भर्खरै :

जो चोर उसैको ठूलो स्वर

– विनय बस्नेत, भक्तपुर
देश उपनिर्वाचनको वातावरणमा प्रवेश गरेको छ । राजनीतिक दलहरू आ–आँना उम्मेदवार र राजनीतिक मुद्दाका साथ निर्वाचन प्रचारप्रसारमा जुटेका छन् । यसलाई स्वाभाविकरूपमा लिनैपर्छ । निर्वाचन वा चुनाव राजनीतिक प्रक्रिया भएकोले निर्वाचनमा राजनीतिक दलहरूले आ–आफ्नो दलको राजनीतिक दृष्टिकोण प्रस्ट रूपमा राख्नुपर्छ, त्यसमा बहस गर्नुपर्छ । आश्चर्यको कुरा अहिलेको सरकारमा रहेको पार्टी नेकपा र नेकांका नेता र उम्मेदवारहरू राजनीतिक दृष्टिकोण कम र प्रतिस्पर्धीहरूलाई असैद्धान्तिक हेलाहोचोमा बढी उत्रेका देखिन्छन् । दुई दलका नेताहरूले एकले अर्कोमाथि भोट किनेर जितेको तर यसपटक नजितिने भनी पोल खोलाखोल गरिरहेका छन् । सत्तासीन दलका एक नेताले त ‘निर्वाचनलाई प्रभावित पार्ने गरी कसैले पैसा वितरण गर्छ भन्ने त्यस्तो पैसा नियन्त्रणमा लिनु’ भनी कार्यकर्तालाई निर्देशनसम्म दिन भ्याए । विगतका निर्वाचनमा यिनै नेतामाथि गुन्दागर्दी गरेको र पैसाले मत किनेको आरोप लागेकै हो ।
विशेषगरी सरकारका गएका पार्टीहरूले नै पैसा, मोबाइल, रिचार्ज कार्ड, टर्चलाइट र भोजभत्तेर बाँडेको आरोप लागेको थियो र सप्रमाण पुष्टि भएको पनि थियो । यसपटकको उपनिर्वाचनमा पनि त्यस्तै गतिविधि गरेर निर्वाचन आचारसंहितालाई धोती लगाइदिने सोच र योजना तिनीहरूको छँदै होला । ती आरोप र प्रत्यारोप एक–अर्कालाई धम्की वा तिमीहरूले भन्दा बढी हामी आचारसंहिता मिच्नसक्छौंँ भन्ने दम्भ पनि होला । राजनीतिकरूपमा सचेत जनतालाई भने त्यस्ता अभिव्यक्ति चोरको ठूलो स्वरभन्दा अर्थोक लागेको छैन । तिनीहरूका ‘हामी विकास गर्छौँ र ल्याउँछौँ’ भन्ने अभिव्यक्ति र प्रचार पनि ‘देशको राज्यकोष लुट्ने अधिकार हामीलाई मात्र छ’ भन्ने खुला स्वीकारोक्तिभन्दा बढी लाग्दैन । बाँकी कुरा मतदाताहरूको स्वविवेकमा भरपर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *