भर्खरै :

त्यहाँको २०७८ को जनगणना ?

भैरव रिसाल
त्यतिबेला नेपालको लिम्पियाधुरा क्षेत्रको भूमिमा जहाँ बस्ती एवम् बस्ती आसपासको भूमिमा भारतीय नागरिक वा भारतको मान्छे त के भारतको बाँदर र ढेडु पनि थिएनन् । भारतको चरो थिएन, भारतको मुसो पनि थिएन । नाबी, गुँजी, बूँदी, गल्र्याङजस्ता गाउँमा नेपालीमात्र बस्थे । त्यो वातावरण र भौतिक अवस्थामा त्यो क्षेत्रको छैटौँ जनगणना निर्विघ्न एवम् निर्धक्कसाथ मैले २०१८ साल जेठ–असार महिनामा गराएको हुँ । असार ८ गते जनगणना दिवस डोटीको सिलगढीमा मनाइएको हो जुन समारोहमा बडाहाकिम मक्करबहादुर वान्तवा, जिल्ला न्यायाधीश जयदेव भट्ट, ब्लक डेभलप्मेन्ट अफिसर (सीडीओ) योगेन्द्रनाथ ओझासमेत सहभागी भएको सम्झना छ । बिस्कुट र चियामात्र खुवाउने बजेट थियो, बिस्कुट पनि प्रतिव्यक्ति दुईवटामात्र । तर योगेन्द्रनाथजीले हाँस्तै ६ वटा बिस्कुट लिइदिएर छुट्टी ! त्यतिबेला जिल्ला अदालत भनेको अहिलेको पुनरावेदन अदालत तहको हुन्थ्यो । जिल्ला तहको अदालतलाई इलाका अदालत भनिन्थ्यो । नेपालका प्रशासनिक एकाइ ३५ वटा थिए ७५ होइन ७७ होइन । जिल्लाको हाकिमलाई बडाहाकिम भनिन्थ्यो । प्रमुख जिल्ला अधिकारी हुँदैनथ्यो बडाहाकिम हुन्थ्यो ।
२०१८ को जनगणनाको विधि
मैले २०१८ सालमा त्यो क्षेत्रमा जनगणना गराएको भन्दा नयाँ पुस्ताका तरूणहरू छक्क पर्छन् र मसँग कतिजना जिज्ञासु त प्रश्न पनि गर्छन् ‘कसरी जनगणना गराउनुभयो त्यस्तो ठाउँमा ?’ भनेर । म सहस्रा उत्तर दिन्छु, “मैले जनगणना गराउँदा त्यस्तो केही थिएन ‘नेपालका अरू जिल्ला र ठाउँमा जे जस्तो थियो । लिम्पियाधुरा क्षेत्र पनि त्यस्तै थियो । तसर्थ अन्य ठाउँमा जस्तै निर्विघ्नपूर्वक सम्पन्न भयो ।” किनकि मैले नेपालको नै जनगणना गराएको थिएँ । नेपालमा नेपाल सरकारको कार्यक्रमअनुसार जनगणना हुनु र गराउनु के अनौठो भो र ? म जोनल अफिसर भएकोले म आफै घर–घर गई गणना गर्ने होइन क्यार ! मेरो मातहतमा खरदार हुन्थे जो केन्द्रबाटै पठाइन्थे । तालिम प्राप्त पनि हुन्थे । खरदारले मुखियाहरू भर्ना गर्थे र तालिम पनि दिन्थे । मुखियाले गणक भर्ना गर्थे र तालिम दिन्थे । गणकहरू घर घर गई पहिला घर परिवार लगत लिन्थे । त्यसको केही दिनपछि अर्को फाराममा व्यक्तिगत लगत लिन्थे । एक जनाको नाम लेखेको चार पैसा पारिश्रमिक पाउँथे । २०१८ सालको जनगणनाको यस्तो विधि थियो ।
यसरी आउने रहेछ मिथ्याङ्क
गणना भनेको गणना नै हो तथ्याङ्क सङ्कलन गर्दा कतै मिथ्याङ्क पर्ला भन्नेमा सारै सतर्क र सजग हुनु जरूरी हुन आउँछ । तथ्याङ्क कसरी मिथ्याङ्क आउँछ भन्ने जिज्ञासामा एउटा उपमा निकै घतलाग्दो छ । सामाजिक परिेवेश र सामाजिक रीतिथिति चलन अहिले पनि ठूलो भूमिका निर्वाह गर्नेरहेछ । एउटा चाखलाग्दो घटना उल्लेख गरौँ । एउटा कृषि गणना भइरहेको थियो । घटना हो पर्वत जिल्लाको । पर्वत जिल्लामा फलेवास भन्ने एउटा गाउँ छ जो अत्यन्त उर्वराभूमि भएको गाउँ हो । त्यो गाउँमा कृषि गणनाका कर्मचारी गएर घरमुलीसँग सबै तथ्याङ्क सोधेर फाराम भरे । माथिल्लो घरको घरमुली महिला रहिछन् विधवा । कर्मचारीले माथिल्लो घर जाने बाटो सोधेपछि त्यहीँ काम गर्दैरहिछन् माथिल्लो घरकी घरमुली । त्यहीँ तथ्याङ्क लिन लागे । प्रश्नावलीको सन्दर्भमा सोधे – खेत कति छ, बारी कति छ ? उनले खेत तीन रोपनी लेखाइछन् । धान कति हुन्छ भन्ने प्रश्नमा १२ मुरी फल्छ भनिछन् । त्यो घरका मान्छे मुखामुख गरेछन् । तथ्याङ्क टोली फर्केपछि त्यो घरका मान्छेले ती महिलासँग जिज्ञासा राखी सोधेछन् ‘माइली भाउजू तपाईँको त खेत छँदैछैन तर तीन रोपनी लेखाउनुभयो, धान एक गेडा हुँदैन १२ मुरी लेखाउनुभयो । किन ? भाउजूले सहजै जवाफ दिइछन् ‘बाबु’ छोराको बिहे गर्नुपर्दैन ! धान नहुने घरमा कसले छोरी दिन्छ ! यसरी तथ्याङ्क खोज्दा मिथ्याङ्क आउने रहेछ । त्यसतर्फ ध्यान दिऔँ ।
संवेदनशीलताको सम्मान हुनुपर्ने
तथ्याङ्क सङ्कलन गर्दा वा जनगणना, कृषि गणना गर्दा गणक (गणना गर्ने मान्छे) सारै होशियार हुनुपर्ने । सामाजिक, आर्थिक परिवेश, जातजाति, धर्म, संस्कृति र संस्कार, चलन, स्थानीय र कुलकुटुम्बबीचको सम्बन्धबारे बडो चनाखो हुनुपर्ने । म तथ्याङ्क विभागको फिल्डको तालिममा काभ्रेको खोपासी गएँ या हाम्रो टोलीलाई नै खोपासी लगियो । घरघर गई प्रश्नावलीमा लगत भर्न लागियो । गाउँमा सबैजसो जातको बस्ती रहेछ । सबै सौहार्दतासाथ बसेका रहेछन् । बाहुन, क्षेत्री, नेवार, जनजाति, दलित सबै बडो सौहार्दपूर्ण सहअस्तित्वलाई व्यवहारमै प्रयोग गरेर बडो आत्मीय वातावरण रहेछ त्यो गाउँमा । हामी तालिमेमध्ये एकजनाले फाराम भर्ने क्रममा एउटा बाहुनको घरमा लगत लिन लाग्यो । फाराममा चौपायाको महलमा गाई, भैँसी, बाख्रा, भेँडा, कुखुरा, हाँस, सुँगुर, बँगुर आदि सबै जातका पशु सम्पदाको नाम छापिएको हुने नै भयो । हो ! यसैक्रममा बाहुनको घरमा लगत लिन थाल्यो । प्रश्न गरेछ, सुँगुर कति वटा छन् ? भाले कति पोथी कति वटा छन् ? घरका मान्छेले लाठा उठाएछन् । बाहुनको घरमा सुँगुरको सङ्ख्या सोध्ने ? के यो ठाडो अपमान होइन भन्दै मान्छे उत्तेजित भए । हात हालाहाल हुनमात्र बाँकी रह्यो । बाँकी काम त्यो गाउँमा गर्नै नदिने भएछन् । तै कुटाकुट भएन । सल्लाह गरी तालिम नै अर्को गाउँमा सार्नुप¥यो । तसर्थ जनगणना वा कृषि गणना जनताको संवेदनशीलताको सम्मान हुनुप¥यो ।
कति धेरै सेना !
नेपालको जनसङ्ख्याको प्रवृत्ति अस्वाभाविक देखापर्छ । यद्यपि नेपालको पहिलो जनगणना १९१७ मा श्री ३ जङ्गबहादुरले गराए भन्ने कुरा श्री पुरूषोत्तमशमशेरको पुस्तक श्री ३ हरूको तथ्य वृत्तान्त उल्लिखित छ र जनसङ्ख्या ५५ लाख थियो भन्ने छ । तर त्यो जमानामा त्यति जनसङ्ख्या हुँदा पनि भारतको सिपाहीँ विद्रोह दबाउन १४ हजार सेना लिई आफैँ गएको कुरा पनि उल्लेख छ । त्यतिबेला ५२ लाख जनसङ्ख्या भएको नेपालले त्यतिका धेरै सेना लिएर गएको पढ्दा त्यो विद्रोह दबाउन कुन उमेरदेखि कुन उमेरसम्मका पठाए होलान्, गए होलान् जिज्ञासा पैदा हुन्छ । पहिलो जनगणनाअनुसार ५५ लाख जनसङ्ख्यामा त्यतिका धेरै सेना ! विसं १९०५ मा जङ्गबहादुर शिकार खेल्न तराई झरे । त्यो शिकारमा ३२ हजार पैदल सेना, ५०० घोडचडी सेना, २ हजार पिपासमेत लिएर गएका थिए । उनको उद्देश्य ब्रिटिश इन्डिया सरकारलाई आफ्नो सैनिक शक्ति प्रदर्शन गर्नुरहेछ । त्यो शक्तिदेखि अङ्ग्रेज सरकार पनि दच्किएछ । यता केरूङ–कुटीतिर भोटसँगको लडाइँमा पनि १४ हजार पैदल सेना, १२०० घोडचदी सेना लिएर गएका र ३० हजार काठमाडौँमा जगेडा सैनिक राखेका रे । ५५ लाख जनसङ्ख्या त्यति धेरै सेना ! यसको गम्भीर अध्ययन र विश्लेषण जरूरी लाग्छ ।
जनसङ्ख्याको अनौठो प्रवृत्ति
प्रसङ्ग थियो, नेपालको जनसङ्ख्याको प्रवृत्ति अस्वाभाविक छ । १९१७ सालमै ५५ लाख नेपाली थिए भने ६० वर्षपछि विसं १९७७ मा लिएको दोस्रो जनगणनामा ५५ लाख ७३ हजार ७८८ उल्लेख छ । अर्को आश्चर्य चाहिँ विसं १९६८ मा भएको प्रथम औपचारिक जनगणना नतिजाअनुसार ५६ लाख ३० हजार ७४९ उल्लेख छ । १९१७ मा पनि ५५ लाख, १९६८ मा ५६ लाख, त्यसको नौ वर्षपछि १९७७ मा झन् ५५ लाख ! यसको तात्पर्य, पहिलो विश्वयुद्धमा नेपाली युवा वर्गलाई जबरजस्ती भर्ना गरी युद्धमा होमिएको कारण जनगणनामा नामै नलेखाएको अड्कल छ । यो बलजफ्तीको उदाहरण म आफ्नै छिमेकी गाउँको दृष्टान्त दिऊँ । मेरा साथी दयाराम विष्ट, डा. प्रकाश विष्टका पिताजी खेतमा धान चुट्दै हुनुहुँदोरहेछ । सरकारी सिपाहीँहरू गाउँका युवा खोज्दै हिँडेका बेला त्यो युवालाई धान चुट्दा चुट्दैको अवस्थामा समाती जबरजस्ती लगेछन् र विश्व युद्धका लागि पल्टनमा भर्ना गरी युद्ध मोर्चामा लगेछन् । उहाँ युद्धमोर्चामा पर्नु भो । तै बाँचेर फर्कनुभयो । यसैकारण त्यो दोस्रो राष्ट्रिय जनगणनामा धेरैले नाम नै लेखाएनन् र जनसङ्ख्या घटेको अनुमान गरिन्छ । तैपनि १९१७ मा पनि ५५ लाख १९७७ मा पनि ५५ लाख त मिलेन नि हैन र ? जनसङ्ख्याविद्हरूले यसको खोजी गर्नु जरूरी देखिन्छ ।
यति पो छ कि लिम्पियाधुरामा
यहाँ एउटा जिज्ञासा ! मान्छे पहिले कि माटो–भूमि । पहिलो प्रश्न कसरी व्याख्या गर्ने भन्ने हो फुल पहिले कि चल्ला पहिले भनेजस्तै हो । यो प्रश्न मानव सभ्यताको प्रारम्भदेखिकै हो । माटो र मान्छेको समय विभाजन सहज छैन होला । तर, मेरो विचार र व्याख्यामा भने मान्छेभन्दा माटो पहिले भन्ने हो । माटो नभइ मान्छे हुँदैन । तसर्थ माटो–भूमि–मान्छेभन्दा महत्वपूर्ण र पहिलो पुस्ता हो । यहाँ माटो भनेको पानी पनि हो । किनभने लाखौँ जीवात्मा, प्राणधारी जलचरको संसार पानी नै हो । पानी पनि अन्ततः माटोमै अडिएको होला थाहा छैन । हिमशिलामा पनि अडिएको होला । हिमशिला भनेको हिउँ जमेपछि बलियो ढुङ्गाभन्दा पनि बलियो हुँदोरहेछ । यो विश्वको सुदूर उत्तर, सदूर दक्षिण अन्टार्कटिका छन् । त्यहाँ हिउँ नै हिउँ । त्यो हिम प्रदेशमा जीवको अस्तित्व छ, छैन थाहा छैन । नेपालको हिम मानव वा हिम प्राणी यतिको प्रसङ्ग पनि कम रोचक कहाँ छ र ? तर यतिको भौतिक अवस्था अझै अन्योलग्रस्त छ । यति हिम मानव छ छैन । छैन भने त छैन छैन । मुद्दा टुङ्गियो । होइन छ भन्ने हो भने खोजी हुनुप¥यो कहाँ छ, कस्तो छ । आजसम्म भौतिक स्वरूप देखिएको छैन । खोज्नेहरू अविश्राम खोजेको खोज्यै छन् हाम्रो । लिम्पियाधुरा पनि हिम प्रदेश हो । हिम मानव त्यता पो पाइन्छ कि ? तर, त्यो क्षेत्र मित्रराष्ट्रको कब्जामा छ । त्यो कब्जाबाट मुक्त गराउनु हाम्रो कर्तव्य हो ।
२०७८ को जनगणनाको प्रतिक्षामा
मैले विसं २०१८ जेठ–असारमा सहज एवम् सामान्य र स्वाभाविक वातावरण र परिस्थितिमा जनगणना गराएका नाबी, कुटी, बुँदी गाउँहरू अहिले नेपालको मातहतमा छैनन् भन्ने सुन्छु । हाम्रो सरकारले त्यताका नागरिकहरूलाई राज्यले दिनुपर्ने सामान्य सुविधासमम पनि दिएको छैन रे । मैले २०६० सालतिरदेखि ‘हुम्लामा उज्यालो’ भन्ने कार्यक्रम गरेपछि त्यसको प्रभाव प¥यो परेन । परेको भए के प¥यो ? नपरेको भए किन परेन भन्ने केलाउन डा. पिताम्बर शर्मा, डा. चैतन्य मिश्र, कुन्द दीक्षित, अर्जुन ढकाल र म गएका थियौँ । त्यसको परिणाम डा. शर्माको ध्यानाकर्षणमा जस्तो लाग्छ सरकारले कर्णालीका पाँच जिल्ला र आसपासका तीन जिल्लामा गरी एकहजार घरमा सोलारको उज्यालोलाई सहयोग ग¥यो । दार्चुला ती आठ जिल्लामा परेन । तर उताको भारत सरकारले नितान्त सस्तोमा चामल, चिनी, उज्यालाको साथै त्यहाँका विद्यार्थीलाई उच्च शिक्षापार्जनका निम्ति सबैजसोलाई मनग्गे छात्रवृत्ति उपलब्ध गराएर भारत रोज्ने गराएको रे । नेपाल सरकार आफ्नो भूमिमा आफ्नो उपस्थिति गराउन पनि असमर्थ भइसकेजस्तो छ । दार्चुला सदरमुकामबाट १५ किलोमिटर उत्तर सीतापुरका उता सुरक्षाकर्मी पनि बा¥है महिना बस्ने अवस्था छैन रे । यसैले २०१८ मा जनगणना गराएका गाउँ नाबी, कुटी, गुञ्जीका जनताको २०७८ को जनगणना कसरी गरिन्छ, म प्रतिक्षामा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *