएको देखिंदैन । हिजो–आज हरेक दिनजसो उच्चपदस्थहरूले आवश्यकताभन्दा बढी सुविधा लिएका समाचार आइरहेका छन् । एक जना मन्त्रीले ५–६ वटासम्म गाडी फेरीफेरी चढ्ने गरेको सुन्छौँ । आफूले मात्र नचढी आफ्नो परिवारका सदस्यहरू, स्वकीय सचिव र आफन्तलाई समेत सरकारी गाडी उपलब्ध गराएको समाचार आए । त्यस्तै कुनै बेला राज्यको सुविधा चाहिँदैन भनी साइकल चढेका एक मन्त्रीले समेत ३–४ वटा गाडी चढिरहेको समाचार आएकै हो । बहालवाला मन्त्री र उच्चपदस्थ त बहालवाला नै भए पूर्व भइसकेका मन्त्री र उच्चपदस्थहरूले आफूले चढेका विलासितापूर्ण गाडी वर्षौंसम्म फर्काउने नगरेको पनि देखेका र सुनेका छौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूले समेत अदालतको गाडी फिर्ता नगरेको भनी तस्बिरसहित समाचार छापिएकै हुन् । त्यस्तै नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूले पारिवारिक जमघटहरूमा पुग्न र साथीभाइसँग पिकनिक मनाउन जानसमेत सरकारी गाडी प्रयोग गरेका समाचार पनि पटक–पटक आएका थिए । अहिले तीनै कर्मचारीहरू आफ्नो जागिरको समयपछि विभिन्न इन्स्टिच्युटले चलाएका लोकसेवा आयोगको परीक्षाको तयारी कक्षा लिन पनि सरकारी गाडीमा जाने गरेको खबर छ । खबर हल्ला होइन सत्य नै हो । सरकारी सम्पत्तिको दुरुपयोगको अरू उदाहरण खोज्दै हिँड्न आवश्यक लाग्दैन ।
सवारीजस्तो देखिने वस्तुको यति चरम दुरुपयोग भइरहेको स्थितिमा अरु सरकारी सम्पत्तिको दुरुपयोग नभएको होला भन्न सकिन्न । मन्त्रालय, विभाग, निर्देशनालय, कार्यालयका लागि किनिएका साधन कुन–कुन हाकिमका निवास र निजी निवासमा पुगिरहेका छन् सोधखोज गर्ने सायदै कोही होला । सरकारी सम्पतिको संरक्षण र सदुपयोग गर्ने दायित्व जिम्मेवारी स्वयम् सरकारी कर्मचारीहरूको हो । तिनीहरूलाई ऐन, नियम र अनुशासनमा राख्ने जिम्मेवारी सम्बन्धित विभागीय मन्त्रीहरूको हो र मन्त्रीहरूलाई अदबमा राख्ने जिम्मेवारी प्रधानमन्त्रीको हो । जब प्रधानमन्त्री स्वयम् आफ्नो व्यक्तिगत सुविधाका लागि जति पनि राज्यकोष खर्च गर्छन्, खर्चमा सीमा राख्दैनन् उनले मन्त्री र कर्मचारीहरूलाई अदब र अनुशासनमा राख्न सक्दैनन् । मन्त्रीहरू स्वयम् पाएको अवसरमा सकेसम्म बढी सुविधा कुम्ल्याउनुपर्छ भन्ने मानसिकता प्रदर्शन गर्छन्, उनीहरू मातहतका कर्मचारीलाई नियम र अनुशासनमा राख्ने सामथ्र्य गुमाउँछन् । आजको देशको भताभुङ्ग अवस्था र लुटतन्त्र चलिरहनुको जड शासकहरू स्वयम् हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *