नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
नेपाली भूमि अतिक्रमणविरुद्ध नेपालीहरूको राजनीतिक आन्दोलन चालू छ । नेपाली भूमि जोगाउन थालेको आन्दोलन देशभक्ति आन्दोलन हो । यस आन्दोलनमा आ–आफ्नो स्थानबाट भाग लिनुपर्छ । आन्दोलन देशव्यापी बनाइनुपर्छ । देशका विभिन्न पक्षबाट आन्दोलन थालेर देशभक्तिपूर्ण आन्दोलन सफल पार्नुपर्छ । यतिबेला प्रमुख प्रतिपक्ष नेका पनि नेपाली भूमि जोगाउनुपर्ने पक्षमा देखिएको छ । सरकारले नेपाली भूमि सुरक्षितको निम्ति वार्ता प्रक्रिया अघि बढाउन भारतलाई पत्र पठाइसकेको छ । पत्र पठाइसक्यो भनेर सरकार चुप लागेर बस्ने छैन भन्ने जनताको विश्वास हो । नेमकिपाले पनि आन्दोलनलाई निरन्तरता दिइरहेको छ । नेमकिपाको जनवर्गीय सङ्गठन युवा र विद्यार्थीले जुलुस प्रदर्शन र विरोध सभा गरे । उपनिर्वाचनको क्रममा भइरहेको सभा, बैठक, भेला र अन्य कार्यक्रममा पनि नेपाली भूमि नेपालको बनाउन सरकारले पहल गरिरहनुपर्ने र भारतले पनि नेपाली भूमि छोड्नुपर्नेमा नेमकिपाले जोड दिइरहेको छ । यसरी अन्य दल र दलका भ्रातृ सङ्गठनले पनि अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
नेपाली भूमि जोगाउने अभियानमा साहित्यकारहरूले साथ दिएर ऐक्यबद्धता जनाए । कविता वाचन गरेर उनीहरूले भारतको बलमिचाइको विरोध गरे । यसरी नै सीमा अतिक्रमणविरुद्ध कलाकारहरू जुटे । सीमा बचाउ अभियानमा उनीहरूले पत्रकार सम्मेलन गरेर साहित्य, नाटक र गीतमार्फत जनचेतना जगाउने निर्णय गरे । त्यस्तै खालका आन्दोलनहरू अरू समुदाय, सामाजिक सङ्घ संस्था, सहकारी संस्थाहरूले गर्नुपर्ने आवश्यकता छ । इन्जिनियरहरूले पनि प्रवचन गरेर सचेतना जगाउने काम गरे । चिकित्सक, कर्मचारी, वकिलहरूले आन्दोलनमा साथ दिनुपर्छ र ऐक्यबद्धता जनाउनुपर्छ । यसरी सबै पक्षबाट आन्दोलन भएमा सरकारको लागि बलमा टेवा पुग्छ भने भारतको निम्ति दबाब हुन्छ । यसले नेपाली जनतामा देशभक्तिको भावना विकास गर्छ । कुनै शक्ति राष्ट्रले नेपाली भूमिमाथि अतिक्रमण गरेमा, हस्तक्षेप गरेमा, दबाब दिएमा, आफ्नो उठबसमा राख्न खोजे नेपाली जनता जाग्ने र आन्दोलनमा सरिक हुने अवसर मिल्छ ।
भूमि थिचोमिचोको विरोधमा आम नेपाली एकजुट हुनुपर्छ, सचेत र सङ्गठित हुनुपर्छ । सत्तासीन दल सरकारको नेतृत्व गरिरहने, भागबन्डामा लाग्ने, पद र पैसाको निम्ति राजनीति गर्ने काममा मात्र नअल्झी देश जोगाउन जनतालाई सचेत र सङ्गठित गर्ने र गराउनेतर्फ सरकार अघि बढिरहनुपर्छ । सरकार र नेपाली जनता चनाखो नभएमा, थिचोमिचोविरुद्ध सङ्घर्ष नगरेमा नेपाल साँगुरिँदै जानेछ । अन्ततः पूरै देश निल्न भारत अघि सर्नेछ । बेलैमा बुद्धि पु¥याइनुपर्छ । एक इन्च नेपाली भूमि छोड्ने छैन भनेर फुकेर हुँदैन, त्यसलाई व्यवहारमा पनि लागू गर्नुपर्छ । नेपाली भूमि जोगाउनैपर्छ । नेपाली भूमि नेपालको स्वाधिनता र सार्वभौमिकतासित जोडिएको छ । यसमा सरकार गम्भीर हुनुपर्छ ।
Leave a Reply