युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोशमा राजनीतिको अर्थ प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने र यस्तै अन्य कार्य गर्ने नीति, राज्यको शासन व्यवस्थासम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली र राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त लेखिएको छ । राजनीतिको परिभाषा धेरैले धेरै किसिमबाट गरेका छन् । आदर्श, दर्र्शन र सिद्धान्तको भिन्नताको आधारमा राजनीतिको परिभाषा र व्यवहार पनि फरक–फरक हुनु अस्वाभाविक भएन । तर, राजनीतिलाई आ–आफ्नो दर्शन र सिद्धान्तको आधारमा आदर्श समाज निर्माण गर्ने कार्य वा अभियान भन्दा असहमत हुने सायदै होलान् ।
राजनीतिमा वर्गीय र सामाजिक स्वार्थभन्दा व्यक्तिगत, गुटगत र दलगत स्वार्थले प्रधानता पाउन थाल्दा आदर्श, दर्शन र सिद्धान्त एकातिर पन्छाइएको छ र राजनीतिमा अपराधीकरण भएको छ । राजनीतिलाई अपराधीकरण गर्नेहरूले पद वा जिम्मेवारीमा पुग्नकै लागि सुरूमा अपराध र आपराधिक व्यक्तिहरूको साथ लिने गर्दछ । पद वा जिम्मेवारीमा पुगेपछि अपराध कर्महरूमाथि ढाकछोप गर्ने र अपराधीहरूलाई जोगाउन राजनीतिक संरक्षण गर्ने र कानुनी दाउपेच चलाउने गर्दछन् । त्यस्ता राजनीतिकर्मीहरू हदैसम्म अवसरवादी हुने गर्छन् र पद प्राप्तिका लागि गठबन्धन बनाउने र तोड्ने, कुनै राजनीतिक पार्टीमा प्रवेश गर्ने र त्याग्ने निर्णय क्षण–क्षणमा गर्न पछि पर्दैनन् । आदर्श, दर्शन र सिद्धान्तलाई भन्दा सत्ता र शक्ति प्राप्तिको खेल भइरहेको देशमा त्यस्ता राजनीतिकर्मीहरू अगाडि आउने सम्भावना प्रबल हुन्छ । नेपालमा २०४६ सालदेखि आजसम्मको राजनीतिक स्थिति यस्तै हो भन्दा धेरै फरक नपर्ला । त्यस अवधिमा सत्तामा पुगेका शासक दलहरू नेपाली काङ्ग्रेस, एमाले, राप्रपा, सदभावना, नेकपालगायत पार्टीले सत्ता र पदको अवसरवादी राजनीतिलाई बढावा दिँदा ती पार्टी स्वयम् पनि अवसरवादी र राजनीतिको अपराधीकरण गर्नेहरूको हातमा पुगे । ती शासक पार्टीहरू स्वयम् बदनाम भए । ती शासक पार्टीहरूले भ्रष्टाचारी र अपराधी नेता–कार्यकर्ताहरूलाई संरक्षणमात्र गरेनन्, भ्रष्टाचारी र अपराधी नेताहरू नै पार्टीको निर्णायकसम्म बन्न पुगे ।
दोस्रो जनआन्दोलन वा २०६२/०६३ को आन्दोलन र राजनीतिक परिवर्तनपछि शासक दलहरूको प्रवृत्तिमा परिवर्तन आउने अपेक्षा न्यायप्रेमी जनताको थियो । तर, त्यसपछि सत्तामा पुगेका नयाँ र पुराना हरेक पार्टीहरूले पुरानै प्रवृत्तिलाई काखी च्यापे । फलतः परिवर्तित राजनीतिक व्यवस्थामा पनि राजनीतिमा अपराधीकरणको प्रवृत्ति कायमै रह्यो, झनै मौलायो । कोही कालाबजारिया, तस्कर, भ्रष्टाचारी वा हत्यारा पक्राउ पर्न पाएको हुँदैन, सिंहदरबारबाट फोन जान्छ – फलाना हाम्रो पार्टीको मानिस हो, उसलाई नपक्र, पक्रेको भए तुरून्त रिहा गर । कुन गुण्डानाइके कुन पार्टीको हो भनी ट्याग नै लागेको हुन्थ्यो र अझै छ । प्रहरीसितको मुठभेदमा कुनै गुण्डानाइके मरेमा वा घाइते भएमा शासक दलका शीर्ष नेताहरू नै वक्तव्यबाजीमा उत्रन्छन् । शासक दलका नेताहरूको त्यही कार्यले राजनीतिको अपराधीकरणमा बल मिल्यो । देश भ्रष्टाचारको दलदलमा भासियो । शासक दलका नेताहरू र मन्त्रीहरू अनियमितता र भ्रष्टाचारमा मात्र डुबेनन्, हत्या, बलात्कार, चेलिबेटी बेचबिखन र मानव तस्करीजस्तो जघन्य अपराधमा समेत संलग्न भएको देखिन थाले । शासक राजनीतिक दल भनेकै अपराधीलाई कानुनी कठघरामा पुग्नबाट जोगाउने दलाल वा अपराधी हुन र देखिन पुगे । यो अवस्था राजनीतिलाई आ–आँनो दर्शन र सिद्धान्तको आधारमा आदर्श समाज निर्माण गर्ने कार्य ठान्ने नेता कार्यकर्ता र जनतालाई स्वीकार्य छैन । के पटक–पटक सरकारमा पुगेका र सरकारमा रहिरहेका शासक दलहरू समय छँदै सच्चिन सक्छन् ?
Leave a Reply