भर्खरै :

धर्मलाई आधुनिक युगको चुनौती– २

गोरख पाण्डेय
काल्पनिक सत्ताहरूप्रति धार्मिक प्रतिक्रियाहरू हाम्रो अविवेकी प्रकृतिका मनोवैज्ञानिक कार्य हुन् । धार्मिक विश्वास र सिद्धान्त प्रक्षेप र प्रतिगमनका क्रियाहरूद्वारा निर्मित सात्ववनाप्रद साधन हुन्, उनको सम्बन्ध कुनै वास्तविक सत्तासित छैन । केही विश्लेषकहरू (फ्रायड आदि) ले भने कि यौन क्रियाहरू नै मौलिक प्रवृत्ति हुन् तथा धर्म आरम्भमा यौन आनन्द नै थियो । के देखिन्छ भने अनेक श्रेष्ठ धर्महरूमा यौन भावनाहरूलाई आदर्श बनाइएको छ । युगअनुसार स्रष्टा पुरुषका रूपमा ईश्वरको कल्पना विश्लेषणात्मक र ऐतिहासिक दुवै दृष्टिले मनोवैज्ञानिक छ, पितृ प्रतीककै रूपान्तर हो र सबभन्दा ठूलो कुरो यो हो कि यसका उद्देश्य मनुष्यद्वारा आफ्नो शैशवकालका पितालाई हटाएर एउटा महान् पितालाई यसरी प्रतिष्ठित गर्नु हो कि उसको आफ्नो सानो परिवारबाट माथि उठेर मानव समाजलाई विशाल क्षेत्रमा जान सम्भव होस् । ‘हाब्स’ भन्दछन् यो भन्नु कि ईश्वरले उनलाई सपनामा भनेका छन् र यो भनाइ कि उनले यो सपना देखे कि ईश्वर उनीसित भनिरहेको छ– दुइटैमा केही भिन्नता छैन । (हिस्ट्री अफ फिलोसोफी भाग २, ४९) इमाइल दुर्खिमले धार्मिक अवधारणाहरूको उत्पत्ति र विकासमा मानव समाजद्वारा निर्वाह गरिएको भूमिकामा बल दिएका छन् । (इसुज इन रिलिजन, १२३) । उनका अनुसार धर्म सामाजिक सङ्गठनहरूलाई कायम राख्न र धर्मनिरपेक्ष ऐहिक मूल्यहरूको रक्षा गर्न काम आउँछ । धार्मिक शिक्षाहरूले कानुन पालन गर्नका लागि मानिसहरूमा जेल र कानुनले भन्दा पनि बढी असर गर्दछन् । ईश्वर सामाजिक शक्तिहरूको अमूर्तन हो ।
आधुनिक युगले हर क्षेत्रमा मूल कारणहरूसम्म पुग्न तथा विकासको गतिलाई बुझ्ने अदम्य प्रेरणा दियो । नृतत्वशास्त्रीहरूले आदिम जातिहरूको अध्ययन गरेर विकसित समाजका आदिम रूपहरूको तुलनात्मक विवरण प्रस्तुत गरे । उनले के पाए भने त्यो समयमा मानिसहरू कर्मकाण्डहरूमा आफ्ना देवताहरूलाई खाने गर्थे जसले शक्ति प्राप्त होस् । (जीवनको आध्यात्मिक दृष्टि, ३६) इसाईहरूमा क्राइस्टको रगत पिउने र मासु खाने प्रथा यसै स्रोतबाट विकसित भएको हो । आदिम समाज अस्थितत्वका उत्पादन रक्षाका लागि प्राकृतिक शक्तिहरूमा सबभन्दा बढी निर्भर थियो । अतः उसका देवता पनि प्राकृतिक शक्तिहरू (जस्तैः सूर्य, बादल, नदी, पहाड, वृक्ष आदि) मानव चेतनाले मण्डित प्रतीक हुन्थे । अस्ट्रेलियाका आदिवासीहरूल अहिलेसम्म पनि यस्तो कर्मकाण्ड गर्दछन् । उनीहरूको मूल उद्देश्य यी मानवीयकृत प्राकृतिक शक्तिहरूलाई प्रसन्न र अनुकूल बनाउनु थियो । स्पिनोजाले आत्म प्रक्षेपणको यो प्रवृत्तिमा व्यङ्ग्य गर्दै लेखेका छन्, “यदि कुनै त्रिकोणमा बोल्ने शक्ति हुन्थ्यो भने त्यसले ईश्वर तीनकुने छ, वृत्तले भन्थ्यो वृत्ताकार छ र यसरी प्रत्येक वस्तु ईश्वरमा आफ्ना विशेषताहरूको आरोप गर्दथ्यो तथा आफूलाई ईश्वरका समान एवम् अरूलाई भद्दा, कुरूप बनाइदिन्थ्यो ।” (त्यही, ३६)
प्रकृतिमाथि निर्भर कम हुनु र समाजमा विरोधी या नयाँ शक्तिहरू उठ्दा क्रमशः प्राकृतिक देवता लुप्त हुनथाले तथा तिनीहरूको ठाउँ औषधीवेत्ता, राजा, बुद्धिमानजस्ता व्यक्तिहरू नयाँ देवताका रूपमा उत्पत्ति भए । राजा आदिका प्रतीक यी देवताहरू सबै मिथकीय गाथाहरूमा युद्ध र जालसाजीजस्ता भयङ्कर अपराध गर्दथे । (हेर्नुहोस् ः महाभारत होमर कृत इलियड) । जनताको विचारमा ती शासकहरू र व्यवस्थाहरूको चरित्र खुल्न नपाओस् । अतः उनका प्रतीक देवताहरूलाई धर्तीमाथि दिव्यशक्तिले पूर्ण नियन्ताहरूका रूपमा प्रस्तुत गरेर अन्तमा तिनीहरूलाई पूरै अमूर्त ईश्वरमा बदलिदिए । पुरानो स्थल बहुदेवतावाददेखि मर्त एकेश्वरवादसम्म धर्मले स्पष्टरूपबाट एउटा लामो यात्रा गरेको छ । सर्वात्मवाद ती मानिसहरूको मस्तिष्कको उपज हो जो या त जगतलाई आफ्नो आत्मसमान चेतन कुनै आत्माद्वारा सञ्चालित मान्दथे या स्वयं आफ्नो आत्मालाई सञ्चालक मान्दथे ।
धर्महरूको तुलनात्मक अध्ययन गर्दा के पत्ता लाग्छ भने सबै धर्महरूमा निजी विशिष्ट मान्यताहरू हुन्छन्, जो एक अर्कालाई असङ्गत घोषित गर्दछन् । भूगोल, इतिहास र त्यसका आधारमा विकसित समाजका सीमाहरूमा नै देवी देवताहरू निर्मित भएका छन् । (स्टडिज इन अ डाइङ कल्चर, ३६) । नदी, समुद्र, पहाड, उर्वर जमिन, रेगिस्तान सबैको धर्ममा प्रतिफलन भएको छ । सबै धर्मले ईश्वरको वाणी, भौतिकरूपबाट तिनै ग्रन्थहरूमा मुखरित भएका छन् भन्ने घोषणा गर्दछन् । यदि तिनीहरूमध्ये कुनै एउटा धर्मको कुरा मान्ने हो भने अर्को धर्मका यस्ता विश्वास नितान्त भ्रम हुन् । यी ग्रन्थ अपौरुषेय पनि मानिन्छन्, तर यी ग्रन्थहरूको ऐतिहासिक, सामाजिक स्थितिहरू पत्ता लाग्दा यो कुरो स्पष्ट हुन्छ कि लिपिको विकासको अभावमा एउटा पुस्ताबाट अर्को पुस्ताले सुने जानेका विश्वासहरूलाई कुनै व्यक्तिद्वारा निर्मित मान्न सकिँदैनथ्यो । अतः ती ग्रन्थहरूको अपौरुषेयताको धारणा बनेको थियो । (जीवनको आध्यात्मिक दृष्टि, ३८ ग्रेट रिलिजन्स अफ दि मोडर्न वल्र्ड, ५३, ५४ )
भाषा त्यस समयमा मानव जीवनको व्यवहार र ज्ञानको आधिकारिक गतिशील शक्ति थियो, प्रकृतिसित सङ्घर्षमा मान्छेलाई सङ्गठित गर्ने एउटा कडी थियो । अतः ‘लोगोस्’ या ‘शब्द ब्रह्मा’ जस्ता धारणाहरूको विकास भएको थियो ।
