भर्खरै :

प्राकृतिक चिकित्सा पद्धतिबाट सेवा दिने अस्पताल स्थापना

विराटनगर, २२ मङ्सिर (रासस) : ‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी’ बनाउने उद्देश्यले विराटनगरमा ओम वेलनेश अस्पताल स्थापना भएको छ । विराटनगर महानगरपालिका वडा नंं २ मा स्थापना भएको सो अस्पतालमा उच्च रक्तचाप, मधुमेह, हृदयरोग, पक्षाघात, मेरुदण्ड, नसा तथा जोर्नीका समस्या, माइग्रेनजस्ता शारीरिक समस्याको प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार सेवा प्रदान गर्नेछ । अस्पतालमा फिजियोथेरापी, मसाज, योग तथा तनाव व्यवस्थापनमा दक्ष चिकित्सकद्वारा सेवा प्रदान गर्ने सञ्चालिका नमिता न्यौपानेले जानकारी दिनुभयो ।
अहिले अस्पतालमा तीन चिकित्सकसहित १० दक्षजनशक्तिले सेवा प्रदान गर्ने छन् । वेलनेश अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा विराटनगरका शिवा उपाध्याय, नमिता न्यौपाने, राधा ढकाल अधिकारी र बीना कार्कीको रु सात करोड ५० लाख लागतमा अस्पताल सञ्चालनमा आएको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अस्पतालको आज उद्घाटन गर्दै प्राकृतिक चिकित्सा प्रणाली मानिसले अपनाउनुपर्ने सुझाव दिँदै प्रदेशलाई स्वस्थ्य, बलिया र स्वच्छ बनाउन यो अस्पतालको भूमिका अग्रणी रहनेमा जोड दिनुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लाग्नबाट बच्न मानिसले सन्तुलित आहार र योगमा ध्यान दिनुपर्ने बताउनुभयो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्राकृतिक उपचार पद्धतिले मानिसलाई जीवनलाई सरल र सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधिसभाका सदस्य अमनलाल मोदीले प्राकृतिक उपचार विधि सबैभन्दा उत्कृष्ट विधि हो भन्नुभयो । अस्पतालका अध्यक्ष उपाध्यायले महिला उद्यमीका साथबाट सञ्चालनमा ल्याएको यो अस्पतालको सेवा सरल एवं सहज हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *