युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
(भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो भूभागमा गाभेर जारी गरेको नक्सा खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीको आयोजनामा सोमबार काठमाडौँमा भएको विरोध जुलुस तथा भारतीय दूतावाससमक्ष विरोधपत्र बुझाउने कार्यक्रममा सहभागी युवाहरूले जुलुसमा सहभागी हुनुको कारणबारे यस्तो भने ।)
सुरेन्द्रराज ढुङ्गेल, कटुञ्जे

भारतले हाम्रो देशको भूमि मिचेको विरोधमा भारतीय दूतावासमा विरोध पत्र बुझाउन हामी आएका हौँ । यो देशभक्तिको अभियान हो । यस्ता कार्यक्रममा सबै देशभक्त जनता सहभागी बन्नुपर्छ । नेपाली जनता एकजुट भएरमात्र हामीले भारतसँग खोसिएको भूभाग फिर्ता लिन सक्छांै ।
अहिले बहुमतको सरकार छ । बहुमतको सरकारले जे पनि गर्न मिल्छ भन्ने सोचेका छन् । सरकारले सकेसम्म चाँडो कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ । सरकारले यो विषयमा देखाएको उदासिनताबाट जनता आक्रोशित छन् । आवेग उम्लियो भने पोखिन्छ भनिन्छ । जनताको आवेग उम्लिसकेको छ । पोखिनमात्र बाँकी हो ।
रक्षा हुमागाई, नर्सिंङ विद्यार्थी

देशभक्ति भावनाका साथ आज हामी यो प्रदर्शनमा सहभागी भएका हौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचिएको विषयमा विरोध प्रदर्शनमा सहभागी बन्न हामी कलेजबाटै आएका हौँ ।
व्यापक जनताको दबाब भए सरकारले पनि बाध्य भएर यस विषयमा पहल गर्ने आशाले हामी आएका हौँ । नेपाल सरकारले अहिले यस विषयमा खास कुनै ठोस पाइला चालिरहेको देखिंदैन । कालापानी र लिपुलेकको विषयमा केही कदम चाल्न सरकारलाई आग्रह गर्न चाहन्छु ।
विजयराज चेम्जोङ, पाँचथर

भारतले नेपालको भूमि मिचेर नक्सा निकालेको विरोधमा जुलुस प्रदर्शन भएको हो । नेपाल सरकार र भारतीय दूतावासले नेपाली जनताको भावनालाई गम्भीरतापूर्वक लिए यो नक्सा फिर्ता हुन्छ भन्ने लाग्छ । कुनै युद्धबाट दुई देशबीचको यो समस्या समाधान हुँदैन, वार्ताबाट नै समस्याको समाधान गर्नुपर्छ ।देशभक्तिको भावना नारा जुुलुसमा मात्र सीमित हुनुहुन्न । मनमा देशभक्ति भावना हुनुपर्छ । व्यवहारमा पनि देशभक्ति भावना हुनुपर्छ ।
सानै उमेरदेखि नै हामीले बिग्रेको नक्सा प्रयोग गरेका रहेछौँ । अब त्यसलाई सच्याउन जरुरी छ ।
कृष्णा उलक, नर्सिङ विद्यार्थी

व्यक्तिगत सानो टुक्रा जग्गाको लागि त हामी कस्तो झगडा गर्छौं । अहिले त हाम्रो देश नै मिचेको छ । त्यसैले हामी लड्नु परेको हो । आफ्नो सम्पत्तिको लागि मरिहत्ते गर्ने हामी आफ्नो देशको लागि त ज्यान दिन पनि तयार हुनुपर्छ हाम्रो देशको भाग फिर्ता हुनुप¥यो भनेर हामी जुलुसमा आएका हौँ । हाम्रो यो जुलुसकै दबाबमा पनि हाम्रो भूमि फिर्ता हुनेमा हामी आशावादी छौँ ।
आफ्नो लागि पनि हामी लड्न तयार हुन्छौँ भने देशको लागि लड्नु भनेको गौरवको कुरा हो । हाम्रो देशको लागि लड्नुपर्छ जस्तो लाग्छ ।
युगन राजभण्डारी, भक्तपुर

हाम्रो राष्ट्रियताको विषयमा आवाज उठाउन हामी जुलुसमा आएका हौँ । हामीजस्ता विद्यार्थी नबोले देशमा कुनै परिवर्तन हुँदैन । देशमा जति पनि ठूला परिवर्तन भएका छन्, त्यसमा विद्यार्थीहरूको पनि भूमिका छ । हामी नै यो विषयमा चुप लागे अरु कसले पो बोल्छ र ! सुरुवात हामीबाट नै गर्नुपर्छ ।
भारतले मिचेको भूभाग फिर्ता गर्न हाम्रो तहबाट गर्नुपर्ने पहल हामीबाट गरेका छौँ । बाँकी जिम्मेवारी सरकारको हो । सरकार जागरुक हुनुपर्छ । जसरी भए पनि हाम्रो भूभाग फिर्ता गर्नुप¥यो । यसरी नै चुप लागे बसे कुनै दिन नेपाल एकादेशको कथाजस्तो हुन बेर लाग्दैन ।
सुदिप राई, मुलपानी

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले ओगटेको छ । भारतलाई फिर्ता गर भनेर नै हामी जुलुस आएका हौँ । भूमि फिर्ता गर्न नेपाली जनताले सङ्घर्ष जारी राख्नुपर्छ । हामीजस्ता युवाहरूले यस्ता विषयमा बोल्नुपर्छ । सरकार चुप लाग्दैमा हामीजस्ता नागरिक चुप लाग्न मिल्दैन । युवाहरूको दबाबले नै सरकार सक्रिय हुने गर्छ । हामी सक्रियतापूर्वक लागेर सरकारलाई दबाब दिन सके जस्तै समस्या पनि समाधान गर्न सकिन्छ जस्तो लाग्छ । सरकार यो विषयमा सक्रिय हुनुपर्छ । हावादारी कुरा गरेरमात्र भएन । सरकारले आफ्नो अधिकारको विषयमा बोलेमात्र नेपालीले नेपाली हँु भनेर बाँच्न पाउँछ जस्तो लाग्छ ।
सारिका खुलिमुली, इन्जिनियरिङ विद्यार्थी

भारतले गत कार्तिक १५ गते हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समाहित गरी नयाँ नक्सा प्रकाशित ग¥यो । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै देशको भूभाग हो । ती भूमि फिर्ता लिन जुलुसमा आएका हौँ । आज एक दिन जुलुस गर्दैमा हाम्रो माग पूरा हुँदैन । त्यसको लागि हाम्रो सङ्घर्ष चालू राख्नुपर्छ ।
आज भारतले जसरी कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमण ग¥यो, भोलिका दिनमा अरू भूभागमा पनि अतिक्रमण गर्नसक्छ । अन्ततः हामी भारतकै दास हुने अवस्था आउन सक्छ । त्यसकारण अहिले नै सचेत हुन जरुरी छ । भारतको मिचाहा प्रवृत्तिविरुद्ध आवाज उठाई नेपाली भूमि फिर्ता गरौँ ।
रविन गोसाई, चिकित्सक

नेपाली भूमि मिचिएको विरोधमा म विरोध जुलुसमा आएको छु । भारतले नेपाली भूमि पहिलेदेखि नै मिच्दै आएको थियो । अहिले पनि भारतले नेपालको भूमि मिचेर उसले आफ्नो नयाँ नक्सा प्रकाशित गरेको छ ।
यो मुद्दालाई अविलम्ब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
Leave a Reply