म भैल खः हुँ
- बैशाख ४, २०८३
दामोदर पुडासैनी “किशोर”
मान्छेलाई ‘निम्न’ र ईश्वरलाई ‘उच्च’ सावित गर्ने बहानामा बिगबिगी चलिरहेछ ठगहरूको ।
मानव समाजको विकासको क्रममा जीवन र जगत्को उत्पत्ति, विकास र रहस्यबारेमा आध्यात्मिक एवं भौतिक दुई दृष्टिकोणबाट विश्लेषण गर्ने गरिएको छ । ईश्वर र धर्मको बारेमा संसारमा असङ्ख्य साहित्य सिर्जना गरिएका छन् ।
आजको समय विज्ञानको युग हो । तर्क प्रयोग र प्रमाणको आधारमा विज्ञान अघि बढ्दछ । धर्म, ईश्वर र धार्मिक साहित्य विश्वासमा मात्र चलेको छ । धार्मिक साहित्य ईश्वर, स्वर्ग, नरक, पापपुण्य, दान आदि कुरामा टिकेको छ । त्यसमा न कुनै परीक्षण गर्न सकिन्छ न विज्ञानसम्मत प्रयोग सम्भव छ । विज्ञानको अभूतपूर्व प्रयोगस्वरूप कम्प्युटर, हवाईजहाज, विद्युत, यन्त्र यन्त्रादिहरूले संसारको स्वरूप नै फेरिइसकेको छ । मान्छेका सुख सुविधाहरू असीमित रूपमा बढिरहेछन् तर धर्मशास्त्रहरू अझै आदि युगका स्रोत साधनहरूमै सीमित छन् । ‘संसारमा सधैँभरि अवस्थाहरू फेरिंदै छन्, फेरिइरहन्छन् । आफ्नो विचारलाई नयाँ अवस्थासित अनुकूल हुने तुल्याउन अध्ययन गर्नैपर्छ, नयाँ कुरो बुझ्नुपर्छ र नयाँ समस्याहरूको अध्ययन गर्नुपर्छ । पुरानो संसारलाई नासेर मात्र पुग्दैन, नयाँ संसार बनाउन पनि हामीले सक्नुपर्छ । यसको लागि धार्मिक साहित्यहरू समयलाई डो¥याउनेभन्दा समयका अवरोधकका रूपमा हाम्रो सामु उभिएका छन् ।
आध्यात्मिक साहित्यले हाम्रा अवस्थाहरूसित सुहाउँदो भए वा नभए पनि जुनसुकै कुरा लागू गर्नुपर्छ भन्दै आएको छ । यसले परिवर्तनभन्दा पनि आफ्नो दर्शनको पकड रहनु सर्वोत्तम मान्दै आएको पाइन्छ ।
सन्तोष अध्ययनको शत्रु हो । सन्तोषबाट नजोगिएसम्म मान्छेले कुनै पनि कुरा उचित रूपमा सिक्न सक्तैन । विज्ञानले सिक्दा ‘असन्तोषी’ र सिकाउँदा ‘नथाक्ने’ बन भन्दछ । आध्यात्मिक साहित्य असन्तोषी नबन र कर्मको फलको आशा नै नगर भन्दछ । हिन्दू धर्मग्रन्थ गीता भन्छ, “तिमीलाई आफ्नो निर्धारित कर्म गर्नेमात्र अधिकार छ तर कर्मका फलको अधिकारी तिमी होइनौ । तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नठान र कर्तव्य गर्नबाट विमुख पनि तिमी कहिल्यै नहोऊ ।”
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोकस्त्वकर्मणि ।।
(श्रीमद्भगवत्गीता २ः४७, पृ. १४४)
फलको आशा नै नगर्ने हो भने कर्म गर्नुको के औचित्य, कुन प्रेरणाले मान्छे कर्म गर्नमा उत्प्रेरित हुन्छ, त्यो त फलहीन आदर्शमात्र बन्न जान्छ ।
मानव सभ्यताको सुरुवातदेखि एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पनि ईश्वरसम्बन्धी कल्पना मान्छेको एउटा प्रिय विचार, विश्वास, व्यवसाय र संस्कार बन्दै आएको छ । प्राचीन जङ्गली युगमा ईश्वर मान्यता र धर्मपालन विचार मनोरञ्जनपूर्ण थियो । मान्छेलाई ‘निम्न’ र ईश्वरलाई ‘उच्च’ मान्ने चलन धेरै पहिलादेखि चलिआएको हो । परमपिता ‘ईश्वर’ आकाशमा रहन्छन् भन्ने चलन आजको होइन । हिब्रु भाषाको प्राचीन धर्मग्रन्थमा आत्मा’ लाई ‘सदा जीवित’ ‘अमर’ र ‘नित्य’ रूपमा वर्णन गरिएको छ । आदिवासीको ‘सर्वपिता’ वा ‘सर्वात्मा’ भूत–प्रेत, आत्माको कल्पनाको पराकाष्ठासम्म पुगेको पाइन्छ ।
धर्मशास्त्रहरूमा ईश्वरलाई सर्वशक्तिमान, सर्वगुणले सम्पन्न र मान्छेभन्दा माथि आकाशमा रहने भनी चित्रित गरिएको पाइन्छ । संसारको सृष्टि हुनुपूर्व नै ईश्वर थियो भन्ने कल्पनाले पनि धार्मिक ग्रन्थहरू रङ्गिएका छन् । अजीवित वस्तुहरूलाई पनि जीवित मान्नको लागि पनि ईश्वरको परिकल्पना गरियो । स्पेन्सर तथा टेलरको मान्यता थियो कि – ईश्वर तत्व एक मृत्त पिताको पूजा विधान हो । मान्छेले अन्य निजीव वस्तुलाई जीवित मानेर ईश्वरको कल्पना गरेको पाइन्छ । ईश्वरले नै संसारमा ‘स्वयम्भू’ निर्माताको रूपमा विभिन्न वस्तुहरूको सृष्टि गरे भनिएको छ । त्यसको लागि उसले कुनै ‘भूत’ वा ‘राक्षस’ को सहयोग लिन जरुरी छैन भन्ने मान्यता अघि सारिएको पाइन्छ । यो धर्ती र आकाश सृष्टि हुनुपूर्व नै ईश्वर थियो भन्ने सङ्केत कवि ‘गालिब’ ले निम्न श्लोकबाट दिएका छन्–
जब कुछ न था, तो खुदा था, न कुछ होता, तो खुदा होता ।
मिटाया मुझको होने ने, न मे होता, न खुदा होता ।।
(माचवे र दफ्त्आर, पृ. ३)
अनादिकालदेखि नेपाललगायत भारत वर्षमा अनेकाँै धर्म प्रचलनमा रहे । तत्कालीन समाजका मूल्य, मान्यता र विचार समेटेर वेदहरू रचना गरिए र वेदका निर्देशनलाई आधार बनाएर जीवन पद्धति अघि बढाउने क्रम पनि गाढा हुँदै गयो । वैदिक धर्मको मूल आधार वेदलाई बनाइयो । वेदलाई ज्ञानको रूपमा ग्रहण गरियो । वेद तत्कालीन महर्षीको चिन्तन, मनन र अध्ययनबाट जन्मेको थियो । वेदलाई अनादि, अपौरुषेय र नित्य छ, यसलाई प्रमाणित गरिरहनु पर्दैन स्वतःसिद्ध छ भन्ने अध्यात्मवादीहरूको मत पाइन्छ । यो मतमा पौराणिक, साङ्ख्य, योग, मिमांसा र वेदान्त दार्शनिकहरूको सहमति पाइन्छ । न्याय र वैशेषिक दार्शनिकहरू भने वेद अपौरुषेय होइन परमेश्वरद्वारा रचना गरिएको मत अघि सार्दछन् । चार्वाक मतवालाहरूले भने वेद वेकारको कुरा हो र यो निष्क्रिय मान्छेहरूको जीविका गर्ने साधनमात्र हो भनेका छन् ।
समाजमा धर्मको प्रभाव बढ्नुको अर्थ प्रकृति, उत्पत्ति र विकासको अवधारणालाई गम्भीरतापूर्वक तथ्यहरू केलाउने, कारणहरू खोतल्ने र यथार्थ परिणाममा मान्छेहरू पुग्ने परिपाटीमा कमी आउन थाल्दछ । ‘चैतन्यवाद अन्तर्मुखी हुने, भौतिकवाद बहिर्मुखी हुने, चैतन्यवाद चिन्तनमा विश्वास गर्ने, भौतिकवाद प्रयोगमा विश्वास गर्ने, चैतन्यवाद ईश्वर र धर्मको माध्यमबाट प्रमाणमाथि होइन विश्वासमाथि जोड दिने, भौतिकवाद वैज्ञानिक प्रयोगको आधारमा निरीश्वरताको यथार्थता प्रकट गर्ने पक्षमा’ अघि बढिरहेको छ ।
धर्मलाई दैनिक जीवनको एक अभिन्न प्रणालीसँग आवद्ध गरिएपछि साहित्यमा पनि धर्मको प्रभाव अत्यधिक पर्न थाल्यो । धर्म परम्पराअनुसार जनजीवनका जन्म, मृत्यु, विवाह, पास्नी, भोज भत्तेर, दुःख–सुख सबै कुराहरू चल्ने भएपछि साहित्य पनि त्यहीअनुरूप सिर्जना गर्न थालियो । परिणामतः जनजीवन र साहित्य बुझ्न पनि धार्मिक, मूल्य, मान्यता, सिद्धान्त र परिपाटीहरू बुझ्न पर्ने भयो । वर्तमानमा पनि पश्चिमा लेखकहरूले रचेका साहित्यहरू बुझ्न इशाई धर्म, खाडी र त्यस वरिपरिका साहित्य कृति बुझ्न इस्लाम धर्म र पूर्वीय जनजीवन बुझ्न हिन्दू धर्मका सिद्धान्त र व्यवहार बुझ्न जरुरी हुन्छ । लेखक वा स्रष्टाहरूले धार्मिक मिथक, बिम्ब, प्रतीकहरूसमेत समेटेर सिर्जना रच्ने हुँदा धर्म पनि साहित्यको एक अंशको रूपमा प्रकट हुने गर्दछ ।
साहित्य समाजको ऐनामात्र होइन समाजको पथप्रदर्शक हो । त्यसैले साहित्यले धर्मका मान्यता र प्रभावहरूलाई ग्रहण त गर्दछ तर धर्मभित्र व्याप्त विकृति, विसङ्गति र अँध्यारा पक्षहरूको विरोध पनि समावेश गर्दै जान्छ । फलतः धर्मका आडमा शासन गर्दै धार्मिक गुरुहरू र शासकहरू स्रष्टाहरूका विरुद्धमा बेस्सरी खनिन्छन् । सल्मान रुस्दीले ‘द सटानिक भर्सेज’ लेखेर इस्लाम धर्मभित्र रहेका अँध्यारा पक्षहरूको उछित्तो काडे । धर्मको नाममा हिन्दू र मुसलमान भन्ने विभाजन गरेर मानवतामाथि गरेको अत्याचारको विरोधस्वरूप तसलिमा नसरिनले ‘लज्जा’ लेखिन् । ओर्हान पामुकले ‘माइ नेम इज रेड’ उपन्यासमार्फत सत्ताले धार्मिक र सामाजिक ढाल बोकेर सर्वसाधारणको अस्तित्व स्वाहा पार्न शक्तिशालीहरू कसरी लागिपरेका छन् भन्ने अथ्र्याए । संसारमा असङ्ख्य लेखक, कवि र अन्य स्रष्टाहरू छन् जसले धर्मको अन्धविश्वासी पगरी गुथेर मान्छेको अस्मिता लुट्न पल्केकाहरूको विरोधमा लेखे । सत्ताधारी र धर्मगुरुहरूले तिनीहरूको विरुद्ध झम्टन त छोडेका छैनन् । यद्यपि आम संसार सधैँ सचेत र सिर्जनशील स्रष्टाहरूको पक्षमा आफ्नो मत जाहेर गरिरहेछ ।
आजभन्दा तीनसय वर्ष अघिसम्म युरोपेली समाज पुरै अन्धकारमा विद्यमान थियो । त्यताका चर्चका धर्मगुरुहरू पादरी र पोपहरूले ईश्वर र धर्मसम्बन्धी अन्धविश्वासहरूलाई वैज्ञानिक नियमसरह लादेर समस्त मान्छेमाथि शोषण गरिरहेका थिए । कसैले पनि तर्क र प्रमाणको आधारमा नयाँ विचार प्रस्तुत ग¥यो भने त्यसलाई ‘ईश्वरको शत्रु’ घोषणा गरिन्थ्यो र यथाशीघ्र त्यसको अस्तित्व नामेट पारिन्थ्यो । जब लेखकहरूले धर्मका नाममा ठगी भएका कुराहरू आफ्ना सिर्जनामार्फत लेखे तब त्यो सन्देश भुसको आगोझैँ समाजमा फैलियो र मान्छेहरू सचेत हुन थाले । परिणामतः युरोपभर विद्रोह फैलियो । धर्मयुद्ध भयो । धार्मिक शासनको समाप्तिले त्यहाँका जनता पोप र पादरीहरूको चङ्गुलबाट मुक्त भए ।
साहित्य सिर्जनाको मूल मर्म त्यसमा अन्तरनिहित दृष्टिकोणमा भरपर्दछ । साहित्यले जीवन र जगत्को सृष्टिका सत्यको खोजी गर्दछ र त्यसलाई आफ्नो दृष्टिकोणसहित कृतिहरू निर्माण गर्दछ । मानव जगतले रचनाहरू रच्ने, सुनाउने र छाप्ने कार्य सुरु भएदेखि नै स्रष्टाहरू संसारको ‘प्राथमिक तत्व पदार्थ हो या चेतना ?’ भन्ने प्रश्नमा दुई भागमा विभक्त भएर सिर्जना गर्न थाले । एक थरी चेतनालाई प्राथमिक तत्व मानेर आफ्नो दृष्टिकोण बनाउन थाले भने अर्काथरी पदार्थलाई प्राथमिक तत्व मानेर उनीहरूको दृष्टिकोण बनाउन थाले र सिर्जना गर्न थाले । साहित्यमा पनि यसको प्रभाव गहिरो रूपमा परेको छ र यसैअनुरूप कृतिहरू जन्मिने गरेका छन् । फलस्वरूप साहित्य पनि एकथरी ईश्वरको सत्ता स्वीकार्नमा व्याप्त छ भने अर्काथरी खोज, प्रयोग र प्रमाणका आधारहरूमा सिर्जना हुन थालेका छन् । बाइबल, कुराअन, वेद, रामायण, महाभारत, गीताजस्ता कृतिहरू पनि ईश्वरीय सत्ता स्वीकार्न उद्यत भएका कृतिहरू हुन् । यिनकै प्रभावले समाज धर्मभीरु बन्दै आएको देखिन्छ ।
‘भारतीय चैतन्यवादी मतअनुसार, चैतन्य वा चेतना विश्वको प्रथम, मूल र आदि तत्व हो । त्यसको महत्व, बृहत् रूप परम चैतन्य हो । सुरुमा सम्पूर्ण विश्व ब्रह्माण्ड परम चैतन्यमय थियो । त्यही ‘ब्रह्म’ हो र त्यसैबाट जीव र जगत् सृष्टि भएको हो’ भन्ने दृष्टिकोणमा हिन्दू धर्म–साहित्यहरू सिर्जना गरिएका देखिन्छन् ।
हिन्दूधर्म साहित्य ब्रह्मलाई अलौकिक र अदृश्य शक्तिको रूपमा र ईश्वरको रूपमा स्वीकार गरेर रचिएका पाइन्छन् । संसार अलौकिक शक्तिबाट नै सृष्टि भएको हुँदा मान्छेले बाचुञ्जेल अलौकिक ईश्वरलाई खुसी पार्न र जीवनको अन्त्य हुँदा पनि उसैमा मिल्न प्रयास गर्नुपर्छ भन्ने सन्देश फैलाइएको छ । यसको लागि धर्म र कर्मकाण्डका अनेकौँ विधि विधानहरू तयार गरिएको छ । ती धार्मिक विधि विधानहरूमा ‘ईश्वरीय नियम’ भन्ने उल्लेख गरिएको छ । त्यसको विपरीत दैनिक जीवन चलाउनु ईश्वरीय नियमविपरीत हुने हुँदा पापको भागी हुनुपर्ने कुराहरूलाई सांस्कृतिक र धार्मिक बाध्यात्मक परिस्थितिको रूपमा स्थापित गरिएको पाइन्छ । धार्मिक अन्धविश्वासहरूलाई राजनीतिक व्यवस्थासँग समेत जोडेर धर्माधिकारी र शासकहरूको मिलेमतोमा सर्वसाधारणमाथि शोषण र दमन गर्ने परिपाटी बसालिएको पाइन्छ । उदाहरणको रूपमा मरेको मान्छेको जुठो बार्ने क्रममा मृत व्यक्तिका आफन्तले लगाउने ‘गरुड पुराण’ लाई लिन सकिन्छ । आफन्तको मृत्युको शोकमा डुबेका आफन्तजनलाई गरुड पुराण सान्त्वना मिल्नुको सट्टा झन् आफूसँग भएका सारा सम्पत्ति पनि पण्डितलाई दान गर्न उत्पे्ररित गर्ने, दान गरेपछि जस्तोसुकै पापबाट पनि मुक्ति मिल्ने र नारी भनेका पापका पोकामात्र हुन्, पुरुष भनेका जन्मजात नै बुद्धि विवेकयुक्त प्राणी हो भन्ने अर्थ प्रसार गरेर समाजलाई ठूला बडाको शोषणको जालमा फसाउने कार्य भइआएको देखिन्छ ।
भौतिकवाद चेतनालाई मूल र आदि तत्व मान्दैन । पदार्थ नै प्राथमिक तत्व हो र आदि तत्व पनि हो । पदार्थ भएपछि मात्र चेतनाको जन्म हुने हो, पदार्थ नभए चेतना हुँदैन । पदार्थको विशिष्ट उत्पत्ति चेतना हो । पदार्थमा परिवर्तन छ, गति छ, पदार्थको रूपमा परिवर्तन आउँछ तर पदार्थ कदापि नाश हुँदैन । अनाशवान पदार्थ र द्वन्द्वात्मक गतिको समन्वयान्मक रूप नै ‘प्रकृति’ हो भन्ने कुरा भौतिकवादले मान्यता स्थापित गरेको छ । भौतिकवादी दृष्टिकोणमा लेखिएका साहित्यहरू अलौकिक होइन लोकमा र प्रकृतिमा सबैकुरा विद्यमान रहेको पक्षमा वकालत गर्दछन् । यस्ता साहित्यहरू विज्ञानसम्मत दृष्टिकोणको पक्षमा उभिएका हुन्छन् ।
भौतिकवादी साहित्यमा समाजमा विभिन्न किसिमका विचारहरूबीच विरोध र सङ्घर्ष निरन्तर चलिरहन्छ । वर्ग, अन्तरविरोध र नयाँ तथा पुरानाका बीचको अन्तरविरोधको समाजमा प्रतिबिम्ब पर्दछ । समाजमा अन्तरविरोधहरू रहेनन् भने र तिनलाई समाधान गर्न विचारधारात्मक सङ्घर्ष भएनन् भने सामाजिक जीवनको अन्त्य हुन्छ भन्ने मान्यतालाई प्रबल बनाइएको पाइन्छ । यस्तो साहित्यमा ‘भविष्यमा जोगिन बितेका गल्तीहरूबाट सिक’ र ‘रोगीलाई बचाउन रोगलाई निको पार’ भन्ने सिद्धान्त टड्कारोरूपमा हाबी भएको पाइन्छ । यस किसिमको साहित्यले आलोचनालाई सुधारको बाटोको रूपमा लिन्छ र मनोगतपूर्ण निरङ्कुश र उच्छृङ्खल आलोचनाको विरोधमा उत्रनुपर्छ भन्ने मान्यता राख्दछ ।
धर्म अलौकिक आदर्शपूर्ण विषयको आस्थामा आधारित हुन्छ जसमा उपासना वा समाधिको माध्यमबाट आत्मबन्धन तथा वचनबद्धता प्रस्तुत गरिन्छ । धर्मदार्शनिकहरू ईश्वरीय अनुप्रेरणाद्वारा मात्र धर्मशास्त्रको रचना सम्भव छ भन्ने मत राख्दछन् । हिन्दू धर्मका पूर्वमीमांसकहरू वेद अपौरुषेय, नित्य र शाश्वत मान्दछन् । यसविपरीत न्यायवादीहरू वेदलाई पौरुषेय र ईश्वरद्वारा प्रदत्त भएको मान्दछन् । कुनै धर्म दार्शनिकहरू उनीहरूको धर्मको मूल पुस्तक स्वर्गमा छ, मत्र्यमा रहेका पुस्तक प्रतिलिपिमात्र हो भन्ने मान्दछन् । यो विचार ईशाई धर्मदार्शनिकहरूमा पाइन्छ । त्यसको विपरीत केही ईशाई धर्मदार्शनिकहरू बाइबलको केही अंश ईश्वरको अनुप्रेरणाबाट भएको मान्दछन् । कतिपय धर्मदार्शनिकहरू धार्मिक पुस्तक श्रुतिलेख भएको कुरा अघि बढाउँछन् ।
धर्म र ईश्वरलाई प्रत्यक्षरूपमा देख्न र महसुस गर्न नसकिने भएकोले अनेकौँ प्रतीकको माध्यमबाट प्रस्ट पार्ने प्रयास गरिन्छ । जस्तो इसाईहरू क्रसलाई आफ्नो ईसा मसिहको मृत्युको प्रतीक मान्दछन् । प्रतीकले धर्मको प्रतिनिधित्व गर्दछ । प्रतीकले अनुयायीहरूलाई एकै ठाउँमा गोलबन्द गराउने कार्य पनि गराउँछ ।
धर्म विश्वास हो र जीवनशैली पनि हो । मान्छेले आफ्नो ईशापूर्व छैठौँ शताब्दीमा उपनिषद् आएपछि अन्तरबोध तथा आत्मानुभूतिबाट मात्र संसार बुझ्न सकिन्छ भन्ने धारणाले बढावा पायो । ईश्वी सन् प्रथम वा दोस्रोका बौद्ध धर्मावलम्बी दार्शनिक नागार्जुनले त त्यस दर्शनलाई विशेष जोड दिए । उनले भने, “असीमितरूप र गतिवाला यो जगत् जे हामीले देखिरहेछौँ त्यो शून्यबाहेक केही होइन अथवा संसारमा जे देखिएको छ त्यो वास्तविक होइन ।” यसैलाई शून्यवादी दर्शनको रूपमा विस्तार पनि गरियो ।
धार्मिक दर्शनले पदार्थ तथा गति पनि काल्पनिक चिजमात्र मान्छ र सत्य होइन भन्छ तर त्यसको पुष्टि गर्नसक्दैन । जे देखिएको छ त्यसलाई सपना समान मान्नुको अर्थ स्पष्ट गर्नसक्दैन धार्मिक दर्शनले । आठौँ शताब्दीतिर शङ्करले आदर्शवादलाई अझ व्याख्या गरे । उनले पनि यो भौतिक जगत्को कुनै अस्तित्व नभएको र यो संसार खाली सपना देखेजस्तो मात्र हो भने । तर, भोक लागेपछि खाना खानु, प्यास लागेपछि पानी पिउनु, नाङ्गो शरीर ढाक्न वस्त्र पहिरनु पनि काल्पनिक कुरा हो ? भन्ने प्रंश्न उठ्ने गरेका छन् । तर, यसमा आदर्शवादीहरू सही जवाफ दिनसक्दैनन् । आदर्शवादीहरू आम मान्छेहरूले देखिरहेका भौतिक जगत्लाई मिथ्या वा झूट भन्छन् । दार्शनिक कुमारिल भन्छन्–त्यो शब्द आडम्बरमात्र हो, यथार्थमा त्यसो हुनै सक्दैन, संसार देख्न र भोग्न सकिन्छ । देख्न र भोग्न सकिने जगत्लाई मिथ्या र शून्य भन्नुमा कतिसम्म सत्यता रहन्छ ?
–‘धर्मको ह्याङओभर पुस्तकांश
Leave a Reply