भर्खरै :

अब झुण्डिने पालो कसको ?

विकल प्रजापति
प्रिय कामरेड !
बोटलको पानी त तिमीले पनि खाएकै हौ
एक्लै पनि खाएकै हौ, सँगै पनि खाएकै हौ
जङ्गलमा, दरबारमा जुनसुकै भेटमा खाएकै हौ
तर, यसपटक
सधैँ पिउने बोटलको पानी पिउँदा
बेहोसीमा के–के भएछ कुन्नि
चस्माको सीसा फुटेको चालै भएन
जुत्ताको तलवा खोसिएको पत्तै भएन
उसको जीउमा चढेको नसाले
जीवन मेरो भाँसिएको भेउ नै भएन ।
तिमी हामी मिलेर पुरानो नेपालमा
विचार नमिल्ने मास्टरलाई
रुखमा बाँधेर सफाया गर्दा
व्यक्तिगत दुश्मनलाई चखाउन
खेतमा काम गरिरहेको किसानलाई
जङ्गलमा कुदाएर पड्काउँदा
बेलुका बेलुका त्यही पानी पिएका थियौँ
तर, आज त्यही पानी एकै गिलासमा दुई जनाले पिउँदा
किन ऐँठन परिरहेछ
पक्कै दुश्मनको चाल हो, होशियार ।
उतिबेला प्रहरीसँग मिलेर ‘झोस्ने योजना’ मा
जनतालाई फसाउँदै साइनो लाउँदा
बैङ्क लुटेर आफन्तको पोल्टामा भाग लगाउँदा
चन्दा नदिनेलाई ‘टाउको झोलामा, जीउ खोलामा’ पार्दा
त्यहीँ पानी चढ्थ्यो
सायद त्यहीँ भएर बेलाबेलामा
आफ्नै सहपाठीमाथि
‘सांस्कृतिक विचलन’ भएको समीक्षा हुन्थ्यो
तैपनि त्यो समय हाम्रो मुठ्ठीमा थियो तर आज ?
गाउँको एउटै झोलुङ्गे पुल पड्काई नाकाबन्दी गर्दा
बुर्जुवा शिक्षा भन्दै सरकारी विद्यालय उडाउँदा
स्वास्थ्य चौकी उडाउँदै निजी क्लिनिक पोस्दा
बन्दुक तेस्र्याएर गोठको खसी काट्न लगाउँदा
चन्दा, बास र हुलका हुल खाना खुवाउन बाध्य गर्दा
खुसियालीमा बोटलै घोप्ट्याएका थियौँ ।
आज माया गहिरियोस् भनी
एकै गिलासमा आधा आधा पिउँदा
अलिकति बदाम साँधेर चपाउँदा
मेडियाले चाल पाइहाल्यो
दोष मेरोमात्र पनि त होइन
‘फर्गत एस्टर्डे’ भन्दाभन्दै बर्बाद भो
पक्कै दुश्मन घरभित्रै छिरेका छन्, होशियार ।
चिनियाँ नेताको नाम जपेर जोगी भेषमा
१० वर्ष भारतमा खाएको ऋण तिर्न
बन्द हड्ताल गर्दै विहारमा विद्यार्थी पठाउँदा
जातीय नारा भट्याउँदै साम्प्रदायिक आगो झोस्दा
‘नयाँ नेपाल’ को सपना बाँड्दै भएको नेपाल डढाउँदा
हामीसँगै पिउँथ्यौँ
अझ भन्ने हो भने
होली वाइन खान त तिमीबाटै सिकेका हौ,
तर, आज म एक्लै फेला पारिँदा
शत्रु लागेको हो वा आफन्ती ? बुझ्न सकिएन ।
त्यसकारण मैले उसलाई भनेँ
‘फर्गत एस्टर्डे’, ‘फर्गत एस्टर्डे’ ।
‘पुरानो नेपाल’ को कुरा छाडौं
‘नयाँ नेपाल’ मै पनि तिम्रो ईसारामा
देशलाई बन्धक राख्न पनि तयार भएँ
बलिलाई खुसी पार्न धोती लाइदिएँ नियमावली
दुईतिहाइको कोर्रा लगाएर संसदमा
‘विचार मन्थन’ लाई कुल्चेर ‘हात उठाउने थलो’ बनाउँदा
त्यतिबेला तिमीले खुसीले चियर्स गरेका थियौ
विदेशी दूतसँगै ब्लु–लेवल रित्याएका थियौ
यति चाँडै बिर्सेको छैन होला नि ?
कामरेड !
सर्प मरे पनि पुच्छर हलिरहन्छ भन्थे
आज शत्रुहरू मैलाई ताक्दा पनि
कोही किन बोल्दैन आज
कार्यालयबाट खर्च दिइपालेका पत्रकारहरू
आफ्नो कोटामा नियुक्त न्यायाधीशहरू ?
किन टाउको थिचेर बसेका छन् ?
मेरै सिफारिसमा पदमा पुगेकाहरू
किन केही बोल्दैनन् ?
किन कोही भेट्न आउँदैनन् ?
तर, कामरेड !
अरुले जस्तै मलाई एक्लै छोड्ने विचार नगर
तिमीले लुकाएको हतियार मेरो नजरमा छ
जीउँदै गाडेको जवानहरूको आर्तध्वनि सुनेको छु
अनमिनको आँखा छलेर समायोजनमा हट्याएको
खर्बाैं नगदमा हिस्सा लिन बाँकी छ ।
मेरो नजरमा रहेको तिम्रो अवैध सम्बन्ध
तिम्रो आदेशमा मेरो गोप्य भेटघाट
अझै कसैलाई खोलेको छैन
खोल्नै परेमा तिमीलाई काँध थप्ने पनि कोही छैन
किनभने मेरोजस्तो तिम्रो उत्तराधिकारी पनि त छैन
यदि म सिधिने नै भए
तिम्रो पनि झुण्डिने पालो आउन सक्छ ।
त्यसकारण यसपटक मलाई बचाऊ बाँकी म बेहोरुँला
पानीसँग खेल्ने पानीमै मर्ने,
आगोसँग खेल्ने आगोमै मर्दाेरहेछ
एउटै संस्कारमा हुर्के बढेका हामी
एउटै कुवाको पानी खाएका
एउटै पासोमा गर्दन जोडिएका हामी
मेरो एउटै आशाको त्यान्द्रो सर्वाेच्च अदालत
तिम्रै हातमा छ, हामीले भागबन्डामा छानेका गुलामहरू
पानीमाथि ओभानो हुनु ठीक छैन
त्यसकारण तिमीलाई अन्तिम आह्वान गर्दै छु
रिमेम्बर एस्टर्डे । रिमेम्बर एस्टर्डे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *