क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
कतिपय तथाकथित बुद्धिजीवीहरूले देश वा राष्ट्र भनेका जनता हुन् भूमि वा भूभाग होइनन् भन्ने अभिव्यक्ति दिइरहेका छन् । उनीहरूले नबुझेर हो वा जानी–जानी देशमा भारतद्वारा सीमा अतिक्रमण भएको विरूद्ध नेपाली जनतामा देशव्यापी जागरण आइरहेको बेला यस्ता अभिव्यक्ति राखिरहेका छन् । नबुझेरमात्र बौद्धिक विलास गरेका हुन् भने फेरि छलफल गर्न सकिएला । जानी–जानी गरेका हुन् भने त्यस्ता देशद्रोहीहरूबाट जनता सचेत र सजग बन्नैपर्छ । उनीहरूले अगाडि सारेको तर्क जनता भए देश फेरि पनि जन्मनसक्छ भनी यहुदी र उनीहरूको राज्य इजरायललाई प्रस्तुत गरेका छन् । देशको भूमि वा भूभाग नभए कतिसम्म दुःख–कष्ट हुनसक्छ भन्ने यथार्थको उदाहरण इजरायल बन्नुभन्दा अगाडि युरोपेली देशका यहुदी र इजरायल बनेपछिका प्यालेस्टिनी जनता हुन् । हिजो आफ्नै फिरन्ते जीवनशैली र विभिन्न कारणले यहुदीहरूको देश रहेन भने आज इजरायलको स्थापना र विस्तारले गर्दा प्यालेस्टिनीहरूको देश र घर छैन । प्यालेस्टिनीहरूकै जमिन खोसेर आजको इजरायल विस्तार गरिएको हो । आज प्यालेस्टिनी जनतालाई विभिन्न अरब देशका शरणार्थी शिविरमा कैद भएर र विभिन्न देशमा आप्रवासी बनेर ठूलो दुःख–कष्टका साथ बाँच्न परिरहेकोे छ ।
हुन त हिजो–आज राजनीतिशास्त्रीहरू अस्थिर सिमानाको युग समाप्त भइसक्यो भनी तर्क गर्छन् । तर, स्थिर सिमानाको अवस्था कहिलेसम्म रहने हो निश्चित छैन । त्यसो नहुँदो हो त विश्वका सबैजसो देशले वार्षिक अरबौँ–खरबौँ खर्च गरेर सिमाना व्यवस्थित गर्ने र लाखौँको सङ्ख्यामा सीमा रक्षा बल तैनाथ गर्ने थिएन होला । एकपटक खिचिएको सीमारेखा कसैले नमिच्ने वा नसार्ने हो भने विभिन्न देशका सेनाबीच सीमा भिडन्तका समाचारहरू आउँदैनथे होला । आफ्नो भूभाग वा सिमानाको रक्षा देशको सार्वभौमसत्तासित सम्बन्धित महत्वपूर्ण विषय पनि हो । सिमाना र सीमा क्षेत्रको सुरक्षा प्रभावकारी ढङ्गले गर्न नसक्ने देशको सार्वभौमसत्तामाथि पटक–पटक चोट पुगिरहेको हुन्छ । नेपाल यसको उदाहरण हो ।
विज्ञहरूका अनुसार नेपालको सीमा सुरक्षाको बन्दोबस्त कामचलाउ ढङ्गको छ । पहिले नेपाल प्रहरीलाई जिम्मा लगाइएको सीमा सुरक्षा हाल सशस्त्र प्रहरीलाई दिइएको छ । तर सशस्त्र प्रहरीलाई पुग्दो जनशक्ति र स्रोत–साधन उपलब्ध छैन । नेपाल–भारतबीच खुला सिमाना भएको कारण झन् बढी सुरक्षा संवेदनशीलता र अतिक्रमणको खतरा छ । नियमित निगरानीको व्यवस्था नहुँदा कहिले सरकारी तवरबाटै र कहिले स्थानीय भारतीयहरूको तर्फबाट सीमा अतिक्रमण भइरहेका छन् । विज्ञहरू भन्छन्, सीमा सुरक्षासँग देशको सार्वभौमसत्तादेखि आतङ्कवाद अनि सफ्ठित अपराधसम्मका विषयहरू जोडिन्छन् । हाम्रो देशमा स्थानीय तहमा समस्या निस्कँदा कहिलेकाहीँ सीमा सुरक्षाको विषय चर्चामा आउने तर अरू बेला प्राथमिकता नदिँदा सीमा सुरक्षाका चुनौती र समस्या यथावत् छन् । देशका सरकारहरूले अनावश्यक क्षेत्रमा अरबौँ बजेट खर्च गर्दै आएका छन् तर सीमा सुरक्षाका लागि बजेट नभएको तर्क गर्छन् । सीमा रक्षा नभए सार्वभौमिकता कमजोर हुने र सके कुनै दिन देशकै अस्तित्व सङ्कटमा पर्नसक्ने भूरणनीतिक यथार्थबारे उनीहरूले चिन्तन गरिरहेका छैनन् । देशको अस्तित्व समाप्त भए वा हाम्रो सार्वभौमसत्ता गुमेपछि हाम्रो स्वाभिमानलाई हाम्रो शैक्षिक प्रमाणपत्र रूपैयाँको चाङले रक्षा गर्नसक्दैन ।
Leave a Reply