भर्खरै :

कुसंस्कार र अन्धपरम्पराले छाउगोठ प्रथा यथावत

– मेरिना शाक्य
छाउगोठ प्रथाले धेरै युवतीहरूको मृत्यु भएपछि जनदबाबका कारण सरकारले छाउगोठ प्रथा अन्त्य गर्ने र भत्काउने अभियान छेडे पनि त्यो प्रथा अन्त्य भएको छैन । सरकारको अभियान सुस्त छ । एकचोटि कुरा उठाएपछि अर्को त्यस्तै घटना नहोउञ्जेल त्यसबारे कुरा उठाइँदैन । छाउगोठ सामन्तहरूले बसालेको प्रथा हो । जनतामा राजनीतिक चेतना, सांस्कृतिक स्तर वृद्धि गर्ने जागरण अभियान सरकारले नचलाएको हुँदा अन्धविश्वासले जरा गाडेको हो, जनता अन्धविश्वासमा जकडिएको हो । अछाम, बाजुरा र दैलेखका केहीँ गाउँ–ठाउँमा अझै छाउगोठ प्रथा बाँकी छन् । अन्य जिल्लामा छाउगोठ नै नभए पनि महिनावारी भएपछि पूजा पाठ गर्न नमिल्ने, बारीमा पस्न नहुने भन्ने भनाइ नभएको होइन । तर, अहिले त्यो धेरै सुधार भएको छ ।
महिनावारी सबै महिलाहरूको हुन्छ । यो अछाम, बाजुराका महिलाको मात्र होइन नेपालभरिका महिलाहरूको हुन्छ, विश्वभरिका महिलाहरूको हुन्छ । तर, अछाम र बाजुरामा झैँ अन्यत्र छाउगोठ प्रथा थिएन, छैन, छाउगोठ बनाउनु पर्दैन । आफ्नो घर छोडेर अर्को कुनै गोठमा बस्नुपर्दैन । एक्लै चिस्यानमा अलग बस्नुपर्दैन । आफ्नै छोरीलाई फोहरी ठानेर देवता रिसाउला, पाप लाग्ला, दुर्दशा निम्तिएला भनेर असुरक्षित गोठमा बस्ने बाध्यता ठीक होइन । संस्कारको नाउँमा भइरहेको यो प्रथा अज्ञानताको कारक होे । त्यही अज्ञानता र अन्ध परम्पराका कारण छाउगोठमा सर्पले तोकेर, कहिले जनावरको आक्रमणमा परेर त कहिले मान्छेकै कारण यौन दुव्र्यवहार भएर, कहिले रगत धेरै बगेरै महिलाको निधन भएको पाइन्छ । छाउगोठ प्रथा अन्त्य गर्न स्थानीय जनतामा सांस्कृतिक स्तरबारे जनचेतना जगाउनुपर्छ, अन्य परम्परालाई छोडाएर समयअनुसार अघि बढ्ने वातावरण विकास गर्नुपर्छ । यस कार्यमा सरकार, राजनीतिक दल, स्थानीय तह, समाजका प्रबुद्ध वर्गको सहयोग र साथको खाँचो हुन्छ ।
बाजुरामा गत वर्ष नै स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायको सहयोगमा छाउगोठ भत्काउने अभियान थालनी गरे । महिलाले महिनावारी भएको समयमा बास बस्नको लागि कुसंस्कार र धामीझाँक्रीका कारण भत्काइएको छाउगोठ फेरि निर्माण गर्न थालेको समाचार पनि प्रकाशमा आयो । शिक्षिका, नर्स र जनप्रतिनिधि महिलासमेत छाउगोठमा बस्न बाध्य पारिएको घटनाले छाउगोठ प्रथा उन्मूलन भएन । हो, समयसँगै नयाँ पुस्तामा छाउगोठ बस्न नहुने भावना जाग्यो । तर, पुराना पुस्ताका या उमेर गइसकेका महिलाहरूमा कुसंस्कार र अन्धविश्वास व्याप्त भएकोले या जनचेतना दिन नसक्दा छाउगोठ प्रथा उन्मूलन नभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *