के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
–एक सचेत नागरिक
‘पूर्व वडा अध्यक्ष उम्मेदवार नेकपामा प्रवेश’ भन्ने व्यहोराको सामाजिक सञ्जालमा आएको समाचारबारे केही कुरा राख्न मन लाग्यो । नेमकिपा कामदार वर्गको पार्टी हो, देशभक्त जनताको पार्टी हो । यो कुनै ‘डम्पिङ साइट’ होइन भन्ने कुरा विगत लामो समयदेखि नेमकिपाले भन्दै आएको कुरा हो । पार्टी अनुशासनमा नबस्ने, व्यक्तिगत फाइदाको लागि शत्रुसँग प्रत्यक्ष वा अप्रत्यक्ष मिलेमतो गर्नेहरू हिजो पनि पार्टीमा अटेनन्, आज पनि अटेनन् भने भोलिको दिनमा पनि अट्नेछैनन् । व्यक्तिगत स्वार्थमा लाग्ने व्यक्ति नेमकिपामा अटाउन सक्दैन । सामाजिक सञ्जालमा आएको उक्त समाचार पछिल्लो उदाहरणमात्र हो ।
अघिल्लो स्थानीय निर्वाचनमा वडा अध्यक्षमा नेमकिपाबाट टिकट लिई जनतामाझ भोट माग्दा कुनै अर्को चुनाव चिह्नमा भोट मागेका व्यक्ति कसरी नेमकिपामा अटायो भनी स्थानीय जनताले प्रश्न तेस्र्याएका थिए । त्यसपश्चात् भोट बेचेको आरोप खेप्दै आएका र नेकपाको मिलेमतोमा विभिन्न विकास योजनाहरूमा टेन्डर पारी मोटै रकम कमाएका, चाँगुनारायण नगरपालिकामा आप्mनै छोरालाई इन्जिनियर बनाउन तत्कालीन एमालेलाई मोटै पैसा तिरेको पनि सुन्नमा नआएको होइन । विसं २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणमा स्थानीय जनताको घरनक्सा पास गरेबापत अकुत सम्पत्ति आर्जन गरेको, नक्सा बनाएबापत जनताको ढाड सेक्नेगरी पैसा असुल गरेको, काममा ढिलासुस्ती गरेको गुनासो गर्दा मेयरलाई “पार्टीलाई सहयोग गर्छु छोरालाई कमाउन दिनुहोस्, त्यसको गुन म तिर्छु” भन्ने गरेको व्यक्ति आज अर्को पार्टीमा प्रवेशको समाचार स्थानीयको लागि नौलो रहेन । यस्ता व्यक्ति नेमकिपामा रहुञ्जेल स्थानीय जनताको मन जित्न नसक्ने र पार्टी विकास नहुने स्थानीय जनता बताउँछन् । यस्तो चरित्रको व्यक्ति नेमकिपाजस्तो पार्टीमा अटाउन सक्दैन । यस प्रकारका पार्टी अनुशासनविपरीत काम गर्ने र अवसरवादी चरित्रका व्यक्तिहरू नेमकिपा छाडी अन्यत्र लाग्ने गरेको विगत इतिहास सचेत जनताले बिर्सेका छैनन् । यस्ता व्यक्तिहरू अपराधी पाल्ने, गुण्डागर्दी, तस्करी, भ्रष्टाचारी संरक्षण गर्ने पार्टी नै ठीक हुनसक्ला । त्यसैले ‘नाकको सिंगान फाल्दा मान्छे मर्दैन’ भनेजस्तै अनुशासनहीन गतिविधि गर्ने व्यक्ति पाखा लाग्दा नेमकिपामा कुनै हलचल आउँछ भनी सोच्नु दिवास्वप्नमात्र हो । ‘कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाएझैँ ’ हुने र नेमकिपा झन चोखो र बलियो हुँदै अगाडि बढ्ने निश्चित छ ।
Leave a Reply