भर्खरै :

आखिर भारतको नियत के !

गौरव प्रधान
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो, यसमा कुनै दुविधा छैन । यसमा आम नेपाली जनताको मतैक्य छ । तर, ती नेपाली भूमि किन भारतको अधीनमा रह्यो ? नेपाली भूमिमा भारतको हस्तक्षेप किन भयो ? के नेपालमा सरकार छैन ? नेपाली भूमि मिचेकोे लामो दसकसम्म पनि नेपाल सरकार के गरेर बस्यो ? सरकारको नेतृत्व गर्ने दलहरू किन निदाएर बसे ? भारतले जग्गा मिच्यो भनेर दोषमात्र केलाउने कि फिर्ता पनि लिने ? फिर्ता लिन सत्तारुढ दलका नेताहरू किन चुके ? नेपाली भूमि मिचे पनि नदेख्ने गरी बस्ने, थाहा भएर पनि मौन रहने, भूमि मिचेको कुरा उठाए सरकार छोड्नुपर्ला, सरकारको आयु घट्ला भनेर डराउने हालसम्मका सत्तासीन दल र दलका नेताहरू नै यसका दोषी हुन् ।
सत्तासीन दलका नेताहरू देश र जनताप्रति समर्पित नहुँदा, देशको नेतृत्व जिम्मेवारीपूर्वक नसम्हाल्दा नेपाल अरू देशको परेड मैदान भयो, भइरहेको छ । नेपाली भूमि अतिक्रमण भयो, फेरि अतिक्रमण हुन बेर लाग्दैन । यसमा नेपाल सरकारहरूको कमजोरी छ । अब विगतका कमजोरीमात्र औँल्याएर नेपाली जनताले सन्तोषको सास फेर्ने ठाउँ छैन । नेपाल सरकारको कमजोरीमा भारतले टाउको उठाएर नेपाली भूमि मिचेकोमा शङ्का छैन । नेपाली भूमि मिचेर आफ्नो बनाउन खोज्ने भारतीय सरकार झन् दोषी छ । अरू देशको जग्गा मिचेर अघाउने भारत विस्तारवादी देश हो । नेपाल मजदुर किसान पार्टीले भारतीय शासकहरूलाई त्यसै विस्तारवादी देश भनेको होइन ।
भारतले नेपालमा दसकौँदेखि थिचोमिचो गर्दै आएको घामझैँ छर्लङ्ग छ । भारतले नेपालको कुन क्षेत्रमा हस्तक्षेप गरेको छैन । नेपाली भूमि मिच्न पछि नपर्ने विस्तारवादी देश भारतले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको छ । सीमा अतिक्रमण, बाँध र तटबन्ध बनाएर नेपाली भूमि डुवानमा पार्ने, सीमा स्तम्भ सारेर नेपाली जनतालाई खेद्ने काम भारतीय पक्षले गरिरहेको छ । यसरी नै भारतले सुस्तामा अतिक्रमण गरेकै हो । असमान सन्धि गरेर नेपालको नदी नाला आफ्नो अधीनमा लिएकै हो । वर्षामा पानी थुनेर नेपाली भूमि डुवानमा पार्ने र सुख्खा मौसममा पानी सबै भारतमा लगेर नेपाली भूमि उजाड बनाउने र भारतीय भूमि हराभरा बनाउने काम भारतले गरिरहेकै हो । यसरी नेपालको छिमेकी देश भएर पनि भारतले शत्रुको जस्तो व्यवहार गरिरहेको छ ।
नेपाल र नेपालीको भन्दा भारतलाई पोस्ने, भारतको हितमा अनेक असमान सन्धि गर्नेमा नेका अगाडि छ । नेपालका नदी नालाहरू भारतलाई दिने, सरकारी संस्थान तथा कलकारखानाहरू निजीकरण गर्ने काम सुरुमा नेकाले नै गरेको हो । भारतीय सरकारले अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारतसीमामा बाँध तथा तटबन्ध बनाएको हो । नेपालसँग सस्तोमा बिजुली किनेर नेपालीलाई महँगोमा बेच्ने भारत नै हो । भारतले भनेजस्तो नेपालमा संविधान बनाएन भनेर संविधान सच्याउन दबाब दिने र आर्थिक नाकाबन्दी गर्ने देश भारत नै हो । एक मधेस एक प्रदेश बनाउन मधेसी दललाई उचाल्ने, आन्दोलित बनाउने काममा भारतीय राज दूतावासको हात थियो ।
भारतीय काली बाबाहरू नेपालमा देवालय, शिवालय र मूर्तिहरू बनाएर नेपाली भूमि कब्जा गरिरहेका छन् । कहिले त्रिशुल बाबा छिर्छन्, शिरमा त्रिशुल राखेर मन्त्र फुकेपछि सबै रोग निको हुन्छन् भनी सोझासीधा नेपालीसँग हजारौँ लाखौँ रकम असुल्छन् । कहिले जोगी बाबा त कहिले चटके भएर नेपाल छिर्छन् र धन कमाएर बाहिरिन्छन् । कहिले उद्योगी, व्यवसायी बनेर, त कहिले कामदार बनेर गुप्तचरको काम गर्छन् भने कहिले धार्मिक प्रवचन दिएर अकुत सम्पति असुल्छन् । भारत सरकार या भारतीय पक्षले नेपाललाई कमाउ खाने धन्दा बनाइरहेको छ । यसरी नेपालको राजनीति र वस्तुस्थिति बुझ्न भारतले भूमिका खेलिरहेको छ ।
नेपालको लागि आवश्यक पर्ने हातहतियार भारतसँगै लिनुपर्ने कस्तो व्यवस्था ! भारतसँगै पेट्रोलियम पदार्थ लिनुपर्ने बाध्यता किन ! अरूसँग लिए, लिने प्रयास गरे नसहने भारत । नसहनेमात्र होइन, आर्थिक नाकाबन्दी गर्न पछि नपर्ने या सामान रोक्ने । भारतकै सामान लिनुपर्ने, भारतकै दबाबमा बस्नुपर्ने, भारतकै उठवसमा रहेर सरकार चलाउनुपर्ने । के यो नेपाललाई कठपुतली बनाइरहने षड्यन्त्र होइन ? नेपालको अन्तर्राष्ट्रिय विमानमा समेत आफ्नो सेना राखेर गुप्तचरी गर्ने काममा भारत अघि स¥यो । हुँदा–हुँदा भारतीय उद्योगीहरू नेपालमा पत्रिका प्रकाशन गरेर नेपालको राजनीतिमा छिरेका छन् । पत्रिकामार्फत भारतीय पक्षको गुणगान गर्न र नेपालको विरोध गर्न भारतीय व्यवसायीहरू हौसिएका छन् ।
भारतकै कारण नेपालमा सार्क सम्मेलन हुन गइरहेको छैन । बिम्स्टेक सम्मेलन गर्न भ्याएको भारतले सार्क सम्मेलन गर्न किन विलम्ब ! सार्क सम्मेलन गर्न भारत हौसिनुपर्दैन ? नेपाल सरकार पनि भारतदेखि किन डराउँछ ? सार्क सम्मेलन सुरु गर्न नेपालले भारत सरकारलाई किन चित्त बुझाउने प्रयास गर्दैन ? सार्क सम्मेलन गर्न भारतलाई केले छेक्यो ? भारत र पाकिस्तानबीचको मित्रताको सम्बन्ध बिग्रँदैमा भारतले सार्क सम्मेलन रोक्न मिल्छ ? के मुलुकका देशहरूमा आन्तरिक गृहकलह चर्किरहेको छ ? विद्रोह भइरहेको छ ? सार्क देशको एउटा मुलुकले अर्को मुलुकमा आक्रमण गरिरहेको छ ? कुनै देशहरूबीच गृहयुद्ध भइरहेको छैन, आन्तरिक द्वन्द्व भइरहेको छैन भने सार्क सम्मेलन गर्न किन विलम्ब ! त्यसमा भारत किन मौन !
भारत नेपालको भूमिलाई साँगुरो बनाउन चाहन्छ । भारत नेपालमा छिरेर भारतीयहरूको सङ्ख्या बढाउन चाहन्छ । भारतीय शासकहरू नेपाली नागरिक भएर नेपालमा नेपालीहरूलाई अल्पमत बनाउन चाहन्छन् । नेपालमा भारतीय नागरिकहरू गाविस अध्यक्ष, नगर प्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र मन्त्री बनेर नेपालीमाथि रजाइँ गर्न चाहन्छन् । नेपालको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, जलस्रोत, उद्योग र विकासको क्षेत्रमा मात्र होइन राजनीतिक क्षेत्रमा पनि हस्तक्षेप गरेर आफ्नो रवाफ देखाउन चाहन्छन् । नेपाल र नेपालीको स्वाभीमानमा हस्तक्षेप गरेर दबाब दिन चाहन्छन् । भारतीय शासकहरू नेपालको स्वाधीनता र सार्वभौम स्वीकार्दैनन् । स्वाधीनता र सार्वभौम मुलुकमा हस्तक्षेप गरेर कठपुतली बनाउन खोज्छन् । यसरी नेपालमा भारतको हैकम चलिरहेको छ । भारतीय एकाधिकार पुँजीको चलखेल भइरहेको छ । के यो भारतको हस्तक्षेप होइन ? नेपालले भारतको यस्तो हस्तक्षेप कहिलेसम्म सहेर बस्ने ? के नेपाल र नेपाली जनताले जहिल्यै भारतको हस्तक्षेप सहेर बस्ने ?
नेपाललाई भारत आत्मनिर्भर बनाउन चाहँदैन । नेपाल परनिर्भर रहेसम्म भारतले नेपाललाई खेलाइरहन पाउँछ । नेपाल सरकार पनि देशलाई आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिँदैन । आत्मनिर्भर बनाउने कुनै योजना ल्याइँदैन, पूर्वाभ्यास गरिंदैन । अब नेपाल सरकार र नेपाली जनता भारतको थिचोमिचोविरुद्ध उभिनुपर्छ । नेपाल सरकारले नेपालको स्वाधीनता र सार्वभौम मुलुकको परिचय दिनुपर्छ । आफ्नो दल र दलको सरकारलाई ठूलो, शक्तिशाली र दुईतिहाइ प्राप्त सरकार भनेर नाक फुलाउने होइन । नाक फुलाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा परिचय दिने होइन । ठूलो दल र शक्तिशाली सरकारले काम गरेर देखाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *