भर्खरै :

शक्तिशाली सरकार सानो काम गर्न पनि असमर्थ

– वस्तुराज ‘शीतल’
यतिबेला सरकारको ध्यान नेपाल भूमि जोगाउनेतर्फ केन्द्रित हुनुपर्ने हो । तर, सरकार पालैपालो मन्त्री फेर्ने काममा लाग्यो । के सरकारले मन्त्रिपरिषद् गठन पालैपालो मन्त्री फेर्ने उद्देश्यले कमजोर मन्त्रीहरू सरकारमा लगेको हो ? मन्त्री भागबन्डा बरोबर गर्ने कि क्षमतावान या योग्य मन्त्री नियुक्ति गर्ने ? पालैपालो मन्त्री भाग लगाएर समृद्ध मुलुक बन्छ, नेपाली भूमि जोगिन्छ ? देश समृद्ध बनाउनुभन्दा, भारतले मिचेको नेपाली भूमि फर्काउनेतर्फ पहल गर्नुभन्दा मन्त्रिमण्डलको हेरफेरमा सरकारको ध्यान किन गयो ? के मिचेको भूमि फिर्ता लिनुभन्दा मन्त्री भाग दिनु ठूलो हो ? नियुक्ति भएका नयाँ मन्त्रीहरू खुसी भएपछि नेपाली जनता खुसी हुन्छन् ? नेपाली जनता सुखी हुन्छन् ?
नयाँ मन्त्री फेरेर यहाँ कुनै नयाँ काम हुने छैन । नयाँ मन्त्रीहरूमा सुरुका केही दिनमा उत्साह, उमङ्ग र जोश जाँगर होला । तर, समय बित्दै गएपछि नयाँ मन्त्रीहरू पनि हटाइएका पुराना मन्त्रीहरूकै स्थितिमा पुग्नेछन् । प्रम ओलीले केही क्रियाशील मन्त्री हटाए भने दल र सरकारको कमी कमजोरी औँल्याउने नेताहरू नयाँ मन्त्री बनाए । सरकार र दलको कमजोरी औँल्याउने नेताहरू मन्त्री भएपछि उनीहरूको विरोध स्वाभाविकरूपमा कम हुन्छ । प्रम ओलीले गर्न खोजेको त्यही हो । यसले थाहा हुन्छ, सत्तासीन दलका नेता र मन्त्रीहरू देश र जनताप्रति जवाफदेही हुनुभन्दा आफ्नै नेता र कार्यकर्ताहरूप्रति केन्द्रित भएर काम गर्दै छन् ।
कुनै सांसद या नेतालाई पालैपालो मन्त्री बनाउन मन्त्रिमण्डलको गठन सही काम होइन । फेरि मन्त्रिमण्डल हेरफेरमा पनि भागबन्डा देखिएको छ । भागबन्डामा फसेको कारण मन्त्रिमण्डल गठनमा महिला तथा बालबालिका मन्त्रालयमा पुरुष मन्त्री बन्न पुगे । देश र जनताप्रति जवाफदेही भएर मन्त्रिमण्डल हेरफेर गरिएको भए यस्तो कमी कमजोरी हुने थिएन । आफ्ना नातागोता जोडेर, आफ्नो पक्षको मान्छेलाई काखी च्यापेर र पार्टी एकताको कुरा उठाएर फेरि गुट– उपगुट गरेर राज्य कसरी चल्छ ? यसले राम्रो सन्देश जाँदैन ।
सरकार नेपाली जनताको अभिभावक हो । सरकार नेकपा (एमाले र एमाओवादी) को मात्र होइन हरेक नेपाली नागरिकको सरकार हो । सरकारले दलगत र व्यक्तिगत स्वार्थ हेर्ने होइन । नेपाल र बृहत्तर जनताको हितमा सरकारले काम गर्नुपथ्र्यो । के नयाँ मन्त्रीहरू पुरानाभन्दा बढी क्रियाशील भएर देश र जनताको हितमा लाग्छन् ? देश विकास गर्न, आत्मनिर्भर बनाउन, जनताका आधारभूत आवश्यकता पूर्ति गर्न दुई चारजना मन्त्री क्रियाशील भएर हुन्छ ? ५ वर्षको अवधिमा देश कहाँ पु¥याउने भन्ने कुरा दुई चारजना मन्त्री र प्रम चिन्तित भएर हुँदैन । मुख्य कुरा दिशा निर्देश हो । दिशा निर्देश गर्ने सिद्धान्त र विचार हो । खोटो सिद्धान्त र विचारले देश समृद्ध बन्दैन । मन्त्रीहरू सक्रिय भएरमात्र हुँदैन । देश पछि पर्नुको कारण आफ्नो दललाई देश र जनताभन्दा माथि राख्नु हो । ठूला र शक्तिशाली दलको अभिमानी हो । ठूलो र शक्तिशाली दलले सानो काम पनि गर्दैन भने दुईतिहाइको मत प्राप्त गरेरै के गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *