सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
उपनिर्वाचन सकियो । यो चुनावमा पनि शासक दलहरूले आफ्नो शैलीमा कुनै सुधार ल्याएनन् । चुनाव जित्न जे पनि गर्ने र जति पनि गिर्न तयार हुने समस्या उपनिर्वाचनमा प्रस्ट देखियो । पैसा खर्च गरेरै चुनाव जित्ने उनीहरूको पुरानो शैलीले यो उपनिर्वाचनमा पनि निरन्तरता पायो । जनतालाई झूटा आश्वासन दिने र प्रलोभन देखाएर मत ठग्ने ‘नानीदेखि लागेको बानी’ बाट उनीहरू मुक्त हुन सकेका छैनन् ।
सांसद पदको लागि भएको निर्वाचनमा केन्द्रीय नेताहरूले ‘जितेपछि मन्त्री बनाउने’ भनी हावादारी हौवा फैलाएर जनतालाई भ्रममा पारे । सत्तासीन दलका उम्मेदवारले आफू जितेमात्र सरकारको बजेट आउने भनी गलत प्रचार गरे । सत्तासीन दलका मान्छे जितेमात्र सरकारको बजेट आउने दृष्टिकोण गलत र पक्षपातपूर्ण हो । सरकारलाई देशभरका जनताले कर तिरेका हुन्छन् । त्यसकारण सरकारले बजेटमा पक्षपात गर्न मिल्दैन । सत्तासीन दलको मान्छे जिते बजेट दिने नत्र नदिने सोच पक्षपातपूर्ण सोच हो । यस्तो हल्ला गर्ने उम्मेदवार झूटको व्यापारी हो ।
सबभन्दा चिन्ताको विषय निर्वाचन जित्ने ठूला भनिएका दलहरूले युवालाई डो¥याएको भ्रष्टीकरणको बाटो हो । युवालाई चुनाव विचार र सिद्धान्तको सङ्घर्ष हो भन्ने कुरा थाहा छैन । उनीहरूको लागि चुनाव भनेको पैसाको प्रतिस्पर्धा बनेको छ । जसले बढी पैसाको खोलो बगाउनसक्छ, उसैले चुनाव जित्ने भन्ने युवाहरूको बुझाइले चुनाव पैसाको प्रतिस्पर्धा बन्दै गएको छ । राजनीतिकरूपमा असचेत जनताको लागि चुनाव सित्तैमा भात खान पाइने, काम नगरे पनि ज्याला दिइने समय बनेको छ । कति डन र गुण्डाको लागि चुनाव ‘अस्थायी जागिर’ बनेको छ । यो बुझाइले हाम्रो लोकतन्त्र र गणतन्त्रलाई अन्ततः कहाँ पु¥याउने हो ?
आज नेपाली जनताले उपभोग गरिरहेका लोकतान्त्रिक अधिकार सित्तैमा आएको वा कसैको बक्सिसमा प्राप्त अधिकार होइन । यसको निम्ति सयौँ नेपाली जनताको लागि जीवन आहुति भएको छ । हजारौँ जनताको रगत बगेको छ । धेरै नेपालीले आफ्नो जीवनका चिचिला सपना त्यागेका छन् । त्यसैको मूल्यमा आज हामी मताधिकार पाइरहेका छौँ । आजका ठूला दलहरूले यसरी नै पैसा र बलको आधारमा चुनाव जित्दा भोलि लोकतन्त्रको नियति के होला ?
यो विषय सबैको चिन्ताको विषय बन्नुपर्छ किनभने लोकतन्त्र सबैले लडेर ल्याएको बन्दोबस्त हो । सबैको उत्सर्गबाट प्राप्त यो व्यवस्था दिगो बनाउनु सबैको दायित्व हो । तर, युवालाई भ्रष्ट बनाएर के हामी लोकतन्त्रलाई दिगो बनाउन सक्छौँ ? युवालाई मताधिकार भनेको पैसाको करामत भन्ने कुरा बुझाएर के हामीले लोकतन्त्रको भविष्य बचाउन सकौँला ?
सबै हत्कण्ठा प्रयोग गरी चुनाव जित्नेहरूले लोकतन्त्रलाई धोखा दिइरहेका छन् । उनीहरूले चुनाव जितेर आफ्नो अनुहारमा अबिर लगाए । तर, लोकतन्त्रको अनुहारमा भने कालोमोसो दलेका छन् । यो आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्ने गल्ती हो । यसले कसैलाई विजयी बनाउँदैन । सबैलाई पराजित गराउँछ ।
Leave a Reply