युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
चेतनाथ आचार्य
सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही मंसिर अन्तिम साता लगभग ६० जना नेता तथा कार्यकर्ता लिएर चीन भ्रमणमा जाने कार्यक्रम तत्कालका लागि स्थगन भएको छ । प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण उनको पूर्वनिर्धारित भ्रमण अहिलेलाई स्थगन गरिएको समाचार सार्वजनिक भएको छ ।
उनको भ्रमण केही महिनाका लागि स्थगन गरिए पनि पछिल्लो समय महिनैपिच्छे नेपालबाट चीन भ्रमणमा जाने टोलीको लस्कर लाग्ने गरेको छ । चीनले आफ्ना अनुभव आदानप्रदान गर्न नेपाली नेताहरूलाई चीनमा बोलाउने गरेको हो । राजनीतिक स्थिरतासँगै नेपाल आर्थिक विकासमा पदार्पण हुन थालेपछि यो क्रम अझ तीव्रगतिमा अगाडि बढेको छ ।
चीनले नेपालबाट चार प्रकारका व्यक्तिलाई तालिम, प्रशिक्षण, अवलोकन तथा अन्तरक्रियाका नाममा चीन भ्रमण गराइरहेको छ । जसअन्तर्गत पहिलो श्रेणीमा नेपालका राजनीतिक दलका नेता र कार्यकर्ता छन् । त्यसमा पनि विशेषगरी पूर्वएमाले र पूर्वमाओवादी दलका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिइएको छ । यदाकदा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई पनि चीनले भ्रमणमा बोलाउने गरेको छ । कहिलेकाहीँ केही साना कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई पनि चीनले भ्रमणमा सहभागी गराउने गरेको छ । दोस्रो श्रेणीमा पत्रकार पर्छन् । हरेक महिना नेपाली पत्रकारको समूह चीनमा रहेकै हुन्छ । तेस्रो श्रेणीमा स्थानीय तहका पदाधिकारी रहेका छन् । नेपालमा निर्वाचन भएर स्थानीय तह बनिसकेपछि चीनले विभिन्न चरणमा यस्तो भ्रमण गराउन थालेको हो । चौथो श्रेणीमा नेपालका कर्मचारी पर्छन् । स्थानीय तहका कार्यकारी अधिकृतहरूलाई विभिन्न समूह बनाएर चीनले बोलाइरहेको छ । नेपालका विभिन्न सेवा र समूहका सहसचिवदेखि खरिदारसम्मका कर्मचारीलाई आफ्नो देशमा बोलाएर चीनले प्रशिक्षण पनि दिइरहेको छ ।
आखिर चीनले नेपालबाट यति धेरै मानिस बोलाएर के सिकाउँछ ? भ्रमणमा जानेहरू चीनबाट के सिकेर फर्किन्छन् ? चीन भ्रमणबाट फर्किएका नेपालीले चिनियाँ अनुभव कहीं–कतै लागू गर्छन् ? यी प्रश्न सामान्य लागे पनि देश निर्माणमा अहम् भूमिका राख्छन् । अहिलेसम्म नेपालमा यी विषयमा न गम्भीर बहस भएको छ न त विश्लेषण नै । नेपालीका लागि चीन भ्रमण गर्नु ज्ञान, सीप, अनुभव, विवेक, शिक्षा, पाठ लिनु नभई केही दिनका लागि बिदा मनाएर मनोरञ्जन लिनुमात्र भएको छ ।
फेरि पनि प्रश्न त जहाँको तहीं छ आखिर के सिकाउँछ, चीनले ? मूलतः चीनले नेपालीलाई प्रशिक्षण गराउने विषय गरिबी निवारणमा आफूले गरेका उपलब्धि, पूर्वाधार तथा प्राविधिक विकास, चिनियाँ चरित्रको समाजवादी व्यवस्था, चिनियाँ कम्युनिस्ट पार्टीको कार्यशैली, चिनियाँ कृषि व्यवसाय, बीआरआईको अवधारणा र प्रभाव, चिनियाँ कूटनीति, चिनियाँ अर्थतन्त्र, चिनियाँ राजनीतिक प्रणाली आदि हुन् । सम्बन्धित विषयका प्राध्यापकले सटिक र स्पष्ट भाषामा उल्लिखित विषयमा तथ्य–तथ्याङ्कसहित जानकारी दिन्छन् । नेपालीलाई मात्र नभई जुनसुकै देशबाट बोलाइएका प्रतिनिधिलाई चिनियाँले सिकाउने कुरा यही हुन् ।
सेमिनार हलमा पावरप्वाइन्टबाट प्रस्तुति दिनेमात्र होइन, सम्बन्धित क्षेत्रमा लगेर भ्रमण गराउने चलन पनि छ । चीनले तिब्बत, युन्नान, सिचुवान, कान्सु, क्विचौजस्ता प्रान्तमा गरिबी निवारणमा उल्लेख्य प्रगति हासिल गरेको छ । यी प्रान्त चीनका तुलनात्मकरूपमा कम विकसित र गरिब नागरिक धेरै भएका प्रान्त हुन् । सन् २०२० सम्ममा चीनले देशभरिका विपन्न नागरिकलाई गरिबीबाट मुक्त गराएर गरिबी उन्मूलन गर्ने घोषणा गरेको छ । चीनले विकास गरेको पद्धति र नमुना कार्यक्रमबाट भएका गरिबी निवारणका उदाहरण सम्बन्धित क्षेत्रमै गएर अवलोकन गर्न पाउनु राष्ट्रका लागि केही गरौं भन्ने व्यक्तिका लागि अवश्य राम्रो अवसर हो ।
चीनले गरिबी निवारणका लागि प्रयोग गरेका ढाँचाहरूमा पर्यटन प्रवद्र्धन, उद्योग, आधुनिक कृषि प्रणाली, वाणिज्य, पशुपालन, स्वरोजगार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा आदि छन् । पर्यटन प्रवद्र्धनमा स्थानीय संस्कृति संरक्षण गर्दै सुरु गरेको होमस्टेले गरिबी निवारणमा ठूलो योगदान गरेको छ । उद्योग तथा कलकारखाना खोलेर रोजगारी वृद्धि गरिएको छ भने विकसित प्रान्तमा रहेका ठूला उद्योगहरूले गरिबी भएका क्षेत्रमा गएर विभिन्न कार्यक्रम सञ्चालन गरी गरिबी निवारणमा योगदान गर्नुपर्ने सर्त राखिएको छ । सहकारी (कम्युन) मार्फत गरिएका कृषि कार्य र पशुपालनले आयआर्जनमा सहयोग पु¥याएको छ । स्थानीय उत्पादनलाई अनलाइनमार्फत चीनभरि तथा विदेशमा पनि बिक्री गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य र शिक्षासँगै सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य बीमा व्यवस्थाले गरिबीको कुचक्रबाट नागरिकलाई बाहिर निकालेको छ । प्राकृतिक प्रकोपका पीडितलाई नयाँ स्थानमा बसाइँ सारिएको छ । लघुवित्तले स्थानीयलाई स्वरोजगार हुन प्रेरित गरेको छ ।
गरिबी निवारणमा चिनियाँ अनुभव विश्वकै लागि अनुकरणीय छ । विकसित देशका अनुसन्धानकर्ताहरू चीनमा आएर गहन अध्ययन गरिरहेका छन् । उस्तै भूगोल र परिवेशमा रहेका नेपाल र चीनले यस विषयमा गहन सहकार्य गर्नसक्छन् । स्वरोजगारी र कृषि उत्पादनसँगै सांस्कृतिक प्रवद्र्धनमा नेपालले थुप्रै होमस्टे सञ्चालन गर्नसक्छ । अहिले केही ठाउँमा होमस्टे सञ्चालन भएका पनि छन् । नेपाली युवालाई विदेश पलायन हुनबाट रोकेर कृषि उत्पादनमा लगाउन सके नेपाल थुप्रै कुरामा स्वावलम्बी बन्न सक्छ । उत्पादनशील युवा बारी बाँझो राखेर खाडी मुलुक भासिएपछि भारतीय प्याजको भाउ बढ्नु तथा विषादीयुक्त भारतीय तरकारीले प्राथमिकता पाउनु स्वाभाविक हो ।
गरिबी निवारणबाहेक चीनले प्रशिक्षण दिने अर्को विषय हो– चिनियाँ कम्युनिस्ट पार्टीको संरचना, पद्धति, विकास र कार्यसञ्चालन विधि । १ अर्ब ४० करोड जनसङ्ख्या भएको चीनमा लगभग ९ करोड नागरिक चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य बनेका छन् । कुनै पनि व्यक्तिले उच्च माध्यमिक तह पार गरेपछि (१८ वर्षको उमेरमा) चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता लिन पाउँछ । त्यो समयमा कसैले पार्टी सदस्यता लिएन र ३० वर्ष कटेपछि पार्टी सदस्यता लिनप¥यो भने लामो परीक्षा पार गर्नुपर्छ । पार्टीको सदस्यता लिन चाहेकोबारे गहन प्रतिवेदन बनाउनुपर्छ । सम्बन्धित व्यक्तिको आचरण, पृष्ठभूमि र पारिवारिक अवस्थाको पनि अध्ययन गरेर लामो अनुसन्धानपछि मात्र सदस्यता दिइन्छ । पार्टी सदस्यले कडाइसाथ हरेक महिना लेबी तिर्नुपर्छ । लेबीमा व्यक्तिको कमाइको निश्चित प्रतिशत तोकिएको छ । कमाइ थपघट भएमा हरेक महिना लेबी पनि फरक हुन्छ । उदाहरणका लागि कुनै व्यक्तिले ‘ओभरटाइम’ काम गरेर बढी आर्जन गरेको अथवा कुनै परियोजनामा काजमा काम गर्न गएको भए उसले सोहीअनुसार त्यो अवधिको लेबी बढी तिर्नुपर्छ । कुनै व्यक्ति बिरामी परेर बिदा बसेको भएमा सोहीअनुसार लेबी कम तिर्नुपर्ने व्यवस्था छ । व्यक्तिको विशेष ज्ञान र क्षमताका आधारमा पनि पार्टीले मूल्याङ्कन गर्छ ।
पार्टीलाई चुस्त र सक्रिय बनाउन जिम्मेवारी वहन र भ्रष्टाचारमा शून्य सहनशीलतालाई पारदर्शीरूपमा अगाडि बढाउन पार्टीका हरेक सदस्यलाई दुईतर्फी निगरानीमा राखिएको हुन्छ । एउटा अनुशासन समितिले उनीहरूको निगरानी राखेको हुन्छ भने अर्को पार्टीकै विशेष निगरानी समिति पनि हुन्छ । पार्टीका तल्ला समितिको नियमित अधिवेशनसँगै पार्टी सदस्यको माथिल्ला समितिको बढुवा विधि पनि पारदर्शी हुन्छ । माथिल्लो समितिमा रहेका पार्टी सदस्यको जिम्मेवारीमा गरिबी निवारणमा व्यक्तिगत रूपमा योगदान गर्नुपर्ने स्वयम्सेवा पनि राखिएको छ । गरिबी निवारण र चिनियाँ कम्युनिस्ट पार्टीको सञ्चालन विधिसँगै जोडिएर आउँछन्– चीनको विकास र चिनियाँ चरित्रको समाजवादी व्यवस्था । ४० वर्षदेखि चीनले अङ्गालेको सुधार र खुलापनसँगै प्राप्त पूर्वाधार विकास प्रविधिको आविष्कारले चीनलाई विश्वको दोस्रो आर्थिक शक्ति बनाएको कुरा चिनियाँ प्राध्यापकले सरल तरिकाले व्याख्या र विश्लेषण गर्छन् । त्यही विकासलाई विश्वभरि छर्न चीनले बीआरआई अवधारणा ल्याएको पुष्टि गर्दै आलिशान पाँचतारे होटलमा राखेर प्रशिक्षण दिने गरिएको छ ।
चीनले बोलाएका नेपाली पत्रकारहरूले फर्किएर आफूसम्बद्ध सञ्चारमाध्यममा आफ्ना अनुभव प्रवाह गरेका छन् । दुई दशक अगाडिसम्म छिमेकी मुलुक भएर पनि नेपालले चीनबारे यथेष्ट जानकारी लिन सकेको थिएन । पश्चिमा सञ्चार जगतले तोडमरोड गरेका र बङ्ग्याइएका जानकारी लिन नेपाली बाध्य थिए । अहिले चीन भ्रमण गरेर फर्किएका नेपाली पत्रकारमार्फत नेपाली नागरिक चीनबारे धेरथोर जानकारी लिन सफल भएका छन् । पत्रकारबाहेक नेपालका नेताहरूले चीन भ्रमण गरेर देखेका, सुनेका र जानेका कुरा नेपालमा कहींकतै लागू गरेको देखिँदैन । नेताहरूले चीन भ्रमणबाट फर्किएपछि आफ्नो पार्टी र आफ्नो कमिटीमा त्यसबमोजिम प्रशिक्षण अथवा अनुभव आदानप्रदान गरेको कतै सुनिएको छैन । नेपालका कर्मचारीहरू चीनमा भ्रष्टाचार निर्मूल गर्ने तालिम लिन्छन् र स्वदेश फर्किएपछि फर्जी बिल बनाएर भ्रष्टाचार गर्ने नानीदेखि लागेको बानी जारी राख्छन् । स्थानीय तहका जनप्रतिनिधिहरूले चीन भ्रमणमा लिएका अनुभव केही दिन चौतारामा बसेर गफ सुनाउनमा सीमित भएको छ ।
देव गुरुङको नेतृत्वमा एउटा टोलीले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन विधि र तल्ला कमिटीको कम्युन प्रणालीबारे स्थलगत भ्रमणसहित प्रशिक्षण लिएको थियो । लालबाबु पण्डितको नेतृत्वमा आएको टोलीलाई चीनले भ्रष्टाचार निवारण र सदाचारबारे प्रशिक्षण दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी हेडक्वाटरमै लगेर प्रवचन दिन लगाइएको थियो । झलनाथ खनाल र माधव नेपालको टोलीले पनि थुप्रैपटक चिनियाँ आतिथ्य ग्रहण गरेका छन् । तर प्रश्न उठ्छ – उनीहरूले चीनबाट के लगे नेपालमा ?
चीन भ्रमणबाट फर्किएपछि चिया पसलमा बसेर ‘चीनको विकास त आम्मामामा’ भन्दै जिब्रो टोक्नेबाहेक कसैले केही गरेको पाइएन । ‘चिनियाँले मज्जासँग सिन्काले खाएको देख्ता हामी त दङ्ग प¥यौँ’ भन्नलाई मात्र चीन आउनै पर्दैन । ठमेल अथवा पोखराको लेकसाइटमा प्रशस्तै चिनियाँ रेस्टुरेन्ट छन् र त्यहाँ बाह्रैमास चिनियाँ पर्यटक चपस्टिक्सले खाइरहेका हुन्छन् ।
(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञको रूपमा कार्यरत छन् ।)
–नागरिक दैनिकबाट
Leave a Reply