भर्खरै :

भारत मित्र देश कि शत्रु !

– वस्तुराज ‘शीतल’
भारतले नेपाललाई कहिल्यै समानताको दृष्टिले हेरेको छैन, स्वाधीन र सार्वभौम देशको रूपमा हेरेको छैन न त छिमेकी देशको रूपमा भारतले व्यवहार गरिरहेको छ । नेपाल सधैँ भारतको उठबसमा रहिरहोस् भन्ने चाहन्छ । भारतले नेपाललाई जति थिचोमिचो र अतिक्रमण गरे पनि नेपाल सरकार नबोलोस् भन्ने चाहन्छ । न बोलोस् भन्ने ध्येयले भारत सरकार कहिले नेपाल सरकारलाई आर्थिक प्रलोभन देखाउँछ, कहिले विकास योजना अघि सार्छ । भारतविना नेपाल चल्नै नसक्ने भारतको सोच रहेको छ । नेपाललाई तर्साउन र थर्काउन बेलाबखत भारतले नाकाबन्दी पनि ग¥यो ।
भारत सरकारले नेपाल सरकार र नेपाली जनताको नाडी छामिरहेको छ । एक–एक पाइला गर्दै नेपाल भारतकै एक प्रान्त बनाउने पाइला चालिरहेको छ । नेपाली भूमिमाथि भारत सरकारद्वारा भइरहेको यो चलखलको नेपाल सरकारले विरोध गर्नैपर्छ, नेपाली जनता उठ्नैपर्छ । नेपाली भूमि मिच्ने देशको विरोध गर्ला भन्ने डर भारतलाई छैन भने नेपाली भूमि मिचाएर बस्ने पीडित नेपाल र नेपाली जनतालाई थिचोमिचोको विरोध गर्न किन डर !
मन्त्रिपरिषद् गठन गर्न या नयाँ सरकार बनाउन भारतसँग परामर्श लिनैपर्ने ! संविधान बनाउन भारत सरकारसँग सल्लाह लिनुपर्ने ! भारतीय शासक वर्गको स्वार्थ पूरा गर्न संविधान बनाउनुपर्ने कस्तो बिजोग ! नेपालका लागि चाहिने सामान सबै भारतसँगै लिनुपर्ने कस्तो बाध्यता । भारतले नेपालमा जति मिचे पनि, थिचे पनि र पेले पनि मौन बस्नुपर्ने, हेर्या हेरै गरिरहनुपर्ने ! राष्ट्रमाथि भारतको प्रत्यक्ष हस्तक्षेप भए पनि सरकार नबोल्ने ! विरोध गर्न डराउने सरकार । नेपाली भूमि, देशको जलस्रोत भारतलाई सुम्पेर, भारतीय नागरिकलाई नेपाली नागरिकता दिएर सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको सपना कसरी पूरा होला ?
नेपाललाई पाँच वर्षमा भारत र दस वर्षमा चीनको दाँजोमा पुग्ने फुस्रो भाषण दिएर अघाउने सत्तारुढ दलका नेताहरू नेपाली भूमि फिर्ता लिएरै छाड्छौँ भनी बोल्ने किन हिम्मत गर्दैनन् ? हाम्रा नेताहरू डरछेरुवा नेता हुन् या कायर ! सरकारको नेतृत्व लगातार गरिरहन फुक्ने तर नेपाली भूमि जोगाउन अघि नसर्ने ! जो अगुवा उही हगुवा भएर देश समृद्ध बन्छ ? थिचोमिचो कति सहिरहने ! कति हेरिरहने ! भारत सरकार मानेन भनेर नेपाली भूमि नेपालीको बनाउन नेपाल सरकार हात बाँधेर कसरी बस्न मिल्छ ? नेपाली जनता कसरी सहेर बस्न सक्छन् । ठूलो देश भारतको अभिमानी र बल मिचाइ नेपाल सरकार र नेपाली जनताले तोड्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *