युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
साग खेलकुदको अन्तिम दिन दशरथ रङ्गशालामा पुरूषतर्फको फूटबल प्रतियोगिताको अन्तिम खेल हुँदैथियो । सँगै सागको समापनको पनि तयारी भइरहेको थियो । तर, दशरथ रङ्गशालाको खेलमैदानमा पुरूष फूटबल खेलका खेलाडीहरू उत्रनुभन्दा पहिले नै मैदान उत्रेका थिए – सांसद र कर्मचारीहरू । फूटबलको फाइनल खेलअघि राष्ट्रिय खेलकुद परिषद्कै अगुवाइमा सांसद र कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत फाइनल खेलअघि मैदानमा सांसद र कर्मचारीहरूको मैत्रीपूर्ण खेल भएकोप्रति चर्को आलोचना भएको छ । केही घण्टापछि अन्तर्राष्ट्रिय खेल हुने मैदानमा बेप्रसङ्गको अर्को खेल हुनु अन्तर्राष्ट्रिय मान्यताविपरीत मानिन्छ । यसले राष्ट्रिय खेलकुद परिषद्को केटाकेटीपना र अपरिपक्वता झल्किएको छ ।
सांसद र कर्मचारीहरूबीच मैत्रीपूर्ण खेल अर्को कुनै समयमा हुनसक्थ्यो । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै मङ्गलबार कहीँ नभएको जात्रा दशरथ रङ्गशालामा देखियो । सुरक्षाकर्मीले एकातिर नेपाल र भुटानबीचको खेल हेर्न आएका खेल पत्रकार र दर्शकमाथि लाठीचार्ज गरे भने अर्कोतिर खेलमैदानमा कर्मचारी र सांसदहरू उतारेर जात्रा देखाए । त्यो जात्रा नेपाली कर्मचारीतन्त्रमा जरा गाडेको चाकडी मनोविज्ञानकै परावर्तन थियो ।
‘नपाउनेले केरा पायो, बोक्रा समेत खायो’ भन्ने उखान नेपालको खेल क्षेत्रका अधिकारी, सांसद र कर्मचारीहरूमाथि चरितार्थ भयो । सागको लागि सरकारले विनियोजन गरेको ठूलो अङ्कको बजेटबाट केही हिस्सा आफूले पनि खाने लोभमा नै त्यो बेप्रसङ्गको मैत्रीपूर्ण खेलको आयोजना गरिएको हुनसक्छ । नेपाली राजनीति र कर्मचारीतन्त्रमा व्याप्त सस्तो लोकप्रियताको भोक, चर्चा कमाउने प्यास र हचुवा व्यवहार सागको अन्तिम दिन सतहमा देखियो । मङ्गलबारको मैत्रीपूर्ण खेल पाहुनालाई पकाएको खाना पहिले आफूले चाख्नुपर्ने लोभी मनोविज्ञानमा आधारित छ ।
सागको सफलता नेपाली जनताको गौरव हो । सागको सफलतासँगै अब सार्कले पनि जीवन पाउने आशा पलाउन थालेको छ । सागको अन्तिम दिन नेपालले आगामी चौधौँ शृङ्खलाको जिम्मेवारी पाकिस्तानमा हस्तान्तरण गरेजस्तै धेरै चाँडै सार्कको शिखर सम्मेलन पनि पाकिस्तानमा हुने आशा गर्न सकिन्छ । त्यसअर्थमा यो वर्षको साग सामान्य खेल प्रतियोगिता मात्र थिएन, बरू दक्षिण एसियाको राजनीतिसँग पनि यो प्रतियोगिताको सम्बन्ध छ । नेपाली कर्मचारीतन्त्रले सागमा निहीत यो गम्भीरतालाई बुझेर अझ मिहिनेतपूर्वक काम गर्नुपथ्र्यो । तर, अन्तिम दिन कर्मचारी र सांसदहरूले देखाएको अपरिपक्वताले नेपाली राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा रहेको हचुवा प्रवृत्ति पुनः उजागर भएको छ ।
सरकारको नेतृत्व गरिरहेका मानिसले यो विषयलाई कति गम्भीरतापूर्वक हेर्लान्, त्यो भन्न सकिन्न । सरकारी कर्मचारीतन्त्रको बलियो चौघेरा नाघ्न सरकारलाई पनि त्यत्ति सजिलो भने छैन । तर, यस्ता खालका अपरिपक्व गतिविधिले नेपाल र नेपाली जनताकै सम्मान गुम्ने वास्तविकता भने सरकारले बुझ्न जरूरी छ ।
Leave a Reply