आधुनिक युग विज्ञानको युग हो । दार्शनिक अनुभव र बुद्धिको माध्यमबाट दुनियाँलाई सोच्ने बुझ्ने कोसिस गरिरहेका छन् । ब्रिटेनका अनुभववादी तथा फ्रान्सका बुद्धिवादी धाराहरू यद्यपि एक अर्कालाई काट्ने अतिवादी दिशाहरूमा पतन भएका थिए, तर विज्ञानले अनुभव र विश्लेषण र परीक्षणको प्रविधिमा आम किसिमले मानव जातिका विश्वासहरू, आशाहरूलाई केन्द्रित गरे । अति प्राकृतिक ज्ञानको धार्मिक अवधारणाबाट विश्वास समाप्त हुँदै छ । (समकालीन धर्म दर्शन, ३८९) विज्ञानद्वारा प्रकृतिमा नियन्त्रण पाउने, त्यसलाई बदल्ने जस्ता विस्मयजनक कारबाहीहरू गरिएका छन् । पहिले अनुमानको आधारमा भनिन्थ्यो । संसारका प्रत्येक वस्तु कुनै न कुनैद्वारा निर्मित हुन् । अतः समग्र संसारको पनि कुनै एक चेतन निर्माता हुनसक्छ, पक्कै पनि त्यो ईश्वर नै हुनुपर्छ । हरेक चीजको कुनै न कुनै कारण हुन्छ । यदि यो तर्कलाई सङ्गत ढङ्गले ईश्वरका बारेमा लागू गर्ने हो भने ईश्वरको पनि कुनै निर्माता हुनुपर्छ । त्यो निर्माताको पनि निर्माता होला र यसरी अनन्त निर्माताहरूको कल्पना गर्नुपर्दछ, जसबाट ईश्वरको धारणा स्वयम् खण्डित हुन जान्छ । (त्यही ८०)
यदि कहिल्यै संवेदनाहरूको क्षेत्रमा नआउने ईश्वर स्वयम् स्वतन्त्ररूपले वर्तमान हुनसक्छ भने संवेदनाहरूको निरन्तर आधारमूत भौतिक पदार्थलाई अनादि, अनन्त, अनिवार्य मान्न किन सम्भव छैन ? जगतको निर्माणमा उद्देश्य आवश्यक छैन । (त्यही ९०) उद्देश्य हरेक सभ्यता र संस्कृति फरक–फरक रहँदै आएका छन् तथा अहिलेसम्म टकरावको स्थितिमा छन् । यदि जगतका अन्तरविरोधहरूलाई ईश्वर धारणा मूल मानेर त्यसैबाट नियमित गर्ने हो भने पनि ईश्वर आत्मविरोधी प्रत्यय मानिने छ । (इसुज इन रिलिजन, ३५३, हेर्नुस् ः विइङ एन्ड नथिङ्नेस, २८४, २८४, ७०५, ६५९ समकालीन दार्शनिक चिन्तन, २९२) । अस्तित्ववादी विचारक ‘सात्र्र’ ले भनेका छन्, “सर्वशक्तिमान, सर्वज्ञ र नियन्ता ईश्वरलाई तथा मनुष्यको स्वतन्त्रतालाई एकैसाथ राख्न सम्भव छैन ।” यो मानिन्छ कि मान्छेको कुनै पनि निर्धारित सारतत्व छैन, यसकारण त्यो स्वतन्त्र छ, उसले स्वयम्लाई निर्मित, सृष्टि गर्न सक्तछ । यदि ईश्वर भएको भए त्यसलाई आफ्नो इच्छानुसार बनाउँथ्यो र मान्छेको सारतत्व पहिलेबाट नै निर्धारित हुने थियो । यदि मानिस स्वतन्त्र नभएको भए त्यसमा कुनै पनि किसिमको उत्तरदायित्व थोपर्न सकिन्नथ्यो किनभने ईश्वरको इच्छाविना उसले केही पनि गर्नसक्दैनथ्यो । अतःईश्वरलाई कर्म अकर्मको लागि जिम्मेवार मानिन्थ्यो । यो सिद्धान्तबाट सामाजिक नैतिकताको सारा महलै भरभराएर भत्किन्थ्यो, अपराधीको अपराधको जिम्मेवारी त्यसमाथि नभएर ईश्वरमाथि जान्थ्यो अर्थात् सङ्गतरूपले ईश्वरका बारेमा कुनै पनि धारणाले मान्छेको स्वतन्त्रता र दायित्वको खण्डन गर्दछ तथा संस्थाबद्ध अपराधीहरूलाई बेच्ने मौका दिन्छ ।
धार्मिक मुक्तिको सामान्य अर्थ भौतिक जीवनको निषेध हो । (समकालीन धर्म दर्शन, ३७७) इच्छाहरू मार्नु, इन्द्रिय अनुभवबाट विरत हुनु नै मुक्तितिर बढ्नु हो । सात्र्रले मान्दथे कि इच्छाहरू र इन्द्रिय अनुभवबाट विरति चेतना अन्ततः मानव जीवनको अन्त्य हो । व्यक्ति आफूलाई अरूको माध्यमबाट जान्दछ । त्यसैगरी समाजले आत्मबोधका लागि ईश्वरको धारणा निर्माण गरेको हो । धर्मशास्त्रीहरूले पटक–पटक ती मान्यता र विश्वासहरूका बारेमा तर्क उपस्थित गरेका थिए । तिनीहरूलाई उचित किसिमले सिद्ध गर्ने कोसिस गरेका थिए, तर जब विज्ञान र समाजको आधुनिक युगमा हुने विकासले स्वयम्लाई धर्मबाट स्वतन्त्र बनायो, तब तमाम धर्मशास्त्रीहरूले भन्न सुरु गरे कि धर्म र विज्ञानका क्षेत्र अलग अलग हुन् । आधुनिक युगको आरम्भमा जति सम्भव भयो धर्मले विज्ञानको विकासलाई रोक्ने क्रूर र हिंस्रक कारबाहीहरू गरेको थियो । (ग्यालिलियो, गियार्डिनो ब्रुनो, कोपर्निकस आदि विचारक र वैज्ञानिकहरूको जीवन यसको प्रमाण हो) । पछि दुवैको क्षेत्रलाई फरक मान्नु तथा धर्मलाई रहस्यमय अनुभव तथा विश्वासको क्षेत्रमा घेर्नु सावित गर्दछ कि धर्मको तर्कशास्त्र चुक्यो तथा उसले प्रच्छन्नरूपले पराजय स्वीका¥यो । (जीवनको आध्यात्मिक दृष्टि ५९)
अनन्त, अनादि नियमहरूका अनुसार अचेतन र उदासीनढङ्गले विचरण गर्ने परमाणुहरूलाई जगत्को मौलिक घटक मान्ने रोम ल्युक्रेसियसको समर्थन गर्दै बटें«ड रसेलले लेखेका छन्, “धर्मका सम्बन्धमा मेरो आफ्नो त्यही विचार छ जुन ल्युक्रेसियसको थियो । म यो भयबाट उत्पन्न एक बिरामी मान्दछु र मानव जातिको लागि अवर्णनीय विपत्तिको स्रोत ।” (जीवनको आध्यात्मिक दृष्टि ५९)
समकालीन दर्शनको एउटा धारा, जसलाई तार्किक अनुभववाद भन्दछन् । भाषाको विश्लेषणका आधारमा घोषित गर्दछ कि धर्मका सबै प्रत्यय अर्थहीन छन् । (लैङ्ग्वेज ट्रूथ एन्ड लजिक, १७१ समकालीन दार्शनिक चिन्तन, ३६०, ३८८) सार्थक प्रत्यय तिनै हुन् जसमा अनुभव प्रेक्षणीयता हुन्छ । फ्लू, फिँडले, एयर र अन्य अनुभववादी इन्द्रिय अनुभवलाई एकमात्र अनुभव’ को संज्ञा दिन्छन् । (समकालीन धर्मदर्शन, २५४) । ईश्वर यस अनुभवबाट बाहिर छ । अतः यसका बारेमा प्रत्येक प्रकथन, अनुभवहीनता र अर्थहीनताको उदाहरण हो ।
फिँड्लेका अनुसार यदि ईश्वर तथ्य हो भने यो अनिवार्य छैन र यदि अनिवार्य छ भने (अर्थात् जसलाई नहुने कल्पना पनि गरिँदैन) त्यो वास्तविक होइन (अर्थात् त्यो केवल प्रत्यय होला जसको प्रश्नै उठ्दैन) । उनका मतमा धेरै तार्किक अनुभववादीहरूको मतमा अनिवार्यता केवल टाउटालजी (पुनरुक्ति) मा हुन्छ । प्रत्येक तथ्य सम्भावनामात्र हो, न कि अनिवार्य । यस दृष्टिकोणबाट हेर्दा ईश्वरको विचार अर्थहीन पदमात्र लाग्दछ । (समकालीन दार्शनिक चिन्तन, ३४८) वैज्ञानिक प्रकथन नै सार्थक प्रकथन हुन्छ ।
अनुवाद ः बुद्धिसागर भट्टराई
(धर्मबारे माक्र्सवादी दृष्टिकोण पुस्तकबाट)
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *