भर्खरै :

सीमा अतिक्रमण रोकेर बसेको सामुदायिक विद्यालय

– सन्तोष शर्मा
झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ मा साविक महेशपुर–२ (हाल भद्रपुर–३) मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपुर्जा नपाउँदा तीन दशकदेखि ऐलानी जग्गामै रहेको छ ।
भवन र खेल मैदान गरी एक बिघा एक कठ्ठा जग्गामा विद्यालय रहेको छ । खेल मैदानको बीचमा भारतले सीमा स्तम्भ गाडेको छ । विद्यालयकै कारण सो ठाउँको नेपाली भूमि अतिक्रमणबाट जोगिएको छ । विसं २०४४ मा त्यो क्षेत्रका अधिकांश जग्गा ऐलानी थियो । स्थानीयवासीले सो क्षेत्रमा खेती गर्ने गर्थे ।
विसं. २०४६ मा बहुदल आएपछि बनेको सुकुमवासी आयोगले जोतभोगका आधारमा त्यो ठाउँको जग्गाको लालपुर्जा वितरण गरेको स्थानीयवासी अनय राजवंशी बताउनुहुन्छ । विद्यालयको सो जग्गाको धनीपुर्जा मन्त्रालयले नै निर्णय गर्नुपर्ने भन्दै नदिएको विद्यालयका शिक्षक बताउँछन् । सो विद्यालयले कित्ता नं ४१७, २२९, २३०, २३७, २३९ र २४३ भोगचलन गरिरहेको छ ।
साविक महेशपुर गाविसले पटक–पटक जिल्ला शिक्षा कार्यालयलाई सो जग्गाका लागि सिफारिस गरे पनि विद्यालयले उपयोग गरेको जग्गाको धनीपुर्जा पाउन सकेको छैन । विद्यालयको जग्गा कुन–कुन हो भन्ने छुट्याउन नसक्दा भौतिक संरचना निर्माणमा समस्या भएको प्रधानाध्यापक चमकलाल राजवंशी बताउनुहुन्छ । हाल विद्यालयले धनीपुर्जाका लागि स्थानीय निकायसँग पहल गरिरहेको छ ।
राजवंशी, गणेश, कुर्मी र सन्थालको बढी बसोबास रहेको डोलो गाउँ, भाङ्बारी, धिरेन टोल र कृष्णे गाउँका बालबालिका अध्ययन गर्ने यो विद्यालय मेचीपारिको एउटैमात्र विद्यालय हो । सो क्षेत्रका बालबालिकाले नेपाली भाषा राम्रोसँग नबुझ्ने भएका कारण राजवंशी भाषामा बुझाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *