भर्खरै :

भूमि अतिक्रमणको विरोधमा विद्यार्थीहरूको प्रदर्शन

– दानबहादुर कपाली
आइतबार भक्तपुरमा मावि स्तरका हजारौँ विद्यार्थीहरूले भारतले नेपाली भूमि मिचेको विरोधमा जुलुस प्रदर्शन गरे । नेपाली भूमि फिर्ता लिन र नेपाली भूमिमा तैनाथ भारतीय सेना फर्काउन खबरदारीस्वरुप आयोजित सो विरोध प्रदर्शन दत्तात्रयबाट सुरु भएको थियो । जुलुस सुकुलढोका, लायकु दरबार, खौमा, दूधपाटी, नासमना हुँदै टौमढीमा पुगी सभामा परिणत भएको थियो । स्वाधीन र सार्वभौम देश जोगाउन आयोजित सो जुलुसमा विद्यार्थीहरूले गगनभेदी नारा लगाएका थिए ।
जुलुसमा बेइमानी नक्सा मान्दैनौँ, नेपाली भूमि छुन दिँदैनौँ, भारतको नयाँ नक्सा खारेज गर, भारतीय सेना कालापानी छोड, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रै हो आदि नारा लगाइएको थियो । त्यस्तै महाकाली नदीको मुहान लिम्पियाधुरा, लिम्पियाधुरामाथिको अतिक्रमण बन्द गर, नेपाली भूमि डुबाउने भारतीय बाँध भत्काऊ, देशभक्त जनता एक होऔँ नारा पनि जुलुसमा लगाइएको थियो । आफ्नो भूमि बचाउन विद्यार्थीहरूले विरोध प्रदर्शन गरेर देशभक्तको परिचय देखाए ।
यो विद्यार्थीहरूको देशभक्तिपूर्ण आन्दोलन हो । देश जोगाउने आन्दोलनलाई देशभर पु¥याउनुपर्छ । आन्दोलनलाई अभियानकै रूपमा अघि बढाउनुपर्छ । देशभक्तिपूर्ण त्यो स्वर हरेक विद्यालयको कोठा–कोठामा पुग्नेछ, अभिभावकको घर–घरमा पुग्नेछ । यसले भारतले नेपाली भूमि मिचिरहेको खबर जनताको घर आँगनमा पु¥याउन मद्दत गर्नेछ । जुलुस प्रदर्शन भारतको थिचोमिचोको विरोध गर्नमात्र होइन देश जोगाउन हो, देशभक्तको परिचय दिन पनि हो । विद्यार्थीहरूको यो आक्रोशपूर्ण स्वरले नेपाल सरकारलाई बल मिल्छ । नेपाली भूमि सुरक्षा गर्न सरकारको लागि यो एक साथ र सहयोग पनि हो । देश जोगाउने जिम्मा सरकारको हो । नेपाली भूमि सुरक्षा गर्न सरकारलाई घच्घच्याउनुपर्छ ।
जुलुस प्रदर्शन इसान केन्द्रीय समितिले आयोजना गरेको हो । जुलुसमा इसानअन्तर्गत विद्यालयका हजारौँ विद्यार्थीहरूको सहभागिता थियो । विद्यार्थीहरू जोश जाँगरका साथ जुलुसमा सहभागी भए । विद्यार्थीहरूले नारा लगाए । सभामा व्यक्त वक्ताहरुको अभिव्यक्तिप्रति उनीहरूले समर्थन जनाए । विद्यार्थीहरूको यो जुलुस प्रदर्शन आन्दोलनलाई निरन्तरता दिने एक सिलसिला हो । इसानले आयोजना गरेको सो जुलुस प्रदर्शन समय सान्दर्भिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *