कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
रामकृष्ण दुवाल
तःगुठीको दायित्व
जात्रा पर्व सञ्चालन हुनुभन्दा ४ दिन अगाडि नीतं भन्ने दिनदेखि प्रारम्भ गरिन्छ । उक्त दिनमा बालकुमारीको नाममा एउटा राँगो भाकल गरेर आफ्नो गुठीगृहमा राखिन्छ । त्यो कार्य गर्न खड्गी थरकाले मोलतोल छिनिसकेपछि मात्र भित्याउने चलन देखिन्छ । त्यस दिन दुईवटा राँगोमा कुन चाहिँ उपयुक्त अथवा बालकुमारी मातृदेवीले दुईमध्ये मनपराउनेलाई स्वीकार्ने परम्परा छ ।
त्यसको ४ दिनपछि छ्वयला भूको दिनमा राँगोलाई विधिवत पूजा गरी चिराग बालेर दिउखेल भन्ने ठाउँ लाने गथ्र्याे । त्यहीँ प्राङ्गणको एउटा ठाउँमा लिपपोत गरी उक्त राँगोको रक्तनली खोजी खड्गीका थकाली र अन्य सहयोगी खड्गीहरूले अँजुलीमा रगत लिई शक्तिपीठ बालकुमारी माताका गणहरूलाई चढाउने चलन देखिन्छ । त्यो कृत्य सकिएपछि विधिवत गुठीगृहमा फर्काई चार भागको एक भाग पाँगावासीका सम्पूर्ण घरघर र त्यस गाउँ प्रतिष्ठापन गरेका देवी देवताहरूलाई धानको ढुटोमा लुटपुट्याई प्रसादको रूपमा चढाउने प्रचलन देखिन्छ । त्यसको मुटु, कलेजो, फोक्सो अनि अलिकति जुन ठाउँमा प्वाल पारी रगत निकालेको छ त्यस भागको मासु जाभु लप्ते (एक प्रकारको पाँच चोसो गाँसिएको पात) मा पोको पारी ल्होँकिला गुठीका पालोवालालाई बुझाउने परम्परा देखिन्छ । आजभोलि त्यो परम्परा लोप भएको देखिन्छ । ल्होँकिला गुठी अर्थात् बालकुमारी गुठीले मन्दिरको अगाडि बनाइएको यज्ञशालामा आहुती होम गरी चढाउने परम्परा देखिन्छ । प्रायः अब त्यो क्रियाकलाप नभएको देखिन्छ ।
यता चौथीको बिहान न्याखाः न्याहुहरूको पःमाका पालावालाले स्मशान भैरव साधनास्वरूप सधुवा महिलाले नुहाई धुवाई गरी नङ काटी आफ्नो घरको गोप्य कोठामा लिपपोत गरी किमनालाई शुद्ध जातोेमा पिसी परालको चक्का आसन बनाई नयाँ मृतिका घ्याम्पोलाई भैरव प्रतीक षोदशोपचारले सम्हेबजीसहित पूजा गरी किमनाको पिठो र शुद्धजल भरी निगालाको लट्ठीले चलाएर माटाकै पालाको बिर्कोले छोपी बत्ती बाली सम्पन्न गर्ने चलन देखिन्छ । त्यस्तो पूजा गर्ने गुठीको नाम याः गुठी हो । यो गुठी नितान्त जात्रासँग सम्बन्धित छ । यसलाई नेपालभाषामा जात्रा गुठी भन्ने गरिन्छ । भेलु पकाएको ५ दिनपछि अष्टमीको दिनमा नायो खिं र इन्द्रबाजासहित माहाजः अर्थात् जकोनीले डङ्गोल थरका मानिसले बोकी विष्णुदेवी शक्तिपीठमा लगेर चिहानको माथि प्रतिष्ठा गरी मसान भैरवस्वरूप राख्ने चलन देखिन्छ । पहिला पहिला यस्तो परम्परा रहेकोमा आजभोलि पालोवाला घरको थाकुलीनीले मौन व्रतस्वरूप बिनाबाजा अघिअघि भेलू त्यसपछि पूर्ण आहूतिका लागि तयार गरेको कोतः थली र कलथाली लिएर क्रमशः भाजंगल शक्तिपीठमा जाने परम्परा बसेको देखियो । यो इन्द्रबाजा र नायखिं बाजा नआउनुको खास कारण त्यस्ता परम्परागत प्राचीनशैली झल्काउने व्यवस्था चलाउन राखेको आयस्ताको जग्गा सबै सरकारले रैकरमा परिणत गरिदिएकोले त्यो कृत्य चलन बन्द भएको देखिन्छ । पूजा र कलाकारको लागि व्यवस्थापन गर्न डङ्गोल अथवा महर्जन थरका जसलाई माहाजः भन्ने गरिन्छ, उनीहरूले पनि आ–आफ्नो नाममा गुठीको जग्गा रैकर गरिसकेपछि आफसेआफ छोडी दिएको देखिन्छ । आजभोलि यो जात्रा सम्पन्न गर्ने नाममा बालकुमारी गुठीको नाममा रहेको पूजाको लागि भनेर ठेकिएको १२ पाठी धानबाहेक अन्य सबै मासिसकेको देखिन्छ । त्यसो हुँदा हुँदै पनि पाँगाको रक्षा र शुभकर्मको लागि कर्तव्य पालन गर्ने नाममा न्याखा न्याछु पःमा खलका गुठियारहरूले आफ्नै व्यक्तिगत खर्च उठाएर चलाइरहेको देखिन्छ । यसलाई दीर्घकालीन बनाउन आफ्नै स्रोतसाधनको सोच पनि राख्दै आएको देखिन्छ । सरकारले गुठी जग्गाको हकमा रैकरमा परिणत गरे पनि आजसम्म गुठीलाई कुनै आर्थिक सहयोग प्रदान गरेको देखिँदैन । आर्थिक विपन्नता झेल्दा झेल्दै वार्षिकरूपमा चल्दै आएको सनातन वैदिक र तान्त्रिक पूजाहरू ४०० चार सय वर्षदेखि आज पर्यन्त निरन्तर नै देखिन्छ । त्योभन्दा पहिलाको कुनै पनि अभिलेख फेला परेको छैन ।
सनातन वैदिक पूजाआजामा प्राचीन कालदेखि साविक चलाउँदै भोजको रूपमा ग्रहण गर्ने प्रसाद भोज जात्राको अन्तिम अथवा समापनको दिन भेला भई खाने व्यवस्था गरेको देखिन्छ । यो सञ्चालन गर्न सम्बन्धित गुठियारहरूले आप्mनै व्यक्तिगत स्रोत जुटाएर चलाउँदै आएको लगभग चालीस वर्ष भइसकेको देखिन्छ । सानो परिवारका गुठियारका साथै आफ्नो जिम्मेवारी र पहिचानलाई गुम्न नदिने कुरा सबै नै सचेत देखिन्छ ।
अझ आजभोलि ६ थरीका पःमा खलःका छोरीबुहारीहरू उक्त जात्रामा संलग्न भई तामझामसहित जाने योजना देखिन्छन् । यसका लागि चेली र सधवा बुहारीहरूको बीचमा गहन छलफल भइरहेको सुन्नमा आएको देखिन्छ । हुन त जात्रा गर्ने देवीहरू सबै शक्ति देवीपीठको रूप स्त्रीहरू नै भए पनि सबै काममा पुरुषहरूको मात्र उपस्थिति देखिन्छ ।
गोरामत (गोलामत)
हरेक वर्ष मार्ग सुदी सप्तमीको दिन दीपको प्रज्ज्वलन गर्ने परम्परा छ । यो दीप प्रज्ज्वलन बज्राचार्यबाट सम्पन्न गरिन्छ । यसको दर्शनको विषयमा व्याख्या गर्नुभन्दा पहिले अलिकति फर्पि·को विषयमा लेख्नुपर्ने देखिन्छ, आवश्यक पनि देखिन्छ ।
फर्पि· द्रङ लिच्छवीकालदेखि नै अभिलेखमा देखिएको ग्रामको रूपमा स्थापित भइसकेको बस्ती भन्नेमा फरक नपर्ला । फर्पि· द्रङमा गरिने धेरैजसो संस्कार पाँगासम्म आइपुग्दा केही संस्कृति, सामाजिक व्यवहार र संस्कारमा तलमाथि भएको हुनसक्छ । किनभने समय, परिस्थिति र अन्य कुराहरूले प्रभाव पारिसक्ने भएको हुनाले यस्तो हुन गएको होला ।
ज्ञानको अर्थ चेतना हो । अज्ञानको अर्थ पशुत्व जड हो । जडबाट ज्ञान लिनु भनेको निगनात्मक प्रवृत्तिका प्रतीक आगनात्मक नियोजक आत्मविश्वास हो । वेदले पनि यही कुराको आभास दिएजस्तो लाग्छ । वेद अलौकिक होइनजस्तो लाग्छ । वेद भनेको मानिसहरूले अवलम्बन गरिरहेको जीवनशैलीको उद्बोधमात्र हो । त्यसैले वेद भनेको ज्ञान र सीप होला भन्ने विचार गर्ने उच्चत्तम दिग्दर्शन हो । हाम्रा चाडपर्व, रीतिथिति र व्यवहारहरू सबै त्यसैको बिम्ब र प्रतिबिम्ब हुन्छ । ढुङ्गालाई सिन्दुर र पुष्प हाले देवता बन्ने, धातुलाई खोतल खातल गरी ठोकठाक गरी मानव आकृतिमा ढाले कलाकृत ईश्वरका अवतार हुने जस्ता हाम्रो चेत र चिन्तन वेदले व्याख्या गरेको पाएँ तर धर्मको व्याख्या बुझ्नै सकिनँ । वेद धर्म हो भन्ने कुरा पटक्कै लाग्दैन । वेद जीवन दर्शनको पथ प्रदर्शक हो । जोसुकैले पढ्नै नहुने वेद किन छाप्नुप¥यो ? वेद भनेको एकोहोरो ज्ञानको मियो होइन बहुज्ञानको कल्पलता हो । माक्र्सवाद, कुराण, बाइबल अध्ययन गर्ने कहीँबाट पनि बर्जित देखिँदैन । त्यस्तो अवस्थामा वेद कसरी बर्जित हुन्छ ? वेदलाई खुम्च्याइयो भने समाजलाई अपूरणीय क्षति पुग्छ । तर, नेवार समाजमा भएको आफ्नै मौलिक ढङ्गको संस्कार, संस्कृति र सामाजिक व्यवहार वेदमा उपनिषद् र पुराणमा समेत नभएको देखिन्छ । त्यसैले नेवार समाजको आफ्नै विशिष्ट खालको क्रियाकलाप छ ।
ब्वः घासा र स्यूकाःभू
नेवार समुदायको हरेक वैदिक कार्यमा मर्यादाक्रमको ज्यादै महत्व देखिन्छ । कुल लक्षण भोजदेखि देपूजा (देवाली) र हरेकसँग सम्बन्धित गानाहरूमा मर्यादाको स्थान उच्च नै देखिन्छ । त्यस्ता क्रिया परापूर्वकालदेखि अनवरत देखिन्छ ।
ब्वः घासाको अलिकति यहाँ व्याख्या गर्नुपर्ने हुन्छ । ब्वः भनेको देखाउने अथवा राख्ने र घासा भनेको खानेकुराको परिकार हो । त्यसैले ब्वः घासाको अर्थ समग्रमा खानेकुराको व्यवस्थापन हो । यो खानेकुरा व्यवस्थापनमा मर्यादाको शास्त्रीय नियम अपनाएको देखिन्छ । नेवारहरू विशेषगरी देवी र शक्तिमा विश्वास गर्ने समुदायभित्र पर्छ । बौद्ध, हिन्दू वा शैव सबैमा यो खालको आधार एकै देखिन्छ । बौद्धहरूको शास्त्रीय विधिअनुसार ४८ सम्म देखिन्छ भने हिन्दू वा शैवहरूको १२ देखि ६ सम्म अनिवार्य देखिन्छ । पोडश संस्कार, बाह्र संस्कार र दश संस्कारमा विभाजित गरेको देखिन्छ । यी संस्कारहरू गणपूरक संस्कारसित सम्बन्धित देखिन्छन् । नेवार समुदायभित्र वेददेखि सामूहिक संस्कारसम्म मान्ने परम्परा देखिन्छ । वेदले व्याख्या नगरे पनि लोकाचारजस्ता सामाजिक संस्कार मान्ने परम्परा नेवार समुदायभित्र अद्यापि चलिरहेको देखिन्छ । छ्वय्ला भू संस्कार वेदसित सम्बन्ध नदेखे पनि प्राचीन कविला युगसँगै जोडिएको देखिन्छ । गैरनेवारहरूको पञ्ज गम्य र नेवारको सम्हेबजी एकै अर्थ लाग्छ । यसलाई अन्वेषणको आवश्यकता पर्छ । जल, वायु, तेज, आकाश र अग्नीको प्रतीक सम्हेबजीको प्रयोग गहन विषयको मानिन्छ ।
विशेष गरेर नेवार समाजमा गुठीमा गरिने भोजमा पात निर्माण गर्दा केराको पात अथवा सालको पात (धुसला लप्ते) दुई प्रकारका पातमा खाने चलन देखिन्छ । केराको पातलाई गास्ने विधि नचाहिने तर सालको पात गाँस्दा अलिकति विधि पु¥याएर निर्माण गरिन्छ । पात निर्माण गर्दा जम्मा १६ वटा पातलाई क्रमबद्ध मिलाएर गाँस्ने परम्परा छ । पहिलो तीनवटा पात र त्यही तीनवटा पातलाई घेरेर दोस्रो पङ्क्ति ५ वटा र अन्तिममा तेस्रो पङ्क्ति ८ वटा गरेर निर्माण गर्ने प्राचीन परम्परा देखिन्छ । बौद्ध नेवार भए पहिलो तीनवटा पातलाई बुद्ध, धर्म र सङ्घको प्रतीकको रूपमा मान्छन् । हिन्दू अथवा शैव नेवार भए ब्रह्मा, विष्णु, महेश्वर (महादेव) मान्छन् । एउटा पातमा ८४ वटा सिन्कामात्र प्रयोग गर्नुपर्ने हुन्छ । यो चौरासी ब्यञ्जनको प्रतीकको रूपमा लिएको पाइन्छ । तेस्रो ८ वटा पात अष्टमातृका र दोस्रो बीचको जुन अवस्थाको गणनाथकको रूपमा लिने गरेको नेवारहरूको परम्परागत बौद्धिक शेषको अभिलेखअनुसार देखिन्छ । यो ब्वः घासा राख्दा जुन जुन देवीहरूको जुन जुन मर्यादा क्रमस्थान छन् त्यहीअनुसार अभिलेख हेरेर राख्ने मान्यता अहिलेसम्म देखिन्छ । यो ब्वः घासा राख्दा अभिलेख हेरेरै राख्ने मान्यता अहिलेसम्म देखिन्छ । यो ब्वः घासा राख्दा अगाडिको पातको एउटा सानो भाग भैरवको प्रतीकको स्वरुप मानेर खाली छोड्ने परम्परा देखिन्छ ।
ब्वः घासाका परिकारहरूः
१) खय्पिः ४ूह४ू अङ्गुलको चारकुने
२) नलिघासाः मुलालाई लाम्चो लाम्चो गरेर काटेका केही टुक्राहरू
३) कंघासाः सानो केराउ पिसेर हिङ्पानीको घोल मिसिएको
४) हामोघासा (हामोगुली)ः तीलको धुलो सानो सानो फर्सीको टुक्राहरूमा घोलिएको
५) घउघासा (लैं धौ घासा नली) ः फर्सी अथवा मूलालाई नली नली बनाई दहीले मुछेको
६) वाउँघासाः उसिनेको हरियो साग
७) बाला ओ (सो ओ)ः मास पिसेर नुन नहाली तेलमा सेल पकाएजस्तै पकाएको
८) चाकुगलीः फर्सीको सानो सानो चनाजस्तो बनाएर चाकुको झोलमा मुछेको
९) हिंलाः काँचो राँगाको मासुको टुक्रालाई डिङ्ले मोल्ने
१०) पँलाः काँचो राँगाको मासुको टुक्रालाई कालज्यामरिको झोल
११) म्वाविसियाः कालो भटमास भुटेर राखेको
१२) फसिपाक्त (चय्पि)ः खयपिभन्दा अलि सानो सकेसम्म कुनाकाटी अण्डाकार बनाउने
यो ब्वः घासाको परिकार माथि उल्लिखित विभिन्न हस्तलिखित ग्रन्थ र गुठीका अभिलेखमा लेखिएबमोजिम भए पनि गुठीका आ–आफ्नै परम्परागत चलनअनुसार देखिन्छ । तर तात्विक फरक देखिँदैन ।
समाप्त
Leave a Reply