भर्खरै :

भारतीय राजदूतावास अगाडि नयाँ पुस्ताको उपस्थितिको अर्थ

दसकौँ अघिदेखि भारतले गरिरहेको सीमा अतिक्रमणको विरोध नेपाली जनताले गर्दै आएका छन् । भारतले गर्दै आएको बलमिचाइको विरोध विभिन्न तवरले हुँदै आएको पनि हो । नेपाल–भारतबीचको सीमा खुला नै भए पनि एक ऐतिहासिक क्षणमा भएको सन्धि र सिमानाको सिद्धान्तअनुसार व्यवस्थित हुनुपर्ने धारणा नेपाली जनताको रहँदै आएको छ । यस्तैमा महिना दिनअघि भारतले आफ्नो नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा अतिक्रमित नेपाली भूमि कालापानी–लिम्पियाधुरा क्षेत्र भारतमा पारेपछि नेपाली जनताद्वारा विरोधका विभिन्न गतिविधि हुँदै आएको हो । नेपाली भूमि अतिक्रमित भएकोमा नेपाल सरकारले भारतसमक्ष कडारूपमा विरोध प्रकट गर्नुपर्ने र स्पष्ट प्रमाणका आधारमा भूमि फिर्ता लिई त्यहाँबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने माग देशभक्त नेपाली जनताको हो । नेपाली भूमि मिचेर भारतले एकतर्फी तवरले नयाँ नक्सा तयार गरेको विषय अन्तर्राष्ट्रियकरण गर्नुपर्ने र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्ने मत पनि बलियो छ । तर, वर्तमान सरकार कूटनीतिक माध्यमले समस्या समाधान गर्ने रट लगाउँदै सामान्य कूटनीतिक कार्यकलाप नगरी चुपचाप बसेको छ । त्यसैले वर्तमान सरकारले यत्तिकै अतिक्रमित नेपाली भूमि फिर्ता लिन पहल गर्ला र भारतले अतिक्रमित भूमिबाट आफ्ना सेना फिर्ता लानेमा नेपाली जनताले विश्वास गर्न सकिरहेका छैनन् ।
मंसिर २३ गते सोमबार नेपाल मजदुर किसान पार्टीको आह्वानमा भारतद्वारा भइरहेको नेपाली भूमि अतिक्रमणविरूद्ध जुलुस तथा राजदूतावासमा विरोध पत्र बुझाउने कार्यक्रम भयो । उक्त जुलुस सीमा र नेपाली भूमि अतिक्रमणविरूद्ध काठमाडौँमा आजसम्म भएका जुलुस प्रदर्शनमध्ये सबैभन्दा बढी जनसहभागिता भएको जुलुस रह्यो । त्यतिमात्र होइन जुलुसमा नेपाल मजदुर किसान पार्टीका नेता–कार्यकर्ताहरूका अतिरिक्त मजदुर, किसान, प्राध्यापक, शिक्षक, युवा, विद्यार्थी, व्यवसायीलगायत विभिन्न पेशा र क्षेत्रका मानिसहरूको उल्लेख्य उपस्थिति थियो । जुलुसको सहभागिताले समाजका हरेक क्षेत्रका मानिसमा देशको चिन्ता छ, देशभक्तिको भावना छ भन्ने स्पष्ट पार्छ । त्यतिमात्र होइन जुलुस र सभामा विभिन्न विषय लिएर कलेज–विश्वविद्यालयहरूमा अध्ययनरत हजारौँ विद्यार्थीको उपस्थिति र उनीहरूको गम्भीरतापूर्ण नाराबाजीले उनीहरूमा जागेको देशभक्तिलाई उजागर गरेको छ । भारतको अतिक्रमण र हस्तक्षेपविरूद्ध देशभरि नै देशभक्त जनतासँगै नयाँ पुस्ता आन्दोलित भएको छ । यो नयाँ पुस्ता अबको ५० वर्षपछि पनि सक्रिय रहने छ । भारतले पुराना पुस्तामा केही दर्जन नेताहरूलाई हातमा लिएर नेपालको राजनीतिमा हरसमय हस्तक्षेप गर्ने र आफ्नो स्वार्थअनुसारको काम गर्न लगाउन सकिए पनि भविष्यमा त्यस्तो सहजै सम्भव हुने छैन । भारतका दलाल नेता, प्रशासक वा तत्वहरूविरूद्ध सङ्घर्ष गर्ने नयाँ पुस्ता तयार भइसकेको सङ्केत भारतीय राजदूतावासअगाडि नयाँ पुस्ताको उपस्थितिले नै गर्छ । तत्कालै नभए पनि नेपाली जनताको निरन्तर सङ्घर्ष र आन्दोलनसामु एकदिन भारतीय शासकहरूले झुक्नैपर्ने हुन्छ । भारतीय शासक वर्गको जस्तै चेतावनी र धम्कीले उनीहरूका दलालहरू तर्सलान् तर देशभक्त नेपाली जनतालाई तर्साउन र झुकाउन सक्नेछैन । भारतीय शासकहरू नेपाली जनताको विरोध र निन्दाबाट बच्ने हो भने उनीहरूले नेपाली भूमि अतिक्रमण गर्न छोड्नुपर्छ, नेपाली जनतालाई यातना दिन बन्द गर्नुपर्छ र नेपालसित एक असल छिमेकीको व्यवहार मन, वचन र कर्मले नै लागू गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *