भर्खरै :

सुप विश्वविद्यालयमा तालाबन्दी यथावत

भीमदत्तनगर, २ मंसिर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका सवारीसाधन सञ्चालनमा अवरोध नगर्ने आन्दोलनरत नेपाल विद्यार्थी सङ्घले जनाएको छ ।
नेविसङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले विज्ञप्ति जारी गरी मंसिर १ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरूको सवारीसाधन प्रयोग खुला गरिएको जानकारी दिनुभयो । तर, विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलगायत पदाधिकारी नियुक्तिको विरोधमा रहेको नेविसङ्घले केन्द्रीय कार्यालयमा तालाबन्दी यथावत राखेको सङ्घले जनाएको छ ।
विश्व्विद्यालयमा तालाबन्दी भएको सात महिना बितिसक्दा पनि समस्याको समाधानका लागि ठोस पहल हुन सकेको छैन ।
विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. भुषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेको थियो । सोही विषयलाई लिएर गत वैशाखदेखि नेविसङ्घले तालाबन्दी गरेको हो । बिनाकारण उपकुलपति र रजिस्ट्रारलाई छानबिनको नाउँमा हटाएको भन्दै पुनर्बहालीको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।
गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा. डा. पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा. गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएपश्चात् जिम्मेवारी सम्हाल्दै आए पनि तालाबन्दीका कारण कामकाज भने प्रभावित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *