भर्खरै :

सीमा अतिक्रमणमा ‘राष्ट्रिय एकता’ आश्चर्य !

जोराल
मित्र भनिएको छिमेकी भारतले नेपाल र चीनसँग समेत सीमा जोडिएको भूभागको आफूखुसी अन्तर्राष्ट्रिय सीमासहितको ‘आन्तरिक’ नक्सा भएको कार्तिक १६ गते (नोभेम्बर १ तारिख) जारी ग¥यो । नेपालको दार्चुला जिल्लाको कालापानी, लिम्पियाधुरा, लिपुलेकसमेत भूभाग आफ्नो नक्सामा पारेर भारतले जानाजानी मित्रताको नाममा शत्रुतापूर्ण व्यवहार ग¥यो । नेपालको सार्वभौमिकता र अखण्डताको ठाडै अतिक्रमण गरेर विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक देश भनिएको भारतले बेलायती साम्राज्यवादको विरासतलाई जगजाहेर ग¥यो । भारतको यस विस्तारवादी नीति र व्यवहारले नेपालमा भारतविरोधीहरूलाई जबरजस्ती उक्साउने काम ग¥यो । परिणाम नेपालका थुप्रै जिल्लाहरू भारतविरोधी गगनभेदी नारा लगाउँदै जुलुस र सभा भयो । नेपाल मजदुर किसान पार्टीजस्तो भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिको विरोधीमात्र होइन भारतका मित्र भनिएका सत्ताधारी दल र प्रमुख प्रतिपक्षसमेत भारतीय अतिक्रमणको आलोचना र विरोध गर्न बाध्य भए । सारमा विस्तारवादी भारतले नेपालमा आफ्नो शत्रुको घेरा ठूलो बनाउने मूर्खता गरेको स्पष्ट दृष्टिगोचर भयो । त्यसैले कतिपयले सीमा अतिक्रमणको विरोधमा ‘राष्ट्रिय एकता’ भएको ठह¥याएका छन् । तर, पङ्क्तिकारलाई त्यो ‘राष्ट्रिय एकता’ स्वाभाविक हो या मौसमी ? खुल्दुली भएको छ
प्रत्येक सचेत नेपालीलाई थाहा छ, कम्युनिस्टको टे«डमार्क लगाएका पुँजीवादी पार्टीहरू, प्रजातन्त्रवादीको आवरण भिरेका सामन्तवादी पार्टीहरू र भारतको छत्रछायाँमा जन्मे–हुर्केका मधेसवादी दलहरू र तिनका नेताहरू भारत भनेपछि हुरुक्कै हुने गरेका छन् । यस्तो धरातलीय यथार्थमा भारतको विरोधमा एकमत हुनु आफैमा घोर आश्चर्य हो । तिनीहरू देशको सार्वभौमिकता र अखण्डताप्रतिको मायाले एक स्वर देखिएको होला ? धेरैले पत्याएका छैनन् ।
विगतमा राष्ट्रघातमा ‘राष्ट्रिय एकता’ गर्नेहरू, पद र सुविधाको भागबन्डाको लागि ‘राष्ट्रिय सहमति’ गर्नेहरू, आज देशको सार्वभौमिकता र अखण्डताको लागि एक ठाउँमा आउँदा आश्चर्य लाग्नु स्वाभाविक छ । के यो बिनलादेन, सद्दाम हुस्सेन, भिन्द्रानवालेको इतिहास दोहोरिएको हो ? हिजो साम्राज्यवादी अमेरिकाले लादेन र हुस्सेनलाई पुल्पुल्याएर र हुर्काएको थियो तर पछि तिनीहरू अमेरिकाकै सबभन्दा ठूलो शत्रु बन्यो र अन्ततः हत्या नै ग¥यो, गरायो । त्यस्तै भिन्द्रानवालेलाई इन्दिरा गान्धीले आफ्ना विरोधीहरूलाई तह लगाउन हुर्काएको थियो । तर पछि अमृतसरको गोल्डेन टेम्पलमा सैनिक हमला गरेपछि आफ्नै सिख अङ्गरक्षकहरूबाट मारिइन् । तिनीहरूले सुरुमा जे भए पनि पछि आफ्नो चेत र विवेकले कर्तव्यबोध गरे । के भारतलाई मालिक ठान्ने नेपालका कथित कम्युनिस्ट, पुँजीवादी र मधेसवादी दलहरूमा अहिले राष्ट्रिय चेत, सार्वभौमिकता र अखण्डताको महत्व, सच्चा नागरिकको विवेकबाट कर्तव्यबोध भएकै हो ? अथवा अर्काे राष्ट्रघात गर्न भारतसँग मोलमोलाइ गर्न नाटक गरिएको हो ? यस्तो आशङ्का गर्न हिजो उनीहरूले गरेको व्यवहारकै कारण बाध्य हुनुपरेको छ ।
धेरैलाई सम्झना हुनुपर्छ एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने एक माओवादी नेताले संरा अमेरिकालाई साम्राज्यवादी र भारतलाई विस्तारवादी भन्न सकेका थिएनन् । तर, अहिले नेकाको विद्यार्थी सङ्गठन, नेकपाका विद्यार्थी सङ्गठनले साम्राज्यवादी भारत, विस्तारवादी भारत भनी सडकमा नारा थन्काएका छन् । तिनीहरूको यो बहादुरी हो ! तर नेतृत्वले कान निमोठेपछि तिनीहरू कुन दुलामा लुक्ने हुन् अज्ञात छ । किनभने हिजो राष्ट्रघाती महाकाली सन्धिको विरोधमा पनि तिनीहरू जुर्मुराएका थिए, नेताहरूलाई कोठामा थुनेर ढोकामा ताल्चा लगाई दिएका थिए, कालापानी मार्च पनि गरेका थिए । तर, तिनै राष्ट्रघाती नेतृत्वसामु त्वंशरणम् गरेर आफ्नो चेत र विवेकलाई मौसमी सावित गरेको थियो । के अब गर्दैन भन्ने कुनै प्रत्याभूति छ ? त्यो आगामी दिनले प्रस्ट गर्ने छ ।
अहिलेको ‘राष्ट्रिय एकता’ देशको सार्वभौमिकता र अखण्डताको लागि दृढ इच्छाशक्ति जनित हो भने त्यो सराहनीय र स्तुत्य छ । यो समयको आवश्यकता हो । विवेकयुक्त सचेतनाको निम्ति साधुवाद ! यद्यपि मनको कुनै कुनामा एउटा शङ्का निवारण हुन सकेको छैन ।
यही मंसिरमा देशका विभिन्न भागमा उपचुनाव हुँदै छ । त्यसलाई लघु जनमतसङ्ग्रह भनेको पनि सनिन्छ । यस्तो परिवेशमा सत्ताधारी र प्रमुख प्रतिपक्षको त्यो ‘राष्ट्रिय एकता’ कतै मत सोहोर्ने छलछाम त होइन ? भारतीय विस्तारवाद र एकाधिकार पुँजीबाट आक्रान्त देशभक्त जनताको मनमस्तिष्कमा भ्रम फैलाउने कुचेष्टा नहोस् र नगरोस् सावधान !
अन्तमा घर डढेपछि कुवा खन्ने चेतलाई सद्बुछि र अवसर भन्न मिल्छ कि मिल्दैन ? पत्रपत्रिकामा भारतसँगको सीमा विवादहरू मिलाउने अवसर, मौका भनी नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले सीमा रेखाभित्र राखेपछि धेरैले बोलेको, लेखेको सुनिन्छ, पढ्न पाइन्छ । रगतले कोरिएको सीमा रेखाको सुरक्षा गर्नु सरकारको परम कर्तव्य हो । तर, अल्पमत, संयुक्त र दुईतिहाइका सरकारहरू आए–गए परन्तु सबै कर्तव्यच्युत भएको धरातलीय यथार्थ हो । भारतले देशको ७१ ठाउँमा ६० हजार एकड भूमि अतिक्रमण गरिराखेकोमा अहिले ३९५ वर्ग किलोमिटर भूमि हड्पेको छ । सुस्ता, हरिपुर, तिलाथीलगायत ७१ ठाउँमा अतिक्रमण भइरहँदा सिंहदरबारले नपाएको ‘अवसर’ के अहिले सदुपयोग गर्ने आशा गर्न सकिन्छ ? सके हिजोका सरकारहरूको नालायकी बिर्सन पाइन्थ्यो र दुईतिहाइको बहादुरी देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *