भर्खरै :

लायक लवजू

राजन
एक पटक जङ्गलमा भीषण आगलागी भएछ । एउटा कोइली आगो निभाउन तलाउबाट आफ्नो सानो मुखमा पानी भरेर आगोमाथि खन्याउन थाल्यो । वरिपरि ठूल्ठूला बसिरहेका विभिन्न जनावरहरूले कोइलीको खिसिटिउर गर्दै भने, “तिम्रो मुखको त्यति जाबो पानीले आगो निभ्दैन, चुपलागेर बस ।” कोइलीले भन्यो, “मेरो मुखको पानीले आगो निभ्छ निभ्दैन त्यो समयले बताउने छ तर इतिहासले तिमीहरूलाई जङ्गलमा आगो लाग्दा तमासा हेरेर बस्ने भनी सम्झिने छ भने मलाई आगो निभाउने प्रयासमा लागेको सम्झिने छ ।”
नेपाल मजदुर किसान पार्टीलाई सानो पार्टी भनेर खिसी गर्नेहरूले बुझून् कि नेमकिपा ती कोइलीजस्तै हुन् जसले देशमा भारतको अतिक्रमणरूपी आगो बलिरहँदा नेमकिपाका प्रतिनिधिहरूले त्यो आगो निभाउन भरमग्दुर प्रयास गरिरहेका छन् । छिमेकीप्रति गरिने भारतीय नीतिको नेमकिपाले नेपालका ठूला पार्टीलाई सुरूदेखि सचेत गराइरहेको छ तर ठूला भनाउँदा पार्टीले ठूला जनावरले जस्तै सानो पार्टीको कुरा भनेर खिल्ली उडाएका छन् । भलै सानो पार्टी होस् त्यसको हरेक विचारले देशलाई परिपक्व विचार प्रदान गरिरहेको छ । इतिहासमा नेमकिपालाई सधैँ निष्कलड्ढ, सिद्धान्तनिष्ठ र देशभक्त पार्टीको रूपमा चिनिरहने छ ।
‘मित्र’ भनी टोपल्ने छिमेकी लुटेरा भारतले नेपालको अखण्ड भूभाग हडपेको स्थिति आएको देख्दा देशभक्त जनता आक्रोशित हुनु स्वाभाविक हो । भारतले बारम्बार गरिरहने सीमा अतिक्रमणको हामी विरोध गर्छौँ । तर, भारतलाई सीमा अतिक्रमण गर्ने साहस अचानक आएको होइन । हाम्रै नेताहरूको भारतप्रति अति आशक्त हुने बानी व्यहोराले गर्दा हो । समय–समयमा दिल्ली दरबार र लैनचौर दरबारमा बसेर हाम्रा नेताहरूले ‘डबल ब्ल्याक व्हिस्की’ र ‘जङ्गली पोर्क’ डकारेको बिल हो कालापानी । नेपालमा यस्ता नेताहरू पनि छन् जसले कहिल्यै दिल्ली वा लैनचौर दरबारको नजिक पुगेनन् बरू लैनचौर दरबार थर्किने गरी भारतलाई खुला चुनौती दिए । भारतको हेपाहा प्रवृत्तिविरूद्धको आवाजलाई ठाउँमा पु¥याउने हो भने त्यस्तो पार्टीका उम्मेदवारलाई भोट दिनुपर्छ ।
भोजभतेरमा रमाएर चुनावमा भोट दिने अहिलेको वातावरणमा महाभारतको एउटा प्रसङ्ग उल्लेखनीय छ । शान्तिदूत बनेर हस्तिनापुर पुगेका श्रीकृष्णले दुर्योधनको मेवा मिष्ठान्न त्यागेर विदुरको रुखो साग खान रुचाए ! यहाँ दुर्योधनरूपी अनैतिक र अधर्मीहरूले तपाईंको घर आँगनमा आएर खसी काटेर भोजभतेरको निमन्त्रणा गर्दै आउँदै छन् भने अर्कोतिर निःस्वार्थ, इज्जत, प्रतिष्ठा, नैतिकतामा थोपा पनि सम्झौता नगर्ने सालिन नीरज लवजू तपाईंको घर आँगनमा आउँदै छन् । तपाईंले रूखोसुखोमा रमाउने लवजूलाई साथ दिनुहुनेछ ।
नेपाली जनतामा कम्युनिस्टप्रति विशेष प्रकारको लगाव रहेको छ । कम्युनिस्ट पार्टीले जनताको सेवा गर्छ, सबै जनतालाई समानताको हक प्रत्याभूत गर्छ भनेर बहुसङ्ख्यक नेपाली जनताले कम्युनिस्टको नाममा ओली प्रचण्डलाई भोट दिए तर तिनीहरूको व्यवहारमा सामन्ती र राजश्री सोखका साथ जीवन बिताएको देखियो । ओली प्रचण्डको नेपाल कम्युनिस्ट पार्टीमा कम्युनिस्ट खोज्नु भनेको दालचीन नामको मसलामा दाल खोजेजस्तै हो । हामी जनता कम्युनिस्ट नाम राखेकै भरमा तिनका पछाडि लाग्नु हाम्रै दोष हो ।
ठूला दलका नेतालाई लोभी जनताको मनलाई तौलेर चुनाव जित्ने तरिका थाहा छ । यिनीहरू झूटा आश्वासन बाँड्छन् र कुतर्क गर्छन् । “जित्ने ठूला पार्टी नै हो त्यसैले सानो पार्टीलाई भोट दिनु भनेको भोट खेर फाल्नुजस्तै हो । त्यसैले ठूला पार्टीलाई नै भोट दिनुपर्छ” भन्दै उनीहरू गरिब जनतालाई भ्रममा पार्छन् । जित्नेलाई भोट दिनुपर्छ भन्ने तर्कलाई मान्ने हो भने हाम्रो भोटको के मतलब ? दिए नि जित्छ नदिए नि जित्छ भने यो कसरी लोकतन्त्र हुन्छ ? यस्तो तर्कको पछाडि हामी लाग्नु भनेको आफ्नो बञ्चरो आफ्नै खुट्टामा हान्नुजस्तै हो । हाम्रो मतको ताकतलाई हलुका तरिकाले लिनु हुँदैन । हाम्रै भोटले जित्ने हो, नेताले । हामीले इमानदारलाई भोट दियौँ भने इमानदार उम्मेदवारले नै जित्ने हो । बेइमानले जित्यो भने भोलि दोष हामीले नै लिनुपर्छ । ‘पाडो पाए नि, पाडी पाए नि, भतुवालाई बिगौति’ भनेजस्तै नेकपा या काङ्ग्रेस जो जिते नि नगरकोट सडकका भ्रष्ट ठेकेदारकै रजाइँ हुन्छ । त्यसैले यस्ता भ्रष्टाचारी, भाइभतिजावाद, फटाहा, असत्ति नेताहरूलाई हराउने मौका यो चुनाव हो भन्ने कुरामा हामी सर्वसाधारण जनताले हेक्का राख्नुपर्छ ।
उम्मेदवार भएर चुनावमा पैसाको खोलो बगाउनु भनेकै लगानी गरेको हो जसको प्रतिफलको रूपमा जितेपछि जनताको नाममा आएको बजेट, विकासको नाममा आएको खर्चलाई आफ्नो आम्दानी बनाउने । यो वास्तविकतालाई नदेख्याजस्तै गरी आर्थिक स्वार्थमा लागेर तिनै उम्मेदवारको केही थान नोट र भोजमा रमेर भोट दिने अनि बाँकी समयमा देशमा भ्रष्टाचार बढ्यो भनेर कोकोहोलो मच्चाउने दोहोरो चरित्रले जनताको भलाइ हुँदैन । यस्ता नेताहरू पृथ्वीले सूर्यलाई घुमेजस्तै भ्रष्टाचार र अनैतिक कामको वरिपरि घुमिरहेका हुन्छन् । जनताको वरिपरि घुम्ने भनेको चुनाव अगाडिमात्र हो ।
आर्थिक अनुशासनको जग तथा जरामा अडेको राजनीतिक पार्टीले मात्र साँच्चिकै देश र जनताको सेवा गर्नसक्छ न कि अल्पकालीन फाइदाको लागि, जोसँग पनि लम्पसार भएर । वास्तवमा देशको समग्र आर्थिक विकासको लागि राजनीतिक पार्टीको कस्तो भूमिका हुन्छ, पारदर्शिता र कार्यकर्ताको आर्थिक अनुशासनमा निर्भर रहेको हुन्छ, यी कुरा सबै राजनीतिक पार्टीले मनन गर्नु आवश्यक छ । पार्टीको गतिविधिमा कार्यकर्तालाई आर्थिकरूपमा अनुशासित बनाउन सकेन भने त्यस्तो पार्टी जति नै ठूलो भए पनि त्यसले देश र जनताको लागि हानीसिवाय केही गर्दैन । राजनीतिक पार्टीका कार्यकर्तामा आर्थिक अनुशासन नहुँदा कसरी देश बर्बाद हुन्छ भन्ने कुरा वर्तमान समयले देखाइरहेको छ । त्यसैले आर्थिक अनुशासनमा दृढ नेमकिपाका अनुशासित कार्यकर्ता लवजू लायक उम्मेदवार हुनुहुन्छ ।
जनताले यो सोच्नुपर्छ कि जनप्रतिनिधि चुनेर पठाउने चुनाव कुनै विश्वकप फूटबल होइन, जहाँ आफूलाई मनपर्ने कुनै एक देशको पक्षमा समर्थन गर्नु । जुनसुकै देशले जिते पनि हाम्रो लागि एकछिनको मनोरञ्जनमात्र हो, यसले हाम्रो जीवनमा खासै असर पर्दैन तर चुनावमा गलत व्यक्ति चुनिए भने हामी जनताको जीवनमा ठूलै असर पर्छ, यो कुरालाई पनि हेक्का राखौँ । चुनावलाई विश्वकप फूटबलमा कुनै खेलाडीलाई समर्थन गरेजस्तै कसैको लहैलहमा लागेर हचुवाको भरमा कुनै उम्मेदवारलाई समर्थन नगराँै ।
सधैँभरि भ्रष्ट नेताहरूलाई सराप दिने अनि चुनावमा त्यही नेतालाई छान्ने जनताको अवस्था धूमपान र मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा हुँदाहुँदै त्यस्तो कुलतलाई छोड्न नसक्ने अमलिजस्तै भएको छ । एक पटक अठोट लेऔँ, यो जीवनको लागि हानिकारक पदार्थ सधँैभरिको लागि छोड्छु भनेर । अनि क्षणिक तीतो (आश्वासन नबाँड्ने) नै भए पनि सधैँ स्वास्थ्यको लागि गुणकारी वस्तु नै रोजौँ । त्यसैले हरेक कोणबाट लायक उम्मेदवार निरज लवजूलाई छानौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *