भर्खरै :

वार्ताअघि तथ्य तथ्याङ्क सङ्कलन जरुरी

– गौरव प्रधान
मिचिरहेको नेपाली भूमि पचाउन या सोको प्रमाण जुटाउन भारतले कार्तिक १६ गते नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको राजनीतिक नक्सामा समावेश गरेपछि भइरहेको विरोध चालू छ । नेपाली भूमि नेपालको बनाउन सचिवस्तरीय, परराष्ट्रस्तरीय र प्रधानमन्त्रीस्तरीय संवाद चलाउने कुरा सरकारले फुकिरहेको छ तर प्रक्रिया अघि बढेको छैन । यसैबीच प्रधानमन्त्री केपी शर्माले आफ्नै पार्टीका नेता माधवकुमार नेपाललाई नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेषदूतका रूपमा पठाउन लागेको जानकारी प्रकाशमा आएको छ । नेपाली भूमि फिर्ता लिन सीमा अतिक्रमणबारे वार्ता पहल गर्न नेता नेपाल भारत जाने भने तापनि भारतको तर्फबाट त्यसको कुनै औपचारिक सूचना नआएको बताइएको छ ।
वार्ता चाँडै गरिनुपर्छ । नेपाल सरकार नेपाली भूमि जोगाउन हरदम लाग्नुपर्छ । सरकारले एकातिर वार्ताको पहल भइरहेको बताएको छ भने अर्काेतिर वार्ता पहल गर्न नेकपाका नेता नेपाल प्रमको विशेषदूत भएर भारत जाने तयारीमा रहेको बताइएको छ । नेता नेपाल विशेषदूत भएर भारतसँग संवाद गरेपछि वार्ता सुरु हुने या नजाँदै सुरु हुने हो ? अन्योल देखिएको छ । वार्ता जुन तहबाट भए पनि नेपाल सरकारले अडान छोड्नुहुँदैन । आम नेपाली जनताका भावना लिएर वार्ता गर्नुपर्छ । सरकारले वार्ता गर्नुअघि नै हरेक प्रमाणहरूको अध्ययन, खोजबिनमात्र होइन सङ्कलन पनि गर्नुपर्छ । हालसम्म नेपालले पाएका विभिन्न प्रमाणहरू सङ्कलन गर्ने, भारतले कहिलेदेखि कहाँ कहाँ भूमि कब्जा गरिरहेको हो सबै तथ्य तथाङ्क सङ्कलन गर्नुपर्छ ।
यस्ता प्रमाणहरू वार्ता हुनुअगावै तयार गरिराख्नुपर्छ । प्रम ओलीले कार्तिक २३ गते डाकेको सर्वपक्षीय बैठकले भारतीय राजनीतिक नक्सा मान्य नहुने निष्कर्ष निकालेको थियो । यसपछि परराष्ट्र मन्त्रालयले मंसिर ५ गते ‘कूटनीति नोट’ पठाएर विरोध जनाएको थियो । नेपाली भूमि नेपालको बनाउन सरकारले भित्री हृदयदेखि प्रक्रिया अघि बढाएको हो भने अब सरकार कुनै हालतमा पछि पर्नुहुँदैन । नेपाली जनताको आन्दोलन सेलाउनमात्रै पत्राचार गरेको या वार्ताको कुरा उठाएको हो भने त्यो सरकारको जाली काम हुनेछ र नेपाल सरकार नेपाली भूमि नेपालको बनाउन असफल भएको ठहरिनेछ । यसले नेपाली भूमि मिच्ने भारतलाई थप हौसला मिल्नेछ र अन्यत्रको पनि नेपाली भूमि मिच्न बल पुग्नेमा शङ्का छैन । सरकारले हालसम्म सङ्कलन गरेका प्रमाणहरू सर्वसाधारण नेपालीको जानकारीको लागि सार्वजनिक गर्नुपर्छ । यसले आम नेपाली सुसूचित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *