नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
आर्थिक तथा श्रम शोषणमा आधारित सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र पुँजीवाद अन्त्य गरेर वैज्ञानिक समाजवादमा आधारित शासन व्यवस्था आवश्यक छ । स्वतन्त्रता र समानता हुने शोषणरहित समाज स्थापना गर्न समाजवादी चिन्तन र समाजवादी व्यवस्था जरुरी छ । कुनै दल ठूलो र सानो, शक्तिशाली र निर्बलियोभन्दा सिद्धान्त, दर्शन र विचार ठूलो हुन्छ । कुन दलले कसको प्रतिनिधित्व गर्छ भन्ने कुराको नापो दल ठूलो र सानोको होइन, सिद्धान्त र विचार नै हो । हाल देशमा नेकपाको झन्डै दुईतिहाइ मत प्राप्त सरकार छ । नेकपा हालसम्मकै ठूलो दल हो । यस अर्थमा यो शक्तिशाली पार्टी हो । हेर्दा ठूलो र शक्तिशाली भनिएको नेकपाको सरकार गतिविधिको आधारमा कमजोर सरकार बनेको छ ।
कुनै दलले बहुमत प्राप्त गर्नु नराम्रो होइन । बहुमत प्राप्त सरकार सम्भवतः स्थिर हुन्छ । बहुमत प्राप्त सरकारले घोषणापत्र र जनतामाझ गरिएको प्रतिबद्धताअनुसार काम गर्नसक्छ, काम गर्नुपर्छ । बहुमतको अभिमानीमा चढेर सिद्धान्त, दर्शन र विचार भुलेर बहुमतको नाउँमा देश टुक्रिएको, देश अरुसँग मिलाएको इतिहास नभएको होइन । सत्तारुढ दलका नेता र मन्त्रीहरू दलको सिद्धान्त र विचारअनुसार अघि बढे देशको मुहार फेर्नसक्छ । ठूलो परिवर्तन ल्याउनसक्छ । तर विचार खोटो भयो भने त्यही बहुमतले गलत निर्णय गर्नसक्छ । वर्तमान सरकारले भारतको इसारामा नेपालमा दूरगामी असर पार्ने कदम चालिरहेको छ । नेपालीलाई साँगुरो बनाउने काममात्र होइन नेपालीलाई अल्पमत पारेर विदेशी नागरिकहरूको बोलवाला बनाउने पूर्वाधार सरकार तयार गर्दै छ । यो देशको लागि खतराको सङ्केत हो ।
सिद्धान्त, दर्शन र विचार बन्धक बनाएर सत्तारुढ दलका नेताहरूले कम्युनिस्टको दल, कम्युनिस्टको दुईतिहाइ सरकार भनेर देश विदेशमा प्रचार गरी सोही सिद्धान्त र विचार तोडेर कम्युनिस्ट पार्टीको बदनाम गरिरहेका छन्, कम्युनिस्ट पार्टीलाई कमजोर बनाइरहेका छन् । नेकपाभित्र रहेका दलका नेता र मन्त्रीहरूले नै जातीय आन्दोलन गरेर देशमा साम्प्रदायिक भावना फैलाएका हुन् । ठूला दल र शक्तिशाली दाबी गर्ने नेकपाको सरकारले बाह्य राष्ट्रको हस्तक्षेपको विरोध गर्ने आँट गरेको छैन । विदेशी शक्तिले हस्तक्षेप र अतिक्रमण गरे पनि सरकारले भारतसामु बोल्न सकेको छैन । ‘राष्ट्रवाद’ को खोल ओढेर देशको स्वाधीनता र सार्वभौम देशमा आँच पुगे पनि सरकार हेरेको हेर्या छ । कम्युनिस्टहरू वैज्ञानिक समाजवाद या शोषणरहित समाज स्थापना गर्न लाग्नुपर्छ । तर, कम्युनिस्ट सरकारको दाबी गर्ने सत्तारुढ दलले कम्युनिस्ट आन्दोलन अघि बढाउन, कम्युनिस्ट पार्टी बलियो बनाउन कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरिरहेको देखिँदैन । के कम्युनिस्ट पार्टीको जिम्मेवारी बहुमत प्राप्त गरेर सरकारको नेतृत्वमात्र गर्नु हो ?
बहुमत प्राप्त दलको जिम्मेवारी पाँच वर्ष शासन गर्नुमात्र होइन । कम्युनिस्टको सिद्धान्त र विचार व्यवहारमा लागू गर्न सरकारले कति सफलता पाएको छ ? देशको जिम्मेवारी समाल्ने बित्तिकै कम्युनिस्टको उद्देश्य पूरा हुने होइन । कम्युनिस्टहरू साम्राज्यवाद, विस्तारवाद र पुँजीवादका विरोधी हुन् । सार्वभौम सरकार कुनै पनि देशमाथिको आक्रमण, हस्तक्षेप गर्ने नीतिको विरोधी हुनुपर्छ । सिक्किम पहिले छुट्टै देश थियो । तर, त्यो देश सन् १९७५ मा भारतमा विलय भयो । यसको एउटा कारण बहुमतले सिक्किमलाई भारतमा विलय गराउने निर्णय हो । बहुमत प्राप्त भए पनि देश बेच्ने, अतिक्रमण भए पनि, भूमिमा हस्तक्षेप गरे पनि नेता र मन्त्रीहरू मौन रहे भने शक्तिशाली, बलियो र दुईतिहाइको मतको के अर्थ रह्यो ? नेपाल सिक्किम नहोस् ।
Leave a Reply