– गौरव प्रधान

मंसिर १६ गतेको नागरिक दैनिकमा लक्ष्मी सापकोटाको ‘राजनीति फोहोरी खेल हो ?’ शीर्षकको एक लेख छाप्यो । राजनीति आफैँमा फोहोरी खेल होइन, राजनीति आफैँमा कञ्चन पानी हो भन्ने उनको बुझाइ हो । हो, राजनीति फोहोर खेल होइन । तर सत्तारुढ र ठूला दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू फोहोरी खेल खेल्छन् र राजनीतिलाई फाहोरी बनाउँछन् । देश र जनताको इमानदारीपूर्वक सेवा गरेर समृद्ध देश बनाउनुको सट्टा फोहोरी खेल खेलेर देशको राजनीतिलाई फोहोरी बनाउने सत्तारुढ दलका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताको कारण राजनीतिप्रति जनतामा वितृष्णा बढेको हो । अनि कति जनता राजनीति देश र जनताको सेवा गर्न हो भन्ने कुरा भुल्छन् ।
राजनीति पद र पैसाको लागि हो, राजनीति गरेर एक पुस्ताको लागि जोहो गर्नुपर्छ भन्ठानेर पदको दुरुपयोग गरी अकुत सम्पति कुम्ल्याउने नेता, मन्त्री र सांसदहरूकै गलत संस्कारले गर्दा नेपालको राजनीति स्वच्छ ढङ्गले भइरहेको देखिँदैन । तिनीहरूकै गलत कार्य, गलत चिन्तन र दृष्टिले गर्दा देश र जनताको सेवाको निम्ति इमानदारीपूर्वक स्वच्छ राजनीति गरिरहेका दल र दलका नेता तथा कार्यकर्ताहरूलाई गाउँ–ठाउँमा राजनीति गर्न कठिनाइ भइरहेको हो, विश्वास दिलाउन गा¥हो भइरहेको हो । पद र पैसाको निम्ति राजनीति गरेपछि देशमा कसरी भ्रष्टाचार, अनियमितता र घूस अन्त्य हुन्छ ?
पद, पैसा र भागबन्डाको राजनीतिले सुखी नेपाली र समृद्ध नेपाल हुने छैन । देशमा सही या स्वच्छ राजनीति गर्नुपर्छ । स्वच्छ राजनीति गर्न सबै दलका नेता तथा कार्यकर्ता लाग्नुपर्छ । जसरी भए पनि ठूलो दल बनाउने, ठूलो दलको भजन गाएर सरकारको नेतृत्व गर्ने र अकुत सम्पत्ति कमाउने राजनीति भइरहेसम्म देशको राजनीति फोहोर नै भइरहने छ । कुनै दलका नेता तथा कार्यकर्ताले गलत काम गरेपछि सोही पार्टीका अन्य नेता तथा कार्यकर्ताले खबरदारी गर्नुपर्ने हो, त्यस्तो काम भइरहेको छैन । बरू आफ्नै नेता तथा कार्यकर्ताले गरेको गलत काम कारबाहीको उल्टो छोप्ने काम गरिरहेका छन् । यस्तै यस्तै गलत काम भइरहेकोले गाउँ–ठाउँका कति जनता पैसा पाउन चुनाव पर्खेर बस्छन्, यस्ता चुनाव बरोबर आए त परिवारको जोहो गर्न सजिलो हुने उनीहरू बताउँछन् ।
समृद्ध नेपाल बनाउनुपर्छ, समृद्ध नेपाल भएपछि नेपाली सुखी हुन्छन् । तर यो कसैले घाँटी सुकाएर बोलेर र सरकारले नीति बनाएरमात्र पूरा हुने छैन । नीति कार्यान्वयन गर्न पूर्वाधारहरू तयार गर्नुपर्छ । देशका सबै राजनीतिक दलहरू शोषित पीडित जनताको पक्षमा उभिनुपर्छ । उनीहरूको पक्षमा ऐन, कानुन र नियम बनाउनुपर्छ । स्वच्छ राजनीति गर्न र गराउन एकले अर्काेलाई उत्साहित गर्नुपर्छ । स्वच्छ राजनीति नभएसम्म देशको छवि राम्रो हुने छैन, देशको इज्जत बढ्ने छैन । नेपाल जहिल्यै भ्रष्टाचार बढी हुने देशकै सूचीमा परिरहने छ ।