“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर , २५ मंसिर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले भक्तपुर नगरपालिका वडा नं. ७ स्थित छिपा ताँ (हनुमन्ते खोला) पुल निर्माणको शिलान्यास बुधबार गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष विजुक्छेँले अन्य नगरपालिका र भक्तपुर नगरपालिकाको कार्य गर्ने शैली फरक भएको उल्लेख गर्नुहुँदै नगरपालिकाले पहिलेदेखि जनताको सहयोग र सहभागितामा कार्य गरिरहेको बताउनुभयो ।
सरकारले ठेक्कापट्टालाई प्रोत्साहन दिई देशका विभिन्न ठाउँमा पुल निर्माण लगायतका कार्य गरिरहेकाले विकास निर्माण कार्य अस्तव्यस्त भएको उल्लेख गर्नुहुँदै जनतालाई प्रत्यक्ष सहभागिता गराउँदै लान सके कुनै पनि विकास निर्माण दीगो र प्रभावकारी हुने विचार उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले देशकै उदाहरणीय स्थानीय तहको रुपमा कार्य गरिरहेको छ भन्दै प्रमुख अतिथि विजुक्छेँले निर्माणाधीन हनुमन्ते खोला पुल बलियो र आधुनिक किसिमको हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले आधुनिक पुल निर्माणको अनुभव हासिल गर्दै दुई करोड लागत ईष्टिमेट रहेको उक्त पुल उपभोक्ता समिति मार्फत पुनःनिर्माण गर्न लागेको बताउनुहुँदै भक्तपुर नगरपालिकाको पुरानो नपा भवन र राष्ट्रिय कला संग्रहालय रहेको न्ह्कं झ्या दरबारको पुनःनिर्माण छिट्टै अगाडि बढाइने जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माण लगायत अन्य निर्माण कार्यहरुमा उपभोक्ता समितिलाई जिम्मेवारी दिई कार्य गर्दा निर्माण कार्य दीगो तथा स्थानीय जनताको अपनत्व रहेको बताउनुहुँदै उहाँले शिलान्यास भएको पुल निर्माणमा स्थानीय जनताले अपनत्व लिई निर्माण कार्यमा सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवांले नगरपालिकाको बजेटमा सम्पन्न हुने पुल २०११ सालमा पहिलो पटक पुनःनिर्माण भएको जानकारी दिनुहुँदै सिमेन्टको सट्टा पुरानो प्रविधिलाई वैज्ञानिकीकरण गर्दै बज्र प्रयोग गरी निर्माण गनुपर्नेमा जोड दिनुभयो ।
पूर्व वडाध्यक्ष कृष्णगोविन्द खाइजुले साँस्कृतिक महत्व बोकेको हनुमन्ते पुल लामो समयदेखि जीर्ण रहेको हुँदा नगरपालिकाको अगुवाईमा बन्न लागेकोमा खुशी व्यक्त गर्नुभयो भने कार्यक्रमका सभापति एवम् पुल निर्माण समितिका अध्यक्ष रामेश्वर प्रजापतिले पनि बोल्नुभएको थियो ।
छिपा ताँ (हनुमन्ते खोला) पुल निर्माणको लागि लगत ईष्टिमेट रु दुई करोड अठाइस लाख तीन सय त्रियानब्बे रुपैंया रहेको थियो ।
Leave a Reply