– गोपाल नगरकोटी
निर्वाचन एक वैचारिक सङ्घर्ष हो । यो जनताको चेतनास्तर नाप्ने एउटा आधार पनि हो । जनतामा राजनीतिक चेतना नभएसम्म कुन दल आफ्नो पक्षको र कुन दल अरुको पक्षको भन्ने थाहा हुँदैन । जनताले शत्रु र मित्र दल थाहा नपाउँदा गरिब जनताले गरिब जनतामाथि शोषण गर्ने, दमन गर्ने दलका उम्मेदवारलाई मत राखे । राजनीतिक चेतनाको कमीले गर्दा कति मतदाता पैसामा बिके । कति विकासको आश्वासनमा भुले । विचारको युद्धमा मतदाता पैसा र विकासको आश्वासनमा भुलेपछि जिताउनुपर्ने उम्मेदवार हारे र हराउनुपर्ने उम्मेदवार जिते ।
राजनीतिकरूपले प्रशिक्षित नहुँदा मतदाताहरू अवसरवादी बने । देश र दलको नेतृत्व गर्ने दलका नेताहरू नै अवसरवादी भएपछि सर्वसाधारण जनता अवसरवादी नहुनु पनि कसरी ! निर्वाचनमा जसले तत्काल राहत (पैसा र भोज) दिए उनीहरूकै पक्षमा कति मतदाताहरूले मत हाले । भक्तपुरको उपनिर्वाचनमा पनि त्यस्तै भयो । जसले बढी पैसा दिए त्यतैतर्फ मतदाताहरू लागेको देखिए । मतदाता या जनताको मन बिगार्नेमा ठूला दल र सत्तारुढ दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू जिम्मेवार छन् । दलको सिद्धान्त र विचार प्रचार गरेर जनतालाई सचेत गर्नुपर्ने हो । दलका नेता, सांसद र कार्यकर्ताहरू नै लोभलालच बाँड्छन्, पैसा वितरण गर्छन् र भोज खुवाउँछन् । यो जनताको मन भाँड्ने कार्य हो । मतदाताको विचार, आस्था र अमूल्य भोट पैसा या आश्वासनको पोकोमा बिक्नु राम्रो लक्षण होइन । पैसा बाँडेर र पैसा लिएर मतदान गरेपछि निर्वाचन कसरी निष्पक्ष
हुन्छ ?
पञ्चायतको पालामा पनि निर्वाचनको अघिल्ला दिनमा पञ्चहरु राति राति टोलको आँगन, चोकमा पैसा बाँड्न आउँथे । पैसा बाँड्न आउने सम्भावना देखेरै सचेत कार्यकर्ताहरू रातभर जाग्राम बस्थे र कतिलाई तिनीहरू लखेट्थे । कति मतदाताले पैसा लिए तर भोट दिएनन् । यस्ता धेरै घटना भएपछि कति ठाउँमा पैसा बाँड्ने काम बन्द भयो या धेरै घट्यो ।
पञ्चायतकालको त्यो प्रवृत्ति अहिले भक्तपुर जिल्लाको अन्य नपा र वडाहरूमा देखिए । पैसा लिए र पैसा दिनेलाई मतदान गरे । मतदाताहरू पैसामा बिकेपछि देश र जनताप्रति समर्पित दलका उम्मेदवारहरू कसरी जित्छन् ? यो पुँजीवादी व्यवस्थामा निर्वाचनमा पैसाको खोलो बग्थ्यो, आश्वासनको पोको बाँड्थ्यो । सर्वसाधारण जनता त्यसैमा भुल्थे । यो राजनीतिक संस्कार होइन । राजनीतिक संस्कार बिगार्ने दलका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरूलाई देश र जनताको निम्ति राजनीति गर्ने दलका नेता तथा कार्यकर्ताले खबरदारी गर्नुपर्छ, जनतामाझ उदाङ्ग्याउनुपर्छ । गलत सोच र चिन्तनका मानिसहरूलाई जनतामाझ नउदाङ्ग्याएसम्म यस्ता अनैतिक कार्यहरू दोहोरिरहन्छन् ।