भर्खरै :

नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवादको विरुद्ध सङ्घर्ष गर्दै

कञ्चनपुर, २२ मंसिर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमाञ्चल प्रदेश संयोजक नन्दबहादुर शाहीको उपस्थितिमिा शनिबार पार्टी समर्थकहरूको भेला सम्पन्न भयो ।
भेलामा पार्टी केन्द्रीय सदस्य शाहीले राजनीति भनेको आफन्त जम्मा गरेर भोजभतेर गर्नु नभएको बताउँदै देश र जनताको अधिकतम हितका लागि निःस्वार्थ ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।
देशमा आफूलाई कम्युनिस्ट आन्दोलनको मूलधार र क्रान्तिकारी धार दाबी गरेर नथाक्नेहरू आज कम्युनिस्ट आदर्श र सिद्धान्तको उच्चारणसम्म गर्न नसक्ने गरी दक्षिणपन्थी अवसरवादमा पतन भइसकेको चर्चा गर्दै उहाँले नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवादको विरोधमा सङ्घर्ष गर्दै आएको सच्चा कम्युनिस्ट पार्टी हो भन्नुभयो ।
भारतीय विस्तारवादले नेपालको सीमा मिचेर नेपाली भूमि अतिक्रमण गरिरहेको चर्चा गर्दै उहाँले सीमा जोगाउन नेपालले सीमा सुरक्षाको जिम्मासहित नेपाली सेना खटाउनुपर्ने धारणा धेरै अगाडिदेखि राख्दै आएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिं विकले कम्युनिस्टहरू जातीय र क्षेत्रीय कुरा गर्दैनन् र कुनैखाले भेदभाव पनि गर्दैनन् भन्दै वर्गीय मुक्तिपछि जातीय मुक्ति सम्भव हुन्छ भन्नुभयो ।
उहाँले शासक दलका नेता कार्यकर्ताहरूले राजनीतिको नाममा राज्यकोष लुट्ने, बजेट हिनामिना गर्ने र अपराधीहरूलाई संरक्षण गर्ने गर्दा राजनीतिप्रति जनताको वितृष्णा बढेको चर्चा गर्दै कामगरी खाने जनता सचेत र स·ठित बनेपछि समाजमा आमूल परिवर्तन आउने छ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले देश र जनताको हितमा निःस्वार्थपूर्वक राजनीति गर्दै आएको पार्टी नेमकिपा भएको बताउँदै नेमकिपाजस्तो पार्टी बलियो नभएसम्म देशको राम्रो भविष्य हुनसक्दैन भन्नुभयो ।
वर्तमान लोकतान्त्रिक गणतन्त्र पनि पुँजीवादी व्यवस्था नै भएकोले यसमा बहुमत कामदार जनताको हित नहुने स्पष्ट पार्दै उहाँले समाजवादी गणतन्त्र मात्र कामदार वर्गका जनताको हित सुनिश्चित हुने व्यवस्था भएको बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले नेमकिपाले कुनै लोभलालच देखाएर सङ्गठन बनाउने गर्दैन भन्नुभयो भने जिल्ला सदस्य विकास खत्रीले पनि समसामयिक राजनीतिबारे चर्चा गर्नुभएको थियो ।
भेलामा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनको सदस्यता वितरण गर्नुका साथै दलबहादुर बोहराको संयोजकत्वमा ७ सदस्यीय नेमकिपा कञ्चनपुर जिल्ला सम्पर्क समिति गठन गरियो । समितिको उपसंयोजकमा नानाराम कोली, सचिवमा अम्बादत्त भट्ट, कोषध्यक्षमा रत्नबहादुर खडका र सदस्यहरूमा कमला लुहार, मिनु गिरी र प्रभाकर भट्ट रहनुभएको छ ।
एमाले र माओवादीले सर्वहारा वर्गको हितको नारा दिई पुँजीवादी सरकारमा गएर पुँजीपति वर्गको सेवा गर्ने संशोधनवादी बाटो लिई श्रमजीवी जनतालाई धोखा दिएको कारण देखाई ती पार्टीमा गएकाहरुले पार्टी परित्याग गर्ने लहर सुदूरपश्चिममा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *