भर्खरै :

जातीय असमानता अमेरिकी समाजको एउटा काँडा

चाङ मेङसु (Zhang Mengxu)
संरा अमेरिकी थिङ्क ट्याङ्क – सेन्टर फर अमेरिकन प्रोग्रेसले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विगत ३० वर्षमा सबैभन्दा राम्रो अवस्था सन् १९९८ मा देखापरेको थियो, जब औसतमा कालाहरूको सम्पत्ति गोराहरूको सम्पत्तिको ६ भागको १ भागसित बराबर भएको थियो । उक्त प्रतिवेदनअनुसार सन् २००७ मा सुरु भएको आर्थिक मन्दीले पनि काला र गोराहरूको सम्पत्तिबीच रहेको असमानताको खाडल झन् बढाउँदै लगेको छ । सन् २०१६ मा कालाहरूको सम्पत्ति गोराको सम्पत्तिभन्दा तीव्र दरमा वृद्धि भए पनि औसतमा १० भागको एक भागभन्दा कमै छ ।
विभिन्न कारणले अफ्रिकी अमेरिकीहरू आर्थिक असुरक्षाको दृष्टिले बढी जोखिमयुक्त अवस्थामा छन् र त्यसैले उनीहरू सम्पत्तिविहीन अवस्थामा छन् । तिनीहरूसित स्थायी रोजगारीमा पहुँच कम छ, गोराहरूभन्दा बढी बेरोजगार छन् । त्यसैले उनीहरूसित जग्गाबहाल वा घरबहालबाट आम्दानीस्वरूप आउने पैसाको पनि निकै कमी छ । त्यसबाहेक कालाहरू गोराहरूभन्दा बढी चर्काे ब्याजदरको कर्जाबाट थिचिएका देखिन्छन् ।
त्यतिमात्र होइन, गोरा र काला अमेरिकीहरूबीचको खाडललाई सधैँजसो अमेरिकी सरकारका नीतिहरूले प्रत्यक्ष र परोक्षरूपमा पृष्ठपोषण गरेका छन् । प्रत्यक्ष वा परोक्षरूपमा अमेरिकी नीतिले काला अमेरिकीहरूविरुद्ध विभेद गरेको प्रतिवेदनले औँल्याएको छ । संरा अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्रका अनुसार काला जातिका आमा र शिशुहरूको उनीहरूका गोरा समकक्षीभन्दा तुलनै हुन नसक्ने गरी धेरै ठूलो अनुपातमा मृत्यु हुने गर्छ, चाहे तिनीहरूको आयस्तर जस्तोसुकै होस् । अनुसन्धानकर्ताहरूका अनुसार त्यसमा निकै कम अस्पतालसहित छुट्याइएका काला जाति बस्ते बस्तीहरू, दीर्घकालीन रोगहरूको उच्च दर र स्वास्थ्य उपचार सेवामा असमान पहुँच नै मुख्य कारण छन् ।
अहिले अमेरिकी समाजमा विभिन्न जातीय समूहबीच मतभेद र झडपहरू बढिरहेको देखिन्छ । सान बर्नाडिनोस्थित क्यालिफोर्निया राज्य विश्वविद्यालयको घृणा र अतिवाद अध्ययन केन्द्रको तथ्याङ्कअनुसार सन् २०१८ मा संरा अमेरिकाका ३० सहरमा गरिएको अध्ययनअनुसार घृणाजन्य अपराध प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि भइरहेका छन् । जातीय घृणाकै कारण विगतका महिनाहरूमा संरा अमेरिकाभरि कैयाँै बन्दुक आक्रमणका घटना भएका छन् । त्यसले अमेरिकी समाजमा गहिरो असजिलोको आभास उत्पन्न गरेको छ ।
संरा अमेरिकी साउथन पोवर्टी ल सेन्टरको यसै वर्ष सार्वजनिक एक प्रतिवेदनअनुसार सन् २०१८ सम्ममा घृणा गर्ने समूहका रूपमा सूचिकृत भएका समूहको सङ्ख्या १०२० पुगेको छ, जुन सन् २०१४ को तुलनामा ३० प्रतिशतले वृद्धि हो । गोरा जातिवादी समूहहरूको सङ्ख्या ५० प्रतिशतले बढेको छ ।
अमेरिकी जनसङ्ख्या विभागले गोरा अमेरिकीहरूको सङ्ख्या कुल जनसङ्ख्याको आधाभन्दा कम हुने अनुमान गरेको छ र उनीहरूको बहुमतको स्थिति गुम्दैछ । त्यसले गोरा जातिवादीहरूमाझ ठूलो डर र निराशा पैदा गरेको छ । त्यसैले हालसालै गोरा सर्वाेच्चतावादी र राष्ट्रवादी समूहहरूको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले कम्तीमा पनि तीनवटा राज्यहरूमा गोरा सर्वाेच्चतावादी सोच भएका गभर्नरहरू निर्वाचित गरिएका छन् ।
जातीय असमानता अमेरिकी समाजको दीर्घकालीन रोग हो । संयुक्त राष्ट्र सङ्घको जातीय भेदभाव उन्मूलन समितिको ९३ औँ बैठकको प्रतिवेदनअनुसार गोरा सर्वाेच्चता, जातीय भेदभाव र घृणामूलक अभिव्यक्तिमा वृद्धि संरा अमेरिकामा लामो समयावधिदेखि विद्यमान थियो । त्यस्तै संयुक्त राष्ट्र सङ्घको महासभा बैठकमा हालसालै पेश गरिएको राष्ट्र सङ्घीय विशेष प्रतिवेदनमा पनि संरा अमेरिकामा समसामयिकरूपको जातिवाद, जातीय विभेद, ठूलो जाति अहङ्कारवाद र त्यस्तै असहिष्णु प्रवृत्ति बढेको उल्लेख छ ।
सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयको अफ्रिकी–अमेरिकी अध्ययन विभागका निर्देशक जेराल्ड अर्लीका अनुसार अमेरिकी समाजमा लामो समयदेखि विद्यमान रहेका जातीय मुद्दाहरूले अमेरिकी राजनीतिक–आर्थिक प्रणालीको असक्षमता प्रदर्शित गरेको छ । रङ्गभेद र जातीय विभेदमाथि प्रतिबन्ध लगाइए पनि मानिसहरूको मथिङ्गलमा अझै जातीय पर्खाल झुण्डिरहेकै छ । कैयौँ सहरहरूमा तथाकथित गोरा समुदाय र अफ्रिकी–अमेरिकी समुदाय कायमै छन् । अफ्रिकी–अमेरिकी समुदाय भनेका जीर्ण घर र झोपडीहरूले भरिएका हुन्छन् र कम राजश्व आम्दानी भएको कारण तिनीहरूको स्थानीय सरकारहरूले सधैँ नै स्तरीय सार्वजनिक विद्यालय र अस्पतालहरू बनाउन सकेका हुँदैनन् । यी कुरा यहाँको कहिल्यै नटुङ्गिने चक्र बनेको छ ।
त्यसबाहेक संरा अमेरिकी राजनीतिक विश्वले पनि अतुलनीय विभाजनको अनुभव गर्दै छ । त्यसले कैयौँ ठूला विषयमा सहमतिमा पुग्ने र कार्यान्वयन गर्ने क्षमता गुमाइसकेको छ । एक्लैलाई जटिल चक्र तोड्ने जिम्मा दिइएको छ ।
हडसन इन्स्टिच्यूटका एक वरिष्ठ अनुसन्धानकर्ताका अनुसार अन्तहीन जातीय विभेद र घृणामा आधारित अपराधको वृद्धिले केही हदसम्म प्रजातन्त्र नै सङ्कटमा परेको देखाउँछ र विभाजन अमेरिकी राजनीतिको स्थायी चरित्र नै भइसकेको छ ।
हालैका दशकमा संरा अमेरिकी कङ्ग्रेसका विधेयकहरूले प्रशासनिक संस्थाहरूलाई व्यापक अधिकार प्रत्यायोजन गरेका छन् । कङ्ग्रेसले ती विधेयकहरू सामान्यतयाः हुन्छ वा हुँदैन भनी मतदानद्वारा पास वा फेल गर्छन् । ती विधेयकमाथि कुनै छलफल नै गरिँदैन, गर्न दिइँदैन । प्रशासनिक संस्थाहरू स्वार्थ समूहहरूले दुरुपयोग गरिएका हुन्छन् । कङ्ग्रेसले पारित गरेका कैयौँ कानुनहरू निश्चित स्वार्थ समूहका प्रभावमा आएका छन् र ती कानुन सर्वसाधारण जनताका नजरमा ‘खराब’ हुन् ।
राष्ट्रिय नीति निर्माणमा तथाकथित कुलीन वर्गको प्रभाव रहेकोले मध्यमवर्गीय जनतका मागहरूलाई कर्मचारीतन्त्रले बेवास्ता गर्दछ । त्यसको परिणामस्वरूप आक्रोशको आवाजका रूपमा हिंसा र विभेद उत्पन्न हुन्छ ।
(Racial inequality a sting in American Society.)
People’s Daliy, September 05, 2019
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *