भर्खरै :

देशभर मिचेको नेपाली भूमि सार्वजनिक हुनु आवश्यक

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत सीमा समस्या समाधान गर्न उच्चस्तरीय वार्ताको लागि भारतलाई पत्र पठायो । भारतले मिचेको लिम्पियाधुरा क्षेत्रसम्मकै भूभाग नेपालको भएको धारणा नेपाल सरकारले अघि सारेको छ । सरकार वार्ताको निम्ति पर्खेर बसेको छ । नेपाल सरकारको पत्राचारपछि भारतको कुनै प्रतिक्रिया आएको छैन । अन्तरसंवादमार्फत भूमि विवाद अन्त्य गर्ने भारतको कुरा यसअघि नै आइसकेको छ । सुरुमा भारतले नेपालको कुनै भूमि मिचेको छैन भन्ने प्रतिक्रिया सार्वजनिक गरेको थियो । भारतले नेपाली भूमि मिचेको राजनीतिक नक्सा सार्वजनिक गरेलगत्तै त्यसको विरोधमा नेपाल मजदुर किसान पार्टीले वक्तव्य निकालेको थियो र विरोध प्रदर्शन तथा सभा गरेको थियो । विरोध प्रदर्शन देशभर फैलिन थालेपछि भारतले काली नदी मेटेर अर्काे नक्सा सार्वजनिक ग¥यो भन्ने कुरा पछि जानकारीमा आयो । यसले नेपाली भूमि भारतले मिचिरहेको यथार्थ छर्लङ्ग हुन्छ । त्यो भूमि नेपालले फिर्ता पाउनुपर्छ । यो नेपाल र नेपालीको माग हो । माग पूरा नहोउञ्जेल भारतको बल मिचाइविरुद्ध सङ्घर्ष गरिरहनुपर्छ । सरकारले भारतको ध्यानाकर्षण निरन्तर गरिरहनुपर्छ । जनताले आन्दोलनलाई व्यापक बनाउनुपर्छ ।
सरकारले नेपालको सीमा छुट्याउनैपर्छ । नेपाली भूमिको सीमाङ्कन गर्नैपर्छ । सरकारले नेपाली भूमिको सीमाङ्कन गर्न नसक्दा, भएको सीमाङ्कनलाई निर्धारण गर्न नसक्दा भारतले बलमिचाइ गरेको हो, नेपाली भूमि मिचेको हो । अहिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको मात्र होइन जहाँ जहाँ नेपाली भूमि अरु देशसँग जोडिएको छ त्यहाँ त्यहाँ सीमा निर्धारण गरेर नेपाली भूमि छुट्याउनुपर्छ । त्यसो नगरुञ्जेल सीमा विवाद भइरहन्छ र भारतीय पक्षले सीमा मिच्ने काम रोक्ने छैन । यसले सीमा विवाद लम्बिरहने छ† नेपाल साँगुरिँदै जानेछ† साँगुरिरहेको छ । यो नेपाल र नेपालीको लागि चिन्ताको विषय छ ।
नेपालले आफ्नो नेपाली भूभाग छोड्नु हुँदैन । सरकारको नेतृत्वको कमजोरी र अदूरदर्शिताको कारण नेपाली भूमि गुम्दै गएको हो । नेपाल सरकारको कमजोरीको फाइदा भारत सरकारले लिएको हो । आफै अग्रसर हुनुपर्नेमा सरकार जन दबाबपछि मात्र बिउँझ्यो र बल्ल एउटा वक्तव्य जारी भयो । वक्तव्य पनि बेनाममा जारी भयो । सरकारको सो वक्तव्यलाई त कसैले काइते वक्तव्य पनि भने । देशको विभिन्न स्थानमा आफ्नो भूमि मिच्दा पनि सरकार किन मौन रह्यो ? भारत चिढिएला भन्ने मानसिकताले भारतले नेपाली भूमि मिच्ने अवसर पायो । नेपाली भूमि कब्जा गर्दा पनि चुप लागेर बस्ने कस्तो सरकार ¤ भूमि मिच्दा पनि मिचेको भन्न नसक्ने कस्तो लाचार सरकार ¤
वार्ताको लागि पत्र पठाइसकेको छ भनेर सरकार चुप लागेर बस्नु हुँदैन । नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायलाई भारतले नेपाली भूमि कति मिचिरहेको छ भन्ने कुरा सरकारले जानकारी दिनुपर्छ । भारतले देशका विभिन्न ठाउँमा मिचेको जग्गा देश विदेशमा जानकारी दिएन भने भारत झुक्ने छैन, कब्जा गरेको नेपाली भूमि फिर्ता दिने छैन । जहाँ जहाँ नेपाली भूमि मिचेको छ, त्यहाँ त्यहाँ नेपाल सरकारले सीमाङ्कन गर्नुपर्छ र नेपाली भूमि फिर्ता लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *