भर्खरै :

देशभरि ख्वपको ज्योति

भक्तपुर नगरपालिकाले सञ्चालन गरेका ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले स्थापनाको क्रमशः १८ औँ र ११ औँ वर्षगाँठ मनाउँदै छन् । स्थापनायता दुवै कलेजले नेपालको इन्जिनियरिङ क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय छ । नाफामुखी र गुणस्तरहीन इन्जिनियरिङ शिक्षाका कारण कमसल प्राविधिक जनशक्ति तयार भइरहेको परिस्थितिमा स्थापना भएका यी दुई कलेजले सस्तो शुल्कमा गुणस्तरीय जनशक्ति तयार गर्दै आएका छन् । त्यसकारण यी कलेज देशकै नमुना र उदाहरणीय कलेजको ख्याति कमाउन सफल छन् ।
सबभन्दा महत्वपूर्ण कुरा त, यी दुवै कलेज स्थानीय तहबाट सञ्चालित छन् । देशका अन्य स्थानीय तह के गर्ने र कसो गर्नेमा अलमलिरहेको अवस्थामा भक्तपुर नगरपालिकाले सञ्चालन गरेका कलेजहरू अँध्यारोमा बत्तीजस्तै भएका छन् । स्थानीय तहमा इमानदार र जनसेवी नेतृत्व भए देशकै बृहत् हित हुने यस्ता उदाहरणीय काम गर्न सकिन्छ भन्ने कुराको दृष्टान्त यी कलेजहरू हुन् । भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धि कतिपय ‘मै हुँ’ भनिएका राजनीतिक दलको निम्ति चुनौती बनेको छ । धेरै–धेरै सङ्ख्यामा स्थानीय तहमा निर्वाचित शासक दलले हिम्मतसमेत गर्न नसकेका काम भक्तपुरमा भइरहेको छ । यसबाट देशका अन्य स्थानीय तहले सकारात्मक पाठ सिकेर आफ्नो परिस्थितिअनुसार केही उदाहरणीय काम गर्न सके देशको समग्र विकासले फड्को मार्नेछ । आज भक्तपुरमा बलेको ख्वपको ज्योतिले देशभरलाई उज्यालो बनाएको छ ।
नयाँ संविधानले स्थानीय तहलाई दिएको अधिकार दुरूपयोग हुँदा जनताले स्थानीय तहमा अधिकारभन्दा बढी भ्रष्टाचार पुगेको अनुभव गरिरहेका छन् । साम–दाम–दण्ड–भेद प्रयोग गरेका स्थानीय तहमा चुनाव जितेका मानिसहरूले आज स्थानीय तहलाई भ्रष्टाचारको केन्द्र बनाइरहेका छन् । जनप्रतिनिधि आफै ठेकेदार बनेर अकुत सम्पत्ति दोहन गरिरहेका छन् । करमाथि कर थोपरेर जनतालाई दुःख दिने काम भइरहेको छ । प्राकृतिक स्रोतको जथाभावी दोहन गरेर लुटपाट गर्ने र आफ्ना मान्छेलाई पोस्ने काम स्थानीय तहका जनप्रतिनिधिहरूमार्फत नै भइरहेका छन् । यस्तो परिस्थितिमा भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति आदि क्षेत्रमा गरेको गतिविधि सकारात्मक कामको मानक बनेका छन् ।
भक्तपुर नगरपालिकाले इन्जिनियरिङ शिक्षामा दुई दसकको अनुभव हासिल गरिसकेको छ । आज उसले मेडिकल कलेज स्थापना गरेर देशको स्वास्थ्य क्षेत्रमा योगदान गर्न चाहिरहेको छ । अरू मेडिकल कलेजको तुलनामा अविश्वसनीयरूपमा कम मूल्यमा भक्तपुर नगरपालिकाले स्थापना गर्ने मेडिकल कलेजबाट चिकित्सक तयार गर्न खोजिरहेको छ । तर, सत्तासीनको सङ्कीर्ण र स्वार्थी जमातले यो काम गर्न अवरोध गरिरहेको छ । माफियाले कमाउने नाफामा असर पर्ने चिन्ताले आज सिंहदरबारका घुम्ने मेचमाथि बस्ने ‘अन्धा’हरू भक्तपुर नपालाई मेडिकल कलेज स्थापना गर्न रोक लगाइरहेका छन् । तर, कोठा थुनेर घामको किरण रोक्न खोज्नु मूर्खतामात्र हो । भक्तपुर नपाले थालेको यो उज्यालो घामको पाइला रोक्ने मूर्खहरूले एक दिन समयसँग हार खाने अवश्यम्भावी छ । जनताको सेवामा तल्लीन नगरपालिकाको नेतृत्वले चालेको पाइलालाई समयले सफलताको उज्यालो ताज लगाइदिनेछ । जनताको विश्वास आजसम्म कहिल्यै पनि पराजित भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *