भर्खरै :

आशा र निराशाबीच सकियो तेह्रौँ साग

काठमाडौँ, २४ मंसिर । ते¥हौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मङ्गलबार साँझ दशरथ रङ्गशालामा भव्य समारोहबीच समापन भयो । हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रमसहित साग समापन सम्पन्न भएको हो ।
समापन समारोहको सुरुमा सहभागी सातै देशका खेलाडी, प्रशिक्षक र अधिकृतले आ–आफ्नो देशको झन्डा बोकेर मार्चपास गरेका थिए । समारोहमा प्रतियोगिताको मस्कट कृष्णसार र लाखे नृत्य प्रदर्शन गरिएको थियो । प्यारापिटको दर्शकदीर्घामा नअटाएपछि हजारौँ उभिएरै समापन समारोहको अवलोकन गरेको देखिन्थ्यो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश दिँदै दक्षिण एशियाली मुलुकहरूको मिनी ओलम्पिक खेलकुद प्रतियोगिताका रूपमा रहेको सागले यस क्षेत्रका जनतामा एकता, मित्रता अभिवृद्धि गर्ने कार्यमा अत्यन्तै सफलता हासिल गरेको बताउनुभयो ।
छब्बीस खेल विधामा ३२० स्वर्ण, त्यतिकै सङ्ख्यामा रजत र ४८१ काश्य पदकका लागि काठमाडौँ, पोखरा र जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो ।
सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयम्सेवक परिचालन गरिएको थियो । सन् १९८४ मा स्थापना भएको सागको १३ औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो ।
सन् १९८४ मा पहिलोपटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एसियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकुद उत्सवका रूपमा लिने गरिन्छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो ।
आफ्नै होम ग्राउन्ड भएकोले यो पटकको सागमा नेपाली खेलाडीहरूले उत्साहप्रद नतिजा निकाल्न सफल भए । नेपाली खेलाडीलाई नयाँ कीर्तिमान र सफलता हासिल भएको छ । सरकारले खेलकुद क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण र खेलाडीलाई मनग्य सुविधा दिन नसक्दा पनि नेपाली खेलाडीले समस्याले घेरिएर पनि सागमा उल्लेख्य सफलता हासिल गरे । सुटिङलगायतका केही खेलमा सरकारले आवश्यक बन्दोबस्त गर्न नसक्दा नेपाली खेलाडीले भोगेका समस्या पनि यो सागले उजागर ग¥यो । खेल क्षेत्रमा हुने पक्षपात र असुविधाबारे खेलाडीहरूले खुलेरै बोले ।
खेल क्षेत्रमा थुप्रिएका समस्याको ठूलो रासबीच सफलतापूर्वक सम्पन्न सागले नेपालको खेल जगतमा उत्साह भने सञ्चार गरेको छ । यो उत्साहलाई निरन्तरता दिन भने सरकारले सुधार्नुपर्ने पक्ष धेरै छन् । खेल क्षेत्रमा व्याप्त पक्षपात र पूर्वाग्रहलाई पराजित गर्न सके नेपाली खेल क्षेत्रमा सुधारका धेरै बाटा खुल्ने खेलाडीहरू बताउँछन् ।
साग फूटबलको स्वर्ण नेपाललाई
काठमाडौ , २४ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत फूटबलतर्फको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण पदक जितेको छ । योसँगै नेपालले चौथो पटक साग फुटबलको उपाधि जितेको हो । अघिल्लो सागको विजेता टोली नेपाल आत्मविश्वासी टोलीका रूपमा मैदानमा उत्रिएको थियो । योसँगै नेपालले चौथो पटक साग फूटबलको उपाधि जितेको हो ।
भुटानविरुद्धको फाइनल सुरुमा नेपालले भुटानविरुद्ध अग्रता लिएको थियो । खेलको १६ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल प्रहार गरेका थिए । तर, ३७ औँ मिनेटमा भुटानका च्येन्चो ग्याल्त्सेनले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ५३ औँ मिनेटमा नेपालका लागि सुनिल बलले गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्न पुग्यो । ८९ मिनेटमा पनि नेपाल गोलको नजिक पुगेको थियो ।
९४ औँ मिनेटमा भुटानले राम्रो प्रहार गरेपनि नेपाली गोलरक्षकले जोगाएका थिए । ठूलो सङ्ख्यामा उपस्थित समर्थकहरूले नेपाली टोलीको हौसला बढाएका थिए । यसअघि नेपालले लीग चरणको पहिलो खेलमै भुटानलाई ४–० ले हराएको थियो । आफ्ना सबै खेलमा अपराजित रहँदै नेपाल साग फुटबलको फाइनलमा प्रवेश गरेको थियो । यसअघि सन् १९८४, सन् १९९३ र सन् २०१६ मा गरी नेपालले तीन पटक दक्षिण एसियाली उपाधि जितिसकेको छ ।
भुटान भने पहिलोपटक सागको फाइनलमा प्रवेश गरेको हो । अन्तर्राष्ट्रिय फूटबल महासङ्घ फिफाको तालिकामा नेपाल र भुटान दुवै पुछारतिर रहेका छन् । नेपाल १७० औँ स्थानमा छ भने भुटान १८९ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *