भर्खरै :

भोलि नेपाल नै निल्न के बेर ?

– मेरिना शाक्य
भारतले नेपाली भूमि मिच्ने काम छोडेको छैन । नेपाल सरकारले मिचेको भूमि फिर्ता लिन सकेको छैन । नेपाली भूमि मिच्ने, थिच्ने र पेल्ने भारतको बल मिचाइविरुद्ध कुनै आवाज नउठाउने डरक्षेरुवा सरकारले नेपाललाई बचाउला कि नबचाउला ? चिन्ताको विषय बनेको छ । सुस्ता निलिसकेको भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक निल्न के बेर ! नेपाली भूमि मिच्दामिच्दै भारतको परराष्ट्र मन्त्रालयले नेपाली भूमि नमिचेको र नयाँ राजनीतिक नक्सामा नेपाली भूमि नरहेको प्रस्ट पारिसकेको छ । नकच्चरोलाई लाज हुँदैन भनेको यही हो । मिचेको भूमि आफ्नो ठाने भारत सरकारको विस्तावादी नीतिविरुद्ध आम नेपाली जनता जागरुक हुनुपर्छ, आन्दोलित हुनुपर्छ र नेपाली भूमि छोडाउने वातावरण तयार गर्नुपर्छ ।
भारतले नेपाललाई राम्रो दृष्टिले हेरेको देखिंदैन । भारतको थिचोमिचो, अतिक्रमण, दबाब र असमान सन्धिहरूलाई फर्केर हेर्दा कुनै दिन नेपाललाई भारतमा मिलाउँदैन भन्न सकिंदैन । नेपाल–भारत सीमा खुला भएको र संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देशको बीचमा परेको नेपालमा विदेशी नागरिकहरू नेपाल पसेर नेपाली नागरिक बन्दैन भनेर कसरी विश्वास गर्ने ? नेपाल–भारतबीचको असमान सन्धि, नेपाली भूमि अतिक्रमण सीमा स्तम्भ गायव पार्ने, सार्ने, सीमामा भारतको सेना तैनाथ, भारतीय एकाधिकारको पुँजी लगानी, सीमा क्षेत्रमा नेपाली जनताको उठिवास, आफ्नो भूमि बनाउन नेपाली नागरिकलाई भारतीय नागरिक बनाउने आदि भारतको गरिविधिले नेपाललाई आफ्नो कब्जामा लिने षड्यन्त्र गरिरहेको थाहा हुन्छ ।
एक मधेस एक प्रदेश नभए देश पनि नरहने चेतावनी, राजधानीमा आर्थिक नाकाबन्दी गर्ने मधेसी दलको धम्कीले पनि भारत र मधेसी दलको नियत ठीक नभएको थाहा हुन्छ । नेपाल जोगाउने हो भने शासक दल र ठूला दलका नेताहरू कुनै पनि विदेशी शक्ति राष्ट्रको दबाब र उठबसमा बस्नु हुँदैन । नेपाल सरकार कुनै एक देशको भरमा बस्नु हुँदैन । देशलाई आत्मनिर्भर बनाउन विभिन्न उद्योग र कल–कारखाना खोली जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न अघि सर्नुपर्छ । मिचिएका सबै नेपाली भूमि फिर्ता लिनुपर्छ । सीमा विवाद टुङ्ग्याएर छिमेकी देशसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्छ । देशका सबै राजनीतिक दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, कर्मचारी तथा जनता देशभक्त हुनुपर्छ । देशभक्त बनाउने अभियान छेड्नुपर्छ । देशको भूमि बचाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । आम जनताको एकताले नै भारत झुक्छ र झुकाउन एकत्रिट हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